Techie IT
आईतबार, असोज ४,२०७७

कसरी भयो तारकेश्वरको काभ्रेस्थली गाउँ ? हेर्नुहोस केही एतिहासीक तथ्यहरु


रामबाबु फुँयाल

काभ्रेस्थली
काउरे गाउं + थलिगाउं = काउरेथली
पछि काभ्रेस्थली बन्यो ।
पंचायत गठन पछि पंचायत भवन कहाँ राख्ने र पंचायतको नाम के राख्ने भन्ने विवाद भयो ।
पहिलो प्रधानपंच प्रेमनाथ फुयाल काउरे गाउंमा भवन बनाउन चाहन्थे तर महिला सभापति मीनकुमारी भने थलीगाउमा भवन बनाउनुपर्छ भन्नेमा थिइन् । तर सवैतिरलाई पायक पर्ने हिसावले यी दुवै स्थान उपयुक्त देखिंदैनथ्यो । दुइपक्षको कुरा नमिले पछि मोहनकृष्ण भण्डारीको नेतृत्वको समुहले तेस्रो विकल्प अगाडि सार्यो-सवैलाई पायक पर्ने ठांटीमा पंचायत भवन बनाऔं र नाम काउरे+थली जोडेर काउरेथली राखौं । यहि विकल्पमा सवैको सहमती भयो ।
२०२८/२०२९ तिर पुग्दा काउरेथली लाई काभ्रेस्थली लेख्न थालियो ।

1. यो छुट्टै पंचायत नहुंदा सम्म धर्मस्थली मौजा अन्तर्गत हालको काभ्रेस्थली गा वि स अन्तर्गतका वडा नं १,२,३ ,४ र ७ लाई दलकाप नामले चिनिन्थ्यो र ठेगाना लेख्नुपर्दा धर्मस्थली दलकाप लेखिन्थ्यो । प्रमाण-२०१९ साल अगाडि लिएका नागरिकता लगायतका प्रमाणपत्रहरु,जग्गापुर्जा, तमसुक लिखतहरु
2. साविक काभ्रेस्थलीका वडा नं ५ र ६ लाई धर्मस्थली पदमसाल र धर्मस्थली भेडिगोठ लेखिन्थ्यो ।
3. हालको थुम्की ( कालिदेबी मा वि) क्षेत्र र कार्किथोक सांग्ला मौजा अन्तर्गत देखिन्छ । ठेगाना लेख्दा फुटुंग सांग्ला कार्कीथोक,फुटुंग सांग्ला थुम्की लेखिन्थ्यो ।

