Techie IT
बिहीबार, मंसीर ११,२०७७

कोरोना विरुद्धको लडाइमा के तारकेश्वरको तयारी पर्याप्त छ ?


श्रीराम फुटुङ्गे

अहिले तपाईको कुराको मुख्य विषय नै कोराना हुनुपर्छ । लाग्छ, यो भन्दा अरु विषय नै छैन । हामी मात्र होइन कोरोना प्रभावित २०३ वटै देश, सवत्र यसैको कुरा छ । यस्तो भयावह स्थिति सृजना भयो कि अवको संसार कसरी अगाडि बढ्ला भन्ने थुप्रै चिन्ता थपिदियो । यो चिन्ता हामीलाई पनि हुनु स्वभाविक हो । संसारभर ७ लाख सक्रमित बनाइसकेको यो भाइरसले ३२ हजारको ज्यान लिइसक्यो । करिव डेढ लाख मानिसहरु निको भएर गए पनि यसले अझ कति विगार्ने हो कुनै अनुमान सत्य हुनेछैन । नेपाललाई पनि यसले गंभीर असुर पुर्याइसकेको छ । संक्रमितहरुको संख्या बढ्यो र हामीले पर्याप्त सावधानी अपनाएनौ भने हाम्रो अवस्थाबारे कल्पना गर्न सकिन्न ।

चिन, अमेरिका, स्पेन र इटाली हुँदै युरोपका देशहरुपछि अब कोरोना एशिया तर्फको त्रासदीपूर्ण तीव्र यात्रा सुरु गर्दैछ । यो परिस्थितिमा थप संवेदनशील भइ जुटुनको विकल्प छैन । सरकारका ठोस पहलहरुलाई सार्थक बनाउने जिम्माको अगुवाई स्थानीय तहले गर्नुपर्ने दायित्व छ । यस्तो जटिल अवस्थामा जनताको सुरक्षाका लागि प्रभावकारी भूमिका खेल्न सक्ने भनेको स्थानीय तह नै हो । काठमाडौको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिका पनि जुटिरहेको छ तर जनताहरु आश्वस्त हुन सक्ने अवस्था अझै सृजना हुन सकेको छैन ।

तारकेश्वर नगरपालिकाले विपद व्यवस्थापन समिति बनाएर काम गर्दैछ । विभिन्न निर्णयहरु गरी नगरबासीलाई सचेत पार्दैछ । विपद व्यवस्थापन टोली बनाइ काम गर्न सम्पर्क व्यक्तिहरु तोकिनु, वडातहमा छलफल हुनु, किटनाशक औषधि छर्नु, माइकिग गर्नु राम्रो हो । सांग्लामा २५ बेडको क्वारेन्टाइन व्यवस्था गरिनु, एम्बुलेन्सलाई तयारी हालतमा निशुल्क सेवासहित व्यवस्था गर्नु र स्वास्थ्य टोलीहरु खटाउनु प्रशंसनीय छ । यस्तो जटिल अवस्थामा चाहिने विपदको पूर्वतयारी पूरा भएको छ त ? जनप्रतिनिधि र सरकारी संयन्त्रको परिचालनबाट मात्र यो कोरोनाविरुद्धको प्रयास सफल हुन सक्ला त ? यस्तै थुप्रै प्रश्न छन् ।

यस्तो जटिल अवस्थामा चाहिने विपदको पूर्वतयारी पूरा भएको छ त ?  जनप्रतिनिधि र सरकारी संयन्त्रको परिचालनबाट मात्र यो कोरोनाविरुद्धको प्रयास सफल हुन सक्ला  त ?  यस्तै थुप्रै प्रश्न छन् ।

 

त्यसो भए अव के गर्ने त ?

नगरवासीको पहिलो दायित्व सरकारी आज्ञा पालना गर्नु हो । स्थानीय तहको कदमलाई सहयोग पुररयाउनु हो । अफवाहहरुलाई फैलाउने होइन । सामाजिक दुरी राखेर संभावित भाइरसलाई भगाउने हो ।

शहर नजिकको नगरपालिका भएकाले विभिन्न ठाउँबाट यहाँ बसोबास गर्न आउनेहरुको संख्या बढी छ । भाडामा र विदेशिएका परिवारका धेरै मानिसहरु बस्ने भएकाले उनीहरुको आफन्त, तिनका सम्पर्कमा आएका र उनीहरुको परिवारको पूर्ण निगरानी राख्नुपर्छ । त्यस्ता व्यक्तिहरुलाई होम क्वारेन्टाइन बसे नबसेको, संभावित लक्षण देखा परेनपरेको अनुगमन गरिरहनु पर्छ । शंकास्पद भए टेष्ट र आइसोलसनमा राख्ने प्रवन्ध मिलाउनु पर्छ ।

