Techie IT
बिहीबार, माघ २६,२०७९

पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज


डा.बलराम तिमल्सिना

बुद्धिजिविहरुहरु भन्छन् अध्ययन, अनुसन्धान र अनुभवबाट हाँसिल गरेको ज्ञान सत्य र तथ्यपरक हुन्छ । यी तीन पक्ष मध्ये अनुभवको कुरा गर्दा व्यक्ति आफ्नो कर्म क्षेत्रमा चाहेर वा नचाहेर पनि केही न केही अनुभव हाँसिल गरिरहेको हुन्छ ।

राजनीति गर्नेले राजनीतिक अनुभव, शिक्षामा काम गर्नेले शैक्षिक अनुभव, खेती किसानी गर्नेले कृषि सम्बन्धी अनुभव नियमित रुपमा गर्छन् । मात्र हामी अनुभवलाई लिपिबद्ध गर्दैनौं र कालान्तरमा ती अनुभवहरु बिर्सिन्छौं । तर पनि अनुभव मानव जीवनको नियमित प्रक्रिया भित्रै पर्छ ।

अनुसन्धान भन्ने विषय अलि प्राज्ञिक र प्राविधिक भएकाले औपचारिक अनुसन्धान साधारण नागरिकले गर्ने गर्दैनन् । अनुसन्धानका प्रक्रिया, यसमा अपनाउनु पर्ने विधि र पद्धत्ति आदि राम्रोसँग बुझेको व्यक्तिले मात्र अनुसन्धान गर्छन् र त्यसका प्राप्तिहरु जन समक्ष ल्याउँछन् ।

त्यसैले अनुसन्धान हामी सबैले गर्दैनौ र गरिएन भनेर पछुताउनु पर्ने वा गुनासो गर्नुपर्ने विषय पनि होइन यो । यो त भयो अनुभव र अनुसन्धानको छोटो कुरा ।

अब कुरा गरौं अध्ययन वा पढाइको ।पढ्ने काम सबैले गर्न सक्ने काम हो । जुन व्यक्ति साक्षर छ, उसले पुस्तक, पत्रपत्रिका आदि पढ्न सक्छ । पढेका कुराहरु व्यक्तिको बौद्धिक स्तर र बुझ्ने क्षमताका आधारमा संश्लेषण र विश्लेषण गर्छन् र सकेसम्म आफ्नो व्यवहारमा पनि लागु गर्छन् ।

म यो लेखाइमा अनुसन्धान र अनुभवका बारेमा व्याख्या विश्लेषण गर्न गैरहेको छैन । यो लेखमा अध्ययन खास गरी पठन संस्कृतिको बारेमा केही लेख्ने प्रयास गरेको छु । लेखाइका क्रममा मैले अध्ययन र पढाइलाई पर्यायवाची शब्दको रुपमा प्रयोग गरेको छु ।

मलाई अहिले पनि याद छ हाम्रो पुस्ता कलेज पढ्दा कक्षामा तोकिएका कोर्सका पुस्तक मात्र होइन अरु पुस्तक पनि खोजी खोजी पढ्ने गर्दथ्यौँ । उदाहरणको लागि विश्वेश्वरप्रसाद कोइराला र मोदनाथ प्रश्रीतका साहित्यिक तथा राजनीतिक पुस्तक, पारिजातका कथा,कविता र उपन्यासहरु, सञ्जय थापाका (प्रदीप नेपाल) लेख, रचना र पुस्तक खोजी खोजी पढिन्थ्यो ।

हृदयचन्द्रसिंह प्रधान, सूर्यविक्रम ज्ञावली, धरणीधर कोइराला, पारशमण्ीि प्रधान, वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, कृष्णप्रसाद पराजुली,सत्यमोहन जोशी आदि लेखकका साहित्यिक तथा समसामयिक विषयमा लेखिएका पुस्तकहरु पढ्न छुटाइन्नथ्यो ।

त्यसबेला दैनिक पत्रिकाहरु थिएनन् । साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिकाहरु पुस्तकालयमा गएर त्यसमा प्रकाशित विचारमूलक लेखहरु र सम्पादकीयसधैँ पढ्थ्यौँ हामी ।

