Techie IT
बुधबार, मंसीर १०,२०७७

घरबासमा गुलाफलाई पछ्याउँदा (फोटो फिचर)


श्रीराम फुटुङ्गे

कोरोनाको कहरले घर बस्न वाध्य भएपछि यो गुलाफको फुललाई पछ्याएको एक हप्ता पुरै बितेछ । आफ्नै गमलाको फुललाई यति नजिकबाट पछाएको जीवनमै पहिलो पटक हो शायद ।

यसको कोपिला लाग्न लागेको मैले एक हप्ताअघि मात्र देखेको हुँ । त्यसपछि हरेक दिन बिहान म यसलाई हेर्न आतुर हुन्थे । अनि पाउँथे केही न केही बढी रहेको, हुर्किरहेको ।

दोस्रो दिन यसमा थोरैमात्र परिवर्तन आएको देखे ।

तेस्रो दिन कोपिला प्याट्ट फुटेपछि यसमा राता पत्ताहरु देखिन थाले । च्यातिएर फुटेका पत्तामा रहेका सेता धर्काहरु बोर्डरका नमुना जस्तो देखियो ।

चौथो दिन फुललाई ढाकेर बसेका पत्ताहरु विस्तारै सरेको भान भयो ।

यसरी फुललाई नियाल्दा यदाकदा काँडाले नघोचेको होइन । घोच्यो भन्दैमा मैले फुललाई घृणा गर्न सकिन । सक्दिन पनि । बरु यसले दिनदिनै फोटो खिच्न झन उत्साही पारीरह्यो ।

पाँचौदिन फुल गमक्क परेर फक्रिन खोजको अनुभव भयो । धर्तीको वातावरणलाई चुम्न खोजे जस्तो ।

छैटौ दिन अघिल्लो दिनको भन्दा थोरै मात्र परिवर्तत देखियो । कोपिला अलिक बढेको होकि जस्तो मात्र लाग्यो ।

आज सातौ दिन त यसको पुरै आकार बदलिएछ र मन्द मुस्कुराएझै पो लाग्यो । कस्तो झरिलो कोमल गुलाफ । शायद यही भएर होला सवैको आँखाले गुलाफ मन पराउने ।

यति हेरिसकेपछि धेरै कुरा यसले सम्झायो । समयले नै फुलाउँदो रहेछ, फक्राउँदो रहेछ । अनि सोचे संसारमा जतिपनि समस्या छन् ति समयसँगै परास्त हँुदै जान्छन् । गएका पनि छन् । यो कोरोना पनि केही समयपछि जान्छ नै । अहिले कोरोनाकै कारण हामी कठिन घडिमा छौ तर यो समय यतिकै रहन्न । शोक र सुर्ताबाट संसारमाथि अवश्य उठनेछ । गुलाफ फुलेझै हामी मानवजाती फुल्नेछौ ।

सातौ दिन आज बैशाख १, २०७७ का दिन पुरै हुर्केको महसुस भयो ।

 

ठीक यसरी नै अहिलेको अवस्थामा सुधार आएर हाम्रो जीवन पनि गुलाफजस्तै फुल्नु पर्छ । घरबासमा खिचिएका गुलाफको जीवन चक्रझै हाम्रो जीवन फक्रनु पर्छ । ढिला चाँडो त्यो समय पक्कै आउनेछ । धैर्य गरौ ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #घरबासमा गुलाफलाई पछ्याँदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545