Techie IT
मंगलबार, मंसीर १६,२०७७

कोरोना लकडाउन खुकुलो भएपछि तारकेश्वर नगरपालिकाले गर्नु पर्ने १३ काम


श्रीराम फुटुङ्गे

कोरानको महामारीले विश्वलाई नै गंभीर प्रभाव पारीसकेको सन्दर्भमा हामीले आगामी दिनमा सोचपूर्वक काम गर्न सकेनौ भने यसको प्रभाव अरु बढी जटिल हुन जाने प्राय निश्चित छ । यसबाट पार पाउन स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । तारकेश्वर नगरपालिकाले लकडाउन खुकुलो हुने वित्तिकै गर्नु पर्ने काम प्रस्तुत गरिएका छन् ।

प्रस्तुत बुदाहरु सवै उत्तिकै महत्वका छन् । नम्बरका आधारमा बढी या कम महत्वका हुन भन्ने होइनन् ।

१) कोरोनाका पछिको अवस्थालाई ध्यानमा राखी नगरमा गर्नु पर्ने योजनाहरुको तर्जुमा, कार्यान्वय एवं अनुगमनका लागि तथा कार्यान्वयनमा सघाउन एवं जनप्रतिनिधिहरुलाई आवश्यक पर्दा विज्ञ नागरिहरुको राय सल्लाह लिन थिंक सर्कल (गैर राजनैतिक, पेशागत तथा विषयगत विज्ञ व्यक्तिहरु) गठन गर्ने । आगामी दिनका प्राथमिकताका क्षेत्र निर्धारण गर्ने । स्वास्थ्य, शिक्षा एवं सामाजिक सुरक्षाका क्षेत्रमा लगानी बढाउने ।

२) स्वास्थ्य संरचना, सुविधा उपकरण, कर्मचारी एवं सेवाहरुलाई चुस्त र प्रभावकारी बनाउन क्षमता र आर्थिक दुवैमा लगानी बढाउने । स्वास्थ्य केन्द्र एवं प्राथमिक श्रोत केन्द्र अस्पतालहरुलाई सफा सुग्घर राख्ने र उत्कृष्ट सेवाप्रदान गर्ने व्यवस्था मिलाउने । जनतासँग साझेदारी गर्न पहल सुरु गर्ने ।

३) नगरपालिका भित्रका बाझो जग्गामा अनिवार्य खेती गर्ने, प्लटिग गरी बाझो राखिएका जग्गाहरु संभव भएसम्म सम्बन्धित जग्गा धनी नभए नभए छिमेकीहरुलाई खेती गर्न सक्ने नीतिको अनुमति दिने । नयाँ प्लटिगको अनुमति रोक्ने । खेती गरीरहेका किसानहरुलाई मल, विउ प्राप्तीका लागि सुलभ व्यवस्था गर्ने ।संघीय सरकारले जग्गाहरु बाझो नराख्न निर्देशन गरिसकेको छ ।

४) विदेश जाने तयारी गरेका, विदेशबाट फर्केर आउने युवाहरुलाई आयआर्जनको कार्यमा लगाउन प्रेरित गर्ने आवश्यक सीप, उपकरण एवं व्यवसाय विस्तारमा आर्थिक सहायता तथा सरल कर्जा उपलब्धताको लागि वित्तिय संघसंस्था समन्वय गरिदिने । युवारोजगारी लाई प्राथमिकता दिने । रोजगार सूचना केन्द्रलाई प्रभावकारी बनाउने । नगरभित्रै व्यापार व्यवसाय वा उद्यम गर्न चाहे उनीहरुलाई सहयोग र प्रेरित गर्ने नीति बनाउने ।

५) कोरोनाबाट प्रभावित परिवारहरुलाई राहत दिर्ने दाता, पाउने व्यक्ति, संघसंस्था एवं राजनैतिक दलले पुर्याएका सहयोगको पूर्ण विवरण तयार गरी सोको अभिलेख राख्दै उक्त विवरण सार्वजनिक गर्ने । नगरपालिकाले त्यागी एवं दानी व्यक्ति संघसंस्थालाई सम्मान गर्ने ।

६) नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने जनसंख्यालाई आधारमानी विपन्न, गरीव, कमजोर दलित, बेराजगार, एकल तथा विधवा महिला, अशक्त तथा अपागता भएका व्यक्तिहरुको एकिन तथ्याक संकलन गर्ने र बेलाबेलामा अध्यावधिक गर्ने । स्थानीय संचार माध्यम तथा नगरपालिकाको वेवसाइटमा अद्यावधिक सूचना प्रवाहको गर्ने ।