२०४६ साल अगाडि पञ्चायत व्यवस्था विरोधीराजनीति गर्ने नेता कार्यकर्ताहरु त पढाइमा अब्बल नै हुन्थे । उनीहरु राष्ट्रिय तथा अन्तराष्र्टि्रय पत्रपत्रिका र पुस्तकहरु खुब पढ्थे । राजनीतिक तथा समसामयिक विषय वस्तुमा लेखिएका लेखहरु पढ्थे । अनि मात्र सम्बन्धित विषयमा आफ्नो धारणा बनाउँथे र सार्वजनिक गर्दथे । राजनीतिक नेताहरु पढ्ने मात्र होइन, छदम नाममा अत्यन्त धेरै लेख र पुस्तकहरु लेख्थे र प्रकाशनगर्दथे ।

पञ्चायतको नेतृत्वमा बस्ने व्यक्तिहरु प्नि अत्यन्तै अध्ययनशील थिए ।शैलेन्द्र कुमार उपाध्याय, रमेशनाथ पाण्डे, केशरबहादुर विष्ट,रणधिर शुब्बा,कीर्तिनिधि बिष्ट, डिल्लिरमण रेग्मी,लोकेन्द्रबहादुर चन्द जस्ता नेताहरु अत्यन्तै अध्ययनशील नेताहरुमा पर्दथे ।डिल्लिरमण रेग्मीले बनाएको व्यक्तिगत पुस्तकालय नेपालका ठुला पुस्तकालय भित्र पर्दछ । हाल उक्त पुस्तकालयनेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

मेरो गाउँ तत्कालिन ढुँखर्क गाउँ पञ्चायतका प्रधानपञ्च स्वर्गीय विजुलीप्रसाद घिमिरे भारतबाट प्रकाशन हुने टाइम्स अफ इन्डिया पत्रिका त्यो दुर्गम गाउँमा लगेर पढेको अहिले पनि म सम्झन्छु ।

मैले यी विगतका कुरा किन उठाएको हुँ भने आजका नेता कार्यकर्ता अनि हामी जनता कति पढ्छौँ, के पढ्छौँ, पढेका कुरा कति सम्म ग्रहण गछौँ र व्यवहारमा लागु गर्छौ भन्ने सन्दर्भ जोड्न पनि हो ।

अहिले पनि नियमित लेखपढ गर्ने नेता वा अन्य ब्यक्ति हुँदै नभएका होइनन् । तर त्यो सङ्ख्या अत्यन्त घट्दै गएको भान हुन्छ । दलका आजका अधिकांशनेताहरु अरुले लेखेको समसामयिक विषयका लेख रचनाहरु पढ्दैनन् किन कि उनीहरुको प्रस्तुति, बोलाइ र भाषाबाट प्रष्ट हुन्छ कि उनीहरु आफैँलाई सर्वज्ञ र सर्वदृष्टिवाला ठान्दछन् ।

अध्ययन या भनौं पुस्तक पढाइ, पत्रपत्रिकामा प्रकाशित लेख रचना र अरुका विचारहरुको पढाइ, चाहे युवा वा वृद्ध, चाहे नेता वा कर्मचारी, चाहे शिक्षक वा विद्यार्थी, चाहे उद्योगपति वा मजदुर सबै वर्गलाई अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आफ्नो क्षेत्रमा अब्बल सावित भएका तपसिलका व्यक्तिहरुको भनाइबाट पनि सावित हुन्छ ।

नेपाली साहित्य क्षेत्रका मूर्धन्य व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्थ्योः तपाईँ जति पढ्नु हुन्छ त्यति नै तपाईँको ज्ञानमा वृद्धि र बौद्धिकतामा निख्खारपन आउने त छदै छ, पढाइको कारण तपाईँ कर्म क्षेत्रमा पनि त्यतिकै सफल हुनुहुन्छ ।

समाजवादी चिन्तक प्रदीप गिरिले पटक पटक भनेको सुनेको छु कि प्रशस्त पढ्नुहोस्, त्यसलाई मसिनो हुने गरी चपाउनुहोस्, अनि निल्नुहोस्, अनि मात्र तपाईँले त्यसको स्वाद पाउनु हुन्छ । त्यस पछि तपाईँको त्यो पढाइले ज्ञान,सिप र धारणा अभिवृद्धिको लागि भिटामिनको काम गर्दछ ।

नेपाली राजनीतिका शिखर व्यक्तित्वहरु विश्वेश्वर प्रसाद कोइराला, मदन भण्डारी, पुष्पलालश्रेष्ठ, निर्मल लामा, मोहनबिक्रम सिँह जस्ता नेताले पनि आफ्ना दलका नेता र कार्यकर्तालाई पठन सँस्कृति विकासको लगि सधैँ उत्प्रे्ररित गरिरहनुहुन्थ्यो भन्ने कुरा अहिले पनि सुनिन्छ ।

दक्षिण अफ्रिकाका स्वतन्त्रता सेनानी नेल्सन मण्डेला पढाइलाई जीवनसँग जोडेर हेर्नुृहुन्थ्यो र भन्नुहुन्थ्यो “जिउनको लागि हामीसँग एउटा मात्र जीवन छ भन्ने कुरा सत्य होइन । हामीले विविध विषयका पुस्तकहरु पढ्यौं भने हामीले धेरै किसिमको जीवन जीउन सक्छौं ।”

यसका साथै मण्डेला के पनि भन्नुहुन्थ्यो भने “यदि मानिस धेरै पढ्छ र आफ्नो दिमाग भने कम मात्र प्रयोग गर्छ भने उसको सोच्ने क्षमतामा ह्रास आउँछ ।त्यसैले पढ्नुहोस् पनि र त्यतिनै मात्रामा आफ्नो दिमाग पनि प्रयोग गर्नुहोस् ।”

पढाइको बारेमा कार्ल माक्सको छोटो तर महत्वपूर्ण भनाई छ “कम खाऊ, कम पिय तर किताब बढी किन ।” किताब बढी किन्नुको सोझो अर्थ हो बढी पढ्नु । त्यसैले माक्सले पनि अध्ययनलाई जोड दिएको कुरा उक्त भनाइबाट पुष्टि हुन्छ ।

अहिँसावादी नेता महात्मा गान्धी पनि असाध्यै पढ्नु हुन्थ्यो र अरुलाई पनि पढ्न उत्पेरित गर्नुहुन्थ्यो । उहाँलाई मन परेका अँग्रेजी भाषाका पुस्तकहरु साधारण भारतीय नागरिकले पनि पढून् भनेर भारतका क्षेत्रीय भाषाहरुमा अनुवाद गरेर छपाउन लगाउनुहुन्थ्यो ।

मार्टिन लुथर किङ्ग्सको अध्ययन, अनुसन्धान र अनुभव सम्वन्धी एउटा भनाई अत्यन्तै प्रख्यात छ । उहाँ भन्नुहुन्थ्यो “पहिले त तपार्इँ उड्न प्रयास गर्नुहोस् ।यदि उड्न सक्नुहुन्न भने दौडनुहोस् । यदि दौडन सक्नुहुन्न भने हिड्नुहोस् । हिड्न पनि सक्नुहुन्न भने घिस्रनुहोस् । तर अगाडि बढ्न कहिल्यैं नछोड्नुहोस् । यो ज्ञान र सीप तपाईँलाई नियमित अध्ययन,अनुसन्धान र अनुभव बाट प्राप्त हुन्छ ।”

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओवामा पढाइलाई सबै प्राप्तीको मूलढोकाको रुपमा चित्रण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “सम्पूर्ण सिकाइहरुको मूलढोका नै पढाइ हो । उक्त मूलढोकाबाट व्यक्ति,समाज, राष्ट्र र विश्वको समस्या पहिचान गर्न र समाधानको लागि छिर्न सकिन्छ ।

त्यति मात्र होइन, यो ढोकाबाट छिरे पछि जीवन जिउनुको अर्थ थाहा हुन्छ, जीउने कला र सिप प्राप्तिका साथै इतिहास देखि बैज्ञानिक उपलब्धि सम्मको ज्ञान हाँसिल गर्न सकिन्छ ।

विश्वका धनी व्यक्ति विलगेट्स पढाइलाई अत्यन्तै महत्व दिनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ,“म यस अर्थमा भाग्यमानी हुँकि मलाई मेरा अभिभावकले पढ्नको लागि सँधै उत्पेरित गरिरहनु भयो ।मलाई लाग्छ पढाइले इतिहास, वर्तमान र भविश्यको बारेमा जान्ने उत्सुकता जगाउँछ ।”