कति छन ज्यालादारी र गरीव तथ्याक छैन

दैनिक ज्याला गरि खाने, गरीव, निमुखा असहाय, अपागता भएका, एकल महिला, विधवाहरु, एवं कठिन अवस्थामा जीवन यापन गरिरहेका व्यक्तिहरुलाई राहत उपलब्ध गराउन पहल गर्नुपर्छ । कोही पनि भोकै मर्न नपर्ने स्थितिको अन्त्य गराउने साझा प्रण नगरपालिका मेयर र उपमेयरबाट हुनुले कोरोनाको लडाइप्रति उहाँहरुको प्रतिवद्धता देखिन्छ । तर दुख लाग्दो पक्ष त्यस्ता मानिसहरुको जनसंख्या कति छ भन्ने तथ्याक नगरपालिकासँग संभवत छैन । यो स्थितिमा वास्तविक व्यक्तिहरुले राहत कसरी पाउलना ? यसतर्फ विशेष ध्यान पुग्नु जरुरी छ ।

लकडाउनलाई कडाइ गरौ

लकडाउनलाई पूर्णरुपमा पालना नगरिहेको अवस्था भनेको सक्रमणलाई सुस्तरी निम्ता गर्नु हो । जव संक्रमण देखिन थाल्छ त्यसपछिको अवस्था आँकलन गर्न सकिन्न त्यसैले नगरवासीले स्वअनुशासनको पालना गर्नु अत्यन्तै महवपूर्ण छ । यसलाई गंभीररुपमा लागू गराउने दायित्व प्रहरी प्रशासनको सहयोगमा नगरपालिकाले लिनपर्छ । नगरपालिकाभीत्र आउ जाउ हुने सीमामा चेक जाँच गर्ने, अत्यावश्यकवाहेक अन्यलाई अनुमति नदिने तर्फ सोच्नु पर्छ ।

लकडाउनका अवधिमा खुलेका पसलहरुले विशेष सावधानी अपनाउन नगरपालिकाले निर्देशन गर्न ढिला भइसक्यो । सवै पसलहरुमा सावुन पानी या स्यानिटाइजर राख्ने र मास्क लगाउने प्रवन्धलाई अनिवार्य गरौ । पसल अगाडि सामाजिक दुरीको सुनिश्चििताको लागि रेखा लगाऔ । लामवद्ध भएर मात्र किन्न हवीप लगाऔ । मास्कको आपूर्तिका लागि नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरोस् । स्थानीय तहमै उत्पादनको संभावना पनि छ कि हेरौ ।

दैनिक समीक्षा तथा प्रभावकारी सूचना प्रवाह

नगरपालिकाले गरेको क्रियाकलापको दैनिकरुपमा विपद व्यवस्थापन समितिलगायत अन्य समितिले मूल्याकन गर्दै भोलीपल्टको कार्यक्रमबारे पूर्व जानकारी उपलब्ध गराऔं । सूचनाको प्रवाहमा नगरपालिकाले एकदार नीति अनुशरण गर्नुपर्छ । त्यस्ता सूचना मेयर या प्रवक्ता या सम्बन्धित तोकिएको व्यक्तिमार्फत मात्रै प्रवाह गर्ने व्यवस्था हुनुपर्छ । सुचना प्रवाहका लागि स्थानीय मिडिया, सामाजिक संजाल र यसका विभिन्न समूहलाई परिचालन गर्नुपर्छ । बेलैमा गरेको संचारले मात्र नगरपालिकाप्रतिको भरोसा र विश्वसनीयता बढाउँछ ।

नगरपालिकाले हाल गरिरहेका् कोरोनाविरुद्धका कार्य तथा सेवालाई अरु व्यवस्थित बनाउन विद्यमान समितिकै अगुवाइमा अन्य सहयोगी समितिहरु बनाई काम गर्दा थप प्रभावकारी हुुन्छ । कोभिडको प्रतिकार्य कार्यान्वयन समिति, सरकारी नीति तथा निर्देशन अध्ययन समिति, सूचना प्रवाह एवं व्यवस्थापन र गुनासो सुनुवाइजस्ता समितिहरु बनाई जिम्मेवारी पूर्वक काम गर्दा कामको भार कम हुनका साथै चुस्तता आउने छ । त्यसतर्फ नगरपालिकाको ध्यान पुगेको देखिन्न ।