ऐतिहासिक तथा धार्मिक स्थलहरु:
1. देउथली ( देवस्थली )- काभ्रेस्थली-६ विभिन्न देवी देवताका मुर्तीहरु स्थापना गरिएको यस स्थानमा इन्द्रायणी देवीहरु मध्येकी कान्छी इन्द्रायणी देवी (देउथलीमाई)को मुल मन्दिर रहेको छ ।
2. पदमसाल : काभ्रेस्थली-५ मा रहेको यो स्थानको नाम वौध्द गुरु पद्मसंभवले यस स्थानमा प्रवचन गरेकाले पदमसाल नाम रहेको भन्ने रहेको छ ।
3. मालिकामाई : प्राचिनकालमा उपत्यका जलमग्न तालको अवस्थामा भएको बेला कुनै साधकले यस स्थानमा बसेर बढीमालिका देवीको साधना गर्दा मालिका देवी प्रकट भएको र यसै स्थानमा मल्लकालमा प्रताप मल्लले समेत तपस्या गरि शिलालेख समेत स्थापना गरेकोमा २०६१ चैत्र महिनामा त्यो चोरी भएको थियो । यहाँ हाल प्राचीन भग्नावशेषहरु देख्न सकिन्छ । तारेश्वर मन्दिर देखि पूर्व र अल्ले व्यारेक देखि करिव ४०० मिटर पश्चिम तेर्सो बाटोबाट करिव ६० मिटर तल रहेको यस प्राचीन मन्दिरमा बली चढ्दैन र गाइको दुध चढाएर पूजा गरिन्छ ।
4. देविस्थान : साविक काभ्रेस्थलीको वडा नं ९ शिवपुरी रा नि संग जोडिएको देविस्थानमा एेतिहासिक सुन्दरीदेविको मन्दिर रहेको छ । १०० वर्षजति अगाडिसम्म यस स्थान र अल्ले बन अन्तर्गत पानी मुहान देखि करिव ३०० मिटर माथि विचमा बनदेवीको पुजा टोखाबाट बाजागाजा सहित आएर गर्ने गरिन्थ्यो । जुन प्रचलन १९९० को महाभुकम्पको वरिपरिबाट टुटेको भन्ने रहेको छ । हाल बनदेवीको मन्दिरमा नियमित पुजा छैन । पुराना त्रिशूलहरु लगायतका सामग्रि भने अहिले पनि फेलापार्न सकिन्छ ।
5. रक्षादेवी: काभ्रेस्थली -४ भण्डारी गाउं देखि २०० मिटर उत्तर तर्फ यो मन्दिर रहेको छ । काठमाण्डौं उपत्यकामा दुर्लभ मानिने कम्तिमा २०० वर्ष पुराना बेलका रुखहरु समेत यहाँ पाइन्छ । यो स्थान तारेश्वर धाम ( तारकेश्वर ) जाने मार्ग समेत हो ।
6. सिम्लेश्वर: काभ्रेस्थली -१ अन्तर्गत अवस्थित सिम्लेश्वर मन्दिर ऐतिहांसिक मानिन्छ । करिव २०० वर्ष पहिले सिममा रहेको पोखरिमा पौडिखेल्ने क्रममा हालको शिवलिंग फेला परि स्थापना गरिएकाले सिम्लेश्वर नाम रहन गएको हो । तेसै समयताका श्रीमानको मृत्यु भएपछि सतीजाने क्रममा सतिले मन्दिरमा नियमित पुजा चलोस् भनि मन्दिर वरिपरिको जमिन दान गरेकी भन्ने भनाई छ । हाल मन्दिरको प्रांगणमा तारकेश्वर नगरपालिका भित्रको एकमात्र गुरुकुल श्री विराट सनातन धर्म संस्कृति विद्यापीठ रहेको छ ।
7. कालिदेबी : काभ्रेस्थली -९ थुम्कीमा अवस्थित कालिदेबी मन्दिर परापुर्वकालिन मानिन्छ । हाल यो मन्दिरकै नामबाट यस स्थानमा श्री कालीदेबी नमूना तथा प्राविधिक विद्यालय समेत रहेको छ ।
8. पञ्चकन्या: काभ्रेस्थली वडा नं -८ थलीगाउं र वडा नं ५ ढकालटारमा २ स्थानमा पञ्चकन्या मन्दिर रहेका छन् ।परापुर्वकाल देखि नै पुजाआजा हुंदै आएका यी स्थान महत्वपूर्ण मानिन्छ ।
9. ढुंगाडे: काभ्रेस्थली र धर्मस्थली को सिमानामा रहेको यो स्थानमा एउटा प्राचीन सिमास्तम्भ रहेको छ । यस्तै खालको स्तम्भ धर्मस्थली र जीतपुर सीमाना नजिक पर्ने भंगेरीटार देखि केहि माथी फांटमा र फुटुंग क्षेत्रमा पनि केहि वर्ष पहिलेसम्म रहेकोले यो ऐतिहांसिक कालको राज्यको सिमास्तम्भ रहेको सजिलै अनुमान गर्न सकिन्छ । यस एतिहासिक धरोहरलाई संरक्षण गर्नु जरुरी छ ।