उहाँ अझ थप्नुहुन्छ कि प्रत्येक पुस्तकले केही न केही नयाँ कुरा सिकाउँछ र व्यक्ति, समाज, राष्ट्र,विश्व वा प्रत्येक घटना परिघटनालाई फरक तरिकाले हेर्न, बुझ्न र व्यक्त गर्न सहयोग गर्दछ ।

त्यसैले म सबैलाइर्, खासगरी प्रविधिमा हराउँदै गएको आजको युवा वर्गलाई अनुरोध गर्दछु कि, धेरै पढ्नुहोस् र आफूलाई आनन्दित बनाउने सिप सिक्नुहोस् ।

टेस्ला कार निर्माता कम्पनी र ट्वीटरका मालिक एलनमस्क भन्नुहुन्छ,“मेरो सफलताको श्रेय किताबलाई जान्छ ।” एकपटक मस्कलाई तपाईले रकेट बनाउन कसरी जान्नुभयो भनेर सोध्दा उहाँको उत्तर थियो “मैले प्रशस्त किताबहरु पढेको छु ।”

यी सबै बुद्धिजिवि, उद्योगपति, साहित्यकार,राजनीतिज्ञ आदिको भनाइ हेर्दा पढाइको महत्व कति रहेछ, धेरै व्याख्या गरिरहनु पर्दैन ।

पढाइले ज्ञान र सिपमा वृद्धि गर्छ । आफू र आफ्नो परिवेश अनि संसारलाई चिन्न मद्धत गर्छ । मगजलाई तन्दुरुस्त र स्वस्थ राख्छ । पढाइले कुनै पनि विषयमा ध्यान केन्द्रित गर्ने बानीको विकास गर्छ । स्मरण शक्तिमा वृद्धि गर्छ र सञ्चार सिपको विकास गर्छ ।

अनुसन्धानले के पनि भन्छ भने नियमित पढ्ने व्यक्तिको आयु पनि वृद्धि हुन्छ । १२ वर्ष लगाएर नियमित पढ्ने बानी भएका र नभएका बिचमा गरिएको अनुसन्धानको निष्कर्ष के छ भने पढ्ने बानी भएका व्यक्तिहरु २ वर्ष बढी बाँच्दछन् ।

अर्को एक महत्वपूर्ण अनुसन्धानले के भन्छ भने जुन व्यक्ति नियमित लेखपढ गर्छ, उसलाई नपढ्नेहरुलाई भन्दा अल्जाइमर्स (बिर्सने रोग) हुने सम्भावना ५० प्रतिशतले कम हुन्छ ।

पढाइको या भनौँअध्ययनको यति महत्व हुँदा हुँदै पनि आज पठन संकृतिमा ह्रास आएको कुरा सबै क्षेत्रमा सुनिन्छ ।अनौपचारिक रुपमा पढ्ने बानी त घट्यो घट्यो, औपचारिक परीक्षाहरुको लागि पढ्नै पर्ने विषय वस्तु पनि कम पढ्न थालिएको हो कि भनेर लोकसेवा आयोग र शिक्षकसेवा आयोगका परीक्षाका परिणामबाट शङ्का गर्ने बेला भै सकेको छ ।

पठन संस्कृतिको कमी नेपालमा मात्र नभएर एशिया, अमेरिका र युरोपका अन्य देशहरुमा पनि यो संस्कृति कम हुँदै गएको समाचारहरु आइरहेका छन् । पठन संकृति किन घट्दै छ भनेर विश्वमा केही अनुसन्धानहरु पनि भएका छन् ।

त्यस्ता अनुसन्धानले के भन्छन् भने पठन संकृति कम हुनुमा व्यक्तिले समय व्यवस्थापन गर्न नसक्नु, व्यक्तिमा रुचि र उत्प्रेरणाको कमी हुनु, साथै सामाजिक सञ्जाल र सञ्चारका माध्यमको अधिकतम पहुँच र यिनिहरुबाट प्राप्त भएको अल्प सूचनाका आधारमा धारणा बनाउने बानीको विकास प्रमुख कारण हुन् ।

यसको अतिरिक्त प्रविधिले पुस्तकको स्थान लिनु,व्यक्तिले लामो समयसम्म ध्यान केन्द्रित गरेर पढ्न नसक्नु,सतही रुपमा प्राप्त ज्ञान,सिप र धारणालाई नै सबै प्राप्ती ठान्ने बानीको बिकास हुनु पनि पठन संस्कृतिमा कमीआउने कारणहरु हुन् ।

एउटा अनुसन्धानको निष्कर्षले के भन्छ भने अहिलेको समाज सामाजिक सञ्जालका पोष्ट,म्यासेज, कसैले गरेको ट्वीट,टेलिभिजनहरुमा आएका समाचारका ब्रेकिङ न्युज, पत्रपत्रिकाका समाचारका शीर्षक मात्र पढ्छ अनि आफूलाई मन परेका राजनीतिक व्यक्तिहरुको भाषणको कुनै एक भाग मात्र सुन्छ र आफ्नो धारणा बनाउँछ । वास्तविकता बुझ्न तिर भने पटक्कै लाग्दैन ।

यो अनुसन्धानको निष्कर्ष के पनि छ भने उनीहरु कुनै पनि कुराको पूर्ण पाठ पढ्दैनन् र पढ्नेले पनि त्यसलाई आन्तरिकीकरण गर्दैनन् । अनि अल्प सूचनाका कारण अल्पज्ञानी हुन्छन् र व्यक्ति, समाज र संसारलाई अल्प रुपमै बुझ्दछन् र यस धर्तिबाट हराउँछन् ।

यसै सन्दर्भमा अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एउटा भनाइ महत्वपूर्ण छ “संसार अब लेखन संस्कृतिबाट श्रब्यदृष्यको संस्कृतितर्फ बढ्दै गर्दा गहिरो र बस्तुनिष्ठ विश्लेषणमा भन्दा भावनात्मीकरणतिर जाने खतरा उत्पन्न भएको छ ।”

उहाँ अगाडि भन्नुहुन्छ“अब राजनीति भावनात्मक आकृतिहरुले निर्माण गर्नेछ जसमा गहिरा तथ्य र वस्तुपरक विश्लेषणहरुका तत्वहरु हराउनेछन् ।श्रब्यदृष्य सञ्चार माध्यमले उत्पादन गर्ने यी आकृतिहरुको अत्यधिक दबावबाट बच्न राजनीतिज्ञहरुलाई गाह्रो हुनेछ ।”

हेनरी किसिन्जरले भने अनुसार लेखन संस्कृति घट्नु भनेको प्रस्टरुपमा पठन संस्कृतिमा ह्रास आउनु नै हो । जब समाजमा पढ्ने मानिस घट्छन् अनि लेखकहरु प्नि लेख्न जाँगर मार्छन् ।

यी अनुसन्धानका प्राप्तिहरु र भनाइहरुसबैलाई सामान्यीकरण गर्नु हुँदैन । अत्यन्तै पढ्ने र त्यसका निष्कर्षहरुलाई ब्यबाहारमा उतार्न खोज्ने राजनीतिज्ञ र युवा जमात अहिलेको विश्व समाजमा पटक्कै नभएको भने होइन ।

फेरि पनि पठन संस्कृति कम हुँदै गएको सत्य हो र त्यसले ल्याउने परिणाम भने अनुसन्धानले भने जस्तै हो भन्ने कुरामा दुई मत छैन ।

मलाई एउटा आफ्नै उदाहरण दिन मन लाग्यो । मेरो घरमा मैले किनेका र सङ्कलन गरेका ४।५ सय पुस्तक भएको एउटा सानो बुक कर्नर थियो । यी पुस्तकहरु कति त मैले दुइपटक सम्म पढेर राखेको थिएँ ।

दराजमा मिलाएर राखिएका यी पुस्तकहरु मेरा छोरा छोरीले औपचारिक अध्ययन सकेपछि दराजबाट झिकिनेछन् र छोरा छोरीका कोठामा छरपस्ट हुनेछन् भन्ने लागेको थियो ।

तर त्यसो भएन । किताबहरु दराजमानै टम्म मिलेर बसिरहे ।अनि करिब १ वर्ष पछि यी सबै पुस्तकहरु मेरो गाउँको श्री पार्वती बहुमुखी क्याम्पसलाई हस्तान्तरण गरें ।

यी पुस्तक हस्तान्तरण गरे पछि पनि करिब ५० वटा जति पुस्तक घरमा जम्मा भै सकेका छन् । यी पुस्तक पनि म आफैं पढ्छु, दराजमा राख्छु,केही समय पछि धुलो झार्छु, पढिसकेको भए पनि फेरि केही