सुरक्षाका सवै उपाय अपनाऔ

नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र सेवामा संलग्न सवैले कुनैपनि सामग्री वितरण गर्दा अनिवार्य मास्क तथा पन्जा लगाउने कडा व्यवस्था गरौ । नांगो हातबाट गरिएको कारोवार एकदमै जोखिमपूर्ण हुन्छ । त्यसैले सुरक्षाका सवै उपायहरु अपनाउन वाध्यकारी व्यवस्था लागू गरौ । साथै, अहिलेको भन्दा जटिल परिस्थिति आउन सक्ने (त्यस्तो स्थिति नआओस्) दृष्टान्तलाई मध्यनजर गर्दै नगरपालिकाले थप छलफल, अत्यावश्यक सेवा तथा सामग्रीको उपलब्धतालाई जोहो गर्न ढिला नगरौ । परिचालन हुने टिमलाई आवश्यक पर्ने सूचना तथा जानकारी र समन्वयको सीप प्रदान गरौ । यस्तो टिमको व्याकअप पनि तयार पारौ ताकि उनीहरुको अभावमा कुनै पनि सेवा नरोकियोस् । विपदको पूर्वतयारी भनेको यही हो । भोली कस्तो स्थिति आउँछ कसलाई थाहा छ र ?

चूनौतीलाई अवसरमा बदलौ

विपदका बेला दोषारोपण र आलोचना गरेर बस्ने होइन । यो त मिलेर चुनौतिको सामना गर्ने अवसर हो । अवको ३ महिनासम्म के गर्ने भनेर योजना बनाउन नगरपालिकाले पहल गरोस् । संघीय र प्रादेशिक सरकारबाट आएका नीतिलाई पछि संशोधन गर्न सकिने गरी योजना बनाउन थालौ । करिव २ महिना पछि वर्षादको याम सुरु हुन्छ त्यति बेलाको तयारीबारे सोच्न जरुरी छ । माथिको निर्देशन पर्खेर नबसौ । यसका लागि नगरपालिका क्षेत्रमा बसोबास गर्ने र योगदान गर्न सक्ने विज्ञहरुलाई आवहान गरौ ।

नागरिक समाजको सहयोग र सहकार्यबाट भाइरसलाई परास्त गरौ ।

नगरपालिकाका विद्यालयका शिक्षक, आमा समूह, सहकारी र सामाजिक संघसंस्थाहरुका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका तथा सामाजिक अगुवाहरुको सुरक्षित परिचालन र सहभागितामा जोड दिऔ । उनीहरुले पनि आफ्नो ठाउँबाट आफ्नै समुदाय, वरपरका घरपरिवारको सुरक्षा र सहयोगको लागि यथेष्ठ काम गर्न सक्छन् । त्यस्तो कामको अभिलेख राख्न वडा कार्यालयलाई लगाऔ । यो महामारीको संकटपछि उनीहरुलाई सम्मान गर्ने घोषणा गरौ । सरकारले ल्याएका राहत तथा छुटहरुलाई जनतासम्म पुर्याउन गर्नुपर्ने कामहरुको लागि तयारी थालौ । घरमा बसेका शिक्षक, कर्मचारीहरुको सहयोग लिऔं । भर्चुअल युवा स्वयमसेवी समूह तयार पारौ । उनीहरुले राहत, सामाजिक सन्देश र सूचना प्रवाहमा मदत गर्न सक्छन् । नगरपालिकाले लिएका कदम र सरकारको आज्ञा पालना गरेर मात्र दुनियाँलाई आक्रान्त पारिसकेको यो भारसबाट बच्न सकिन्छ, औषधि पत्ता नलाग्नुजेल । नागरिकले सहयोग गर्न सक्ने ठाउँ धेरै छन् । नागरिक सचेतना, सहयोग र नगरपालिकाको सक्रियताले मात्र भाइरसविरुद्धको लडाइमा सफल हुन सकिएला । र, विस्तारै यो कोरोनाको विषय इतिहास र अनलाइनका पानामा सीमित पार्न लागि परौ । के तारकेश्वर नगरपालिका साँच्चै तयार छ त एक पटक मनन गरौ ।

phutungeji@gmail.com

 


क्याटेगोरी : ब्रेकिंग न्युज, विचार/अनुभूति
ट्याग : #कोरोना, #तारकेश्वर, #श्रीराम फुटुङ्गे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545