७) नगरपालिकाले गर्ने सवै कार्यक्रममा विपद जोखिम व्यवस्थापनलाई एउटा क्रस कटिग क्षेत्रको रुपमा समावेश गरी विपदको प्रकृति हेरी राहत वितरण गर्ने, शिविर संचालन गर्न मिल्ने तथा अस्थायी बसोबास (शेल्टर) को लागि ठाउँ पहिचान एवं विपदका बेला खटिने कर्मचारी एवं जनप्रतिनिधिहरुबारेको जानकारी आम नगरवासीलाई हुने व्यववस्था मिलाउने । विपद ऐन अनुसार हरेक वडाको विपद व्यवस्थापन योजनाहरु तयार गर्ने ।

८) नगरपालिका तथा यसमातहतका सम्पूर्ण वडा कार्यालयबाट हुने गरेका खर्चलाई सकेसम्म घटाउँदै लाने । आवश्यक बैठक मात्र गर्ने र सूचना प्रविधिको प्रयोगलाई व्यापक गरी आवतजावत कम गर्ने । मितव्ययी बन्ने । कम खर्चमा उत्कृष्ट सेवा दिने वडाहरुलाई नगर कार्यालयले पुरस्कृत गर्ने ।

९) कोरोनाको भ्याक्सिन नआएसम्म भरपर्न सकिने अवस्था नभएकाले नगरपालिकाले सार्वजनिक भिडभाड हुने कार्यक्रमहरु आयोजना नगर्ने, अत्यावश्यक बैठकहरु शारिरिक दुरी कायम राख्नेगरी गर्ने, नगरपालिकाका सेवाग्राहीलाई यसको पालना गर्न लगाउने, सावुन पानीले हात धुन सवै वडा कार्यालय, सरकारी निकाय तथा चोक चोकमा अनिवार्य व्यवस्था गर्ने गर्न लगाउने ।

१०) सरकारको आग्रह अनुसार भाडामा छुट दिए नदिएको अनुगमनको व्यवस्था मिलाउने । घरधनीहरुसँग सहयोग लिएर भाडामा बस्ने व्यक्तिहरुको विवरण राख्ने उनीहरुको अवस्थाको वर्गीकरण गरी कम्तीमा बार्षिक २ पटक अध्यावधिक गर्ने व्यवस्था मिलाउने । ताकि आउँदा दिनमा नगरपालिकाले राहत दिनुपर्ने अवस्था आएमा राहत आवश्यक व्यक्ति एवं परिवारले मात्र पाउन सकून ।

११) नगरभित्रका सम्पूर्ण सामाजिक संघसंस्थाहरु, टोल सुधार समिति, आमा समुह तथा सामाजिक सेवाको लक्ष्य राखेर औपचारिक एवं अनौपचारिक रुपमा गठित तथा क्रियाशीललाई विपद व्यवस्थापन, राहत वितरण, खोज तथा उद्दार, तथा सूचना संकलनका विषयमा आधारभूत ज्ञान र सीप दिन आवश्यक कार्य तत्कालै सुरु गर्नु पर्छ । नगरपालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरुलाई सूचना प्रवाह, व्यवस्थापन एवं सोसलमिडिया संचालनबारे सीप सिकाउने ।

१२) कोरोनाले बहुआयामिक प्रभाव पारीसकेको हुँदा असल शासन, उत्तरदायी कर्मचारी र जनप्रतिनिधि, भष्टाचाररहित नगर एवं जनमुखी विकासको प्रवर्तकका रुपमा नगरलाई स्थापित गर्न संघीय सरकारको प्राथमिकता र नगरवासीको आवश्यकता अनुसारको अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा थाल्ने ।

१३) हाल संचालनमा रहेको हटलाइन फोन सेवालाई कोरोनाको नियन्त्रणपछि पनि संचालनको प्रवन्ध मिलाउने । टोल फि नम्बर लिई नगरवासीलाई नगरपालिका कामका सम्बन्धमा गुनासो या सिकायत गर्न सक्ने तर त्यसो गर्दा फोन गर्ने व्यक्तिको पहिचान गोप्य र सुरक्षाको व्यवस्था एवं प्रत्याभूति दिने व्यवस्था गर्ने । यसबाट नगरपालिकाले गरेका कामहरुका बारेमा जनचासो बढ्न गई गलत कार्यहरु नहुन र नगरपालिकालाई उत्तरदायी बन्न सहयोग पुग्नेछ ।

स्थानीय विकास र विपद व्यवस्थापनमा चासो राख्ने फुटुंगे दुई दशकदेखि संचारका क्षेत्रका क्रियाशील हुनुहुन्छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विचार/अनुभूति
ट्याग : #तारकेश्वर नगरपालिका, #लकडाउन खुकुलो, #श्रीराम फुटुङ्गे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545