Techie
विचार/अनुभूति

कोरोना कर्कसःकृषि प्रणाली नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ

केदार कोइराला

विगत ३ महिना देखि समस्त विश्वलाई कोरोना भाईरस (कोभिड—१९ ले आतंकित तुल्याएको छ । यसको चारित्रिक गुण अझै पत्ता लागिसकेको छैन । तीब्र गतिमा फैलने संक्रमणको रोकथाम तथा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने सामथ्र्य कुनै पनि मुलुकको विद्यमान स्वस्थ्यसेवा संरचनामा रहेनछ भनी निश्कर्ष निकाल्न सकिन्छ ।

त्यस्तै, संक्रमण नियान्त्रण र त्यसका असरको न्यूनिकरण गरेर जोगाउने काम सरकारले बाहेक अन्य कुनै निकायले पनि गर्न सक्दैन यो अर्को सत्य हो । यसको लागि हामीले कति गर्न सक्यौ र कहाँ चुक्यौ यो एउटा पाटो रह्यो ।

हाम्रो देशका झण्डै १ चौथाई जनता गरिविको रेखामुनी पर्दछन् । जसमध्ये अधिकांश भूमिहिन, साना र मझौला मात्र पर्दछन् । अन्य मुलुकहरुलाई पनि महामारीले गाँजेसंगै रोजगारी गर्न गएका नेपाली नागरीकहरु रोजगारी गुमाएर देश फर्किएका छन् । उनीहरुलाई आफ्नो उत्पादनले मुस्किलले ३ महिना खाना पुग्छ । बांकी ज्यालादारी नै उनीहरुको हात मुख जोड्ने आधार हो । रोजगार मध्ये पनि ७५ प्रतिशत त अनौपचारीक क्षेत्रमा कार्यरत छन् ।

बर्तमान अवस्थाले बढि प्रताडित भएको समुदाय यिनै हुन् । आवश्यक खाद्यन्नको अभावमा कोठमा थुनिएर बस्नु परेको ठूलो पिडा यिनिसंग छ । उधारोमा सामान नपाईने र सापटि सजिलै नपाईनाले खाद्यन्न खरिदका लागि रकम नहुने श्रमिक बर्गमा बढि समस्या देखिन्छ ।

यिनै नागरीकहरुको जीवनरक्षा गर्ने कार्यमा सरकारले तदारुकता देखाउन अव ढिला हुँदै छ । यिनलाई पौष्टिक आहारको तारतम्य मिलाई वितरण प्रकृयामा स्थानीय सरकारको नेतृत्वमा नागरिक समाजलाई परिचालन गरौं । आवश्यक पूर्वानुमान र योजना बनाई श्रोतको खोजीमा लागौं । अ‍ैंचौ—पैचौ संस्कृति र सहयोगी नेपाली भावनालाई योजनाबद्ध रुपमा सदुपयोग गरिएमा बर्तमानमा आईलाग्न सक्ने खाद्यअसुरक्षा टर्छ ।
यो महासमारी छिटै सकिने लक्षण देखिदैन । सबै देश थलिदै जांदा खाद्य संकट र भोकमरीको परिदृश्य अवश्य देखिनेछ । हरेक विषम परिस्थितिले अवसर लिएर आएको हुन्छ । कृषि प्रधान देश नेपालले यसलाई सदुपयोग गर्न सक्नु पर्दछ । नेपालको कृषि प्रणाली र खाद्य प्रणालीलाई जोगाउन आवश्यक छ ।

तत्काल कृषि उत्पादनको विक्रि वितरणलाई सहज र उत्पादित बस्तुको आपूर्ति प्रणालीलाई ब्यवस्थित बनाउनु पर्दछ । जसबाट उत्पादन गर्ने किसान र उपभोग गर्ने समुदाय दुबै पक्षले लाभ लिन सक्छन् । किसानहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सहित कृषि उपजहरुको विक्रि वितरणको लागि स्थानीय बजारलाई सुचारु राख्ने उचित वातावरण मिलाऔं । स्थानीय सरकारले नै यसलाई ब्यवस्थित गर्न सक्छन् । किसानलाई मुनाफा सहितको दिगो समाधानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

कृषि कर्म अन्य पेशा भन्दा विशिष्ट प्रकृतिको छ । खेतीको समयमा भएको ढिलाईले कृषि उपजको उत्पादकत्व र आउँदो दिनमा खाद्यन्न आपूर्ति प्रणालीमा समेत दुरगामी असर पार्दछ । खाद्य संकटको अवस्थाको श्रृजना भई खाद्यन्न आयात र परनिर्भरतामा बढोत्तोरी हुन्छ । यसर्थ बाली लगाउने, भित्र्याउने जस्ता कामलाई निरन्तरता दिनको लागि किसानलाई प्रोत्साहित र त्यसको लागि बाताबरण श्रृजना गरौ । महामारीको समयमा राज्यले घोषणा गरेको सहयोगको प्याकेजमा तिनै किसान समुदाय छुट्दैछन् । कृषि उत्पादनको आधारमा अनुदान, किसान लक्षित स्वस्थ्य विमा एवं मल, विउ, औजारमा थप अनुदान, कृषि ऋणमा थप सहुलियत र सरल प्रकृया जस्ता आधारभूत पक्षमा मात्र ध्यान दिन आवश्यक छ । अर्थतन्त्रको मेरुदण्ड नभुलौ, यसले भविश्य पिरोल्न सक्छ सचेत बनौ !

खेति किसानी पेशा जहिले पनि हेपिएर जवरजस्त रुपमा अगाडि बढ्दै आयो । साना र सिमान्त किसानलाई त निर्वाहमुखिको विल्ला भिराईयो । कोरोनाको कारण विदेशमा रोजगारी छाडेर स्वदेश फर्केका एवं शहरबाट गाउँ फर्केका सीप र पूजिलाई योजनाबाद्ध रुपमा कृषिसंग जोड्न सके उनीहरु फर्कनु पर्दैन र हरेक संकटसंगै गांसिएर आउने खाद्यसंकटबाट देशलाई बचाउने आधार निर्माण बन्छ ।
समय समयमा आउंने यस्ता संकटमा मात्र हैन खाद्यन्न आपूर्तिको दिगो समाधन भनेको उत्पादनमैत्री बाताबरण र किसानको गोजिमा मुनाफाको रकम जाने अवस्था निर्माण नै हो ।

यसर्थ दिगो कृषि विकासको लागि व्यावहारीक मनन् गर्दै पर्यावरणमैत्री र स्वस्थ्थ उत्पादनको अभ्यास सहितको पारिवारीक कृषि पद्धति एवं ग्रामिण कृषि अर्थतन्त्रको विकास र रोजगार श्रृजना गर्नको लागि बर्तमानले दिएको अवसरको सदुपयोग गरौं ।

Tags