पर्यटकीय स्थलहरु:
1. सिमडांडा देविस्थान क्षेत्र: यो क्षेत्र काभ्रेस्थली साविक वडा नं ७,९ र १ अन्तर्गत पर्दछ । काभ्रेस्थलीको एकमात्र सामुदायिक बन रहेको यस अन्तर्गत धार्मिक पर्यटनका हिसावले अत्यन्तै महत्वपूर्ण बद्रीनारायण मन्दिर समेत रहेको छ । जुन मन्दिरको उद्घाटन २०७४ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । यसै वन क्षेत्र अन्तर्गत देविस्थान माने थुम्का (हेलिप्याड चौर) बाट काठमाण्डौं उपत्यकाको दृष्यावलोक गर्न सकिन्छ । यो वन क्षेत्र पिकनिकको लागि पनि उपयुक्त रहेको छ । वि सं २०६६मा यहाँ सहीद स्मृति पार्क निर्माणको लागि समेत पहल गरिएको थियो । वन उपभोक्ता समितिको कारण त्यो अवसर गुमेको बताइन्छ । योक्षेत्रमा भ्यालि भ्यू बेम्बो कटेज लगायत स्थलहरु बनेका छन् जसबाट पर्यटकका लागि खाना खाजा तथा दृष्यावलोकनमा सहयोग पुग्दै आएको छ ।
2. सिम्लेश्वर क्षेत्र: सयौं वर्ष पहिले एक सतीले नियमित पूजा चलाउन जमिन दान गरेको यस मन्दिर परिसर मनमोहक रहेको छ । संगै रहेको गुरुकुलमा संस्कृत पढाइ हुन्छ । मन्दिरमा हरेक दिन रुद्राभिषेक तथा नित्य हवन समेत हुने गरेको छ । धर्म संस्कृति अध्ययन,पाठ पूजा एवम् गुरुकुल अवलोकनका लागि धेरै टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् ।
3. अल्ले पानीमुहान तथा झरना: साविक काभ्रेस्थली वडा नं १ मा रहेको श्री ३ भीम शमशेर का पालामा काठमाण्डौं सहरमा पिउने पानी लगिएको पानीमुहान रमणीय रहेको छ । यसैगरि पानीमुहान देखि ३०० मिटर माथि अत्यन्तै मनोरम झरना रहेको छ । पिउने पानीको सरसफाईलाई ध्यानमा राखी यस स्थानमा आवत जावतमा नियन्त्रण गरिएको छ ।
4. पानी घट्ट: काभ्रेस्थली २ मा अझै पनि प्राचीन पानीघट्टहरु देख्न सकिन्छ । केहि दशक अघिसम्म यहाँ करिव २ दर्जन पानीघट्टहरु रहेका थिए । यसै कारण यस गाउंलाई घट्टेखोला भनिन्छ ।
5. मालिकामाई तारकेश्वर क्षेत्र: शिवपुरी राष्ट्रिय निकुन्ज अन्तर्गत रहेको अल्ले बन हुंदै मालिकामाई -तारकेश्वर क्षेत्र धार्मिक तथा प्राकृतिक दृष्टिले निक्कै नै महत्वपूर्ण रहेको छ । मालिका मन्दिरबाट स्थानीय जंगलका साथै काठमाण्डौं उपत्यका नियाल्दाको दृश्य अद्वितीय लाग्छ ।
6. थलिगाउं अर्ग्यानिक कृषि क्षेत्र:नेपालमै सवै भन्दा पहिले अर्ग्यानिक खेती सहकारी माध्यमबाट सुरु गरेका काभ्रेस्थली ८ थलिगाउंका स्थानीय कृषकहरुले आफ्नो उत्पादनलाई निक्कै धेरै चुनौतिका वावजुद अझै धान्दै आएको छ । यसको अगुवाई गरेको छ यहांको पंचकन्या कृषि सहकारी संस्था लि. ले । संस्थाका अगुवा मध्येका एक उद्दव अधिकारी यसै अभियान संगै देश व्यापी संजाल रहेको राष्ट्रिय कृषक समुह महासंघको संस्थापक केन्द्रीय अध्यक्ष समेत हुन सफल हुनुभयो । नेपालकै पहिलो भूकम्प प्रतिरोधात्मक नमूना कोलोनी समेत यस क्षेत्रमा रहेको छ ।
7. देवस्थली क्षेत्र तथा जात्रा पर्व : काभ्रेस्थलीको एकमात्र पुरानो खटजात्रा हरेक वर्ष बाइसधारा पुर्णिमाको दिन देवस्थलीमा हुने गर्दछ । यहाँ नवरात्रीमा समेत मेला लाग्दछ ।
8. अन्य क्षेत्र: काभ्रेस्थलीमा बसोवास गर्ने नेवार समुदायले गाइजात्रा,लाखेजात्रा लगायतका जात्राहरु भब्यरुपले मनाउने गर्दछन् ।
रावलटार काभ्रेस्थली ५/६ मा अवस्थित उमामहेश्वर, वडा नं ९ कालिदेबी मन्दिर तथा नमूना विद्यालय अवलोकनका लागि उपयुक्त स्थल हुन् ।

जातजाती तथा भाषाभाषीहरुको विवरण: काभ्रेस्थलीमा यहिंका स्थानीय जनताहरु बीचमा मुख्य भाषाका रुपमा नेपाली,तामांग र नेवारी भाषा रहेका छन् । अन्य भाषिक समुदाय आगन्तुक रुपमा कतै कतै देखिएपनि उल्लेख्य रहेको छैन । तामांग जाती विशेष गरि साविक वडा नं ५,६,९ र आंसिक रुपमा वडा नं १ मा बसोवास गर्दछन् । वडा नं २ र ६ मा नेवारहरुको वसोवास रहेको देख्न सकिन्छ ।
समग्र काभ्रेस्थलीमा व्राम्हण क्षेत्रीकै बसोवास धेरै रहेको छ ।
यहाँ रहेका करिव १३५० घरपरिवार मध्ये
तामांग २५०,नेवार ४०,अन्य ६० र बांकी व्राम्हण क्षेत्रीहरु रहेका छन् ।

थरका आधारमा परिवार संख्या:
लामा/ तामांग – २५०
श्रेष्ठ-३०
खड्गी-६०
कार्की -६०
रावल- ३०
थापा-३५
चापागांई-३०
अधिकारी-७०
फुयाल-२७०
लामिछाने-३०
न्यौपाने-७
ठकुरी-२०
संजेल-११
भण्डारी-४५
चम्रेल-१५
ढकाल-४०
विंडारी-७
घिमिरे-६
विश्वकर्मा-७
सापकोटा-२५
तिमिल्सिना-७
दंगाल-१०
अन्य-

बसाईंसराई र सहरीकरणको प्रभाव:
बि. सं. २०६३ देखि २०७० बीचमा काभ्रेस्थलीमा भएको बाटो फराक,कालोपत्रे लगायत विकाश निर्माणका क्षेत्रमा भएको परिवर्तनले यो क्षेत्र उपत्यकामा वसाई सरेर आउनेहरुका लागि आकर्षक क्षेत्र बन्यो । यहंका साविक वडा नं २,५,६ र ८ अन्तर्गतका क्षेत्रहरुमा नयां वस्ती संगै शहरीकरण तीव्र रुपमा बढेको छ । केही बर्ष अगाडिसम्म लहलह धान झुल्ने यहांका फांटहरु टुक्रे घंडेरी र नयां वस्तीमा परिवर्तन भएका छन् । यहाँको शहरीकरण यतिसम्म तीब्र रुपमा बढेको छ कि हरेक बर्ष करिव ५०० को हाराहारीमा ता न पा २ नं वडामा नयां घर निर्माणका लागि नक्सा पास हुने गरेको छ ।

पिउने पानी:
ता न पा २,काभ्रेस्थली पिउने पानी पर्याप्त भएको वडा हो । यहांको अल्ले पानी मुहानबाट श्री ३ भीम समसेरको पाला देखि काठमाण्डौं महानगरमा समेत पानी लगिएको छ । यहांका साविक गा वि स का वडाहरु वडा नं १,३,७ र ९ अन्तर्गत रहेका विभिन्न सिमसार तथा मुल मुहानहरुबाट बाह्रैमास सुध्द पानी बग्ने गर्दछ ।यी वडाहरुमा शिवपुरी राष्ट्रिय निकुंजका केहि खण्ड पर्दछ । यहांको साविक वडा नं ४ मा तारकेश्वर धाम क्षेत्रको मुहानबाट पिउने पानीको व्यवस्था गरिएको छ । हाल सहरीकरण संगै पिउने पानीको उचित वितरण एवम् व्यवस्थापन नहुंदा निक्कै ठूलो समस्या देखापर्न थालेको छ ।

शिक्षा:
शिक्षामा काभ्रेस्थली निक्कै अगाडि रहेको छ । यहाँ सत्प्रतिशत (९५% भन्दा माथी) साक्षरता दर रहेको छ । यहाँ ३ सामुदायिक विद्यालय, ४ नीजि विद्यालय रहेका छन् । यहांको सवैभन्दा पुरानो विद्यालय श्री काभ्रेस्थली मा वि (वि सं २०१९) हो ।

काभ्रेस्थलीमा रहेको श्री कालिदेबी मा वि तारकेश्वर नगरपालिका भित्रको एक मात्र नमूना सामुदायिक विद्यालय हो । कक्षा नर्सरी देखि १० सम्म पुर्ण रुपमा अंग्रेजी माध्यममा पढाइ हुने यहाँ कक्षा ६ देखि १० सम्म भने अन्य जिल्ला तथा नेपाली माध्यममा पढाइ भएका विद्यालयबाट आउने विद्यार्थीका लागि नेपाली माध्यमका छुट्टै कक्षाहरु समेत संचालित छन् ।
यहाँ साधारण धारका अतिरिक्त प्राविधिक धार अन्तर्गत कक्षा ९-१२ मा Plant Science को पठनपाठन हुंदै आएको छ ।यस विद्यालयमा कक्षा ११ र १२ मा Science,Management,Arts ,General Law र Education का विषयहरुमा पठनपाठन हुन्छ । यो नगरपालिका भित्रको एकमात्र स्कुल बस समेत भएको सामुदायिक विद्यालय समेत हो ।

स्वास्थ्य:
यहाँ सरकारी स्तरबाट १ हेल्थ पोस्ट र १ नगर वडा स्वास्थ्य केन्द्र रहेका छन् भने नीजी क्षेत्रबाट दर्जनौं स्वास्थ्य क्लिनिकहरु खुलेका छन् ।

रोजगारी:
अझै पनि धेरै ठुलो जनशक्ति कृषिमा निर्भर रहेको काभ्रेस्थलीमा व्यापार दोस्रो स्थानमा रहेको छ भने सरकारी नोकरी क्षेत्रमा निजामती,न्याय,शिक्षा,सेना तथा प्रहरीमा उच्च ओहदा देखि सामान्य तहसम्म सयौंको संख्यामा रोजगार रहेका छन् ।

यातायात:
वि सं २०६५ बाट पक्की सडकले जोडिएको काभ्रेस्थलीका हरेक वडा र वस्ती सडक संजालमा जोडिएको छ । जरंकु ,भेडिगोठ सर्वकल्याणेश्वर चोक मुल सडक ३८०० मिटर पिच छ भने ढकालटार पदमसाल दोबाटो सडक करिव १००० मीटर पिच सडक रहेको छ । यसका अलावा टोल वस्ती स्तरीय सडकहरु आंशिक ढलान तथा पक्की रहेका छन् ।जितपुरफेदी काभ्रेस्थली सांग्ला झोर जोड्ने मुल सडक भने हालसम्म नै कच्ची र धुले रहेको छ ।


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #तारकेश्वरको काभ्रेस्थली गाउँ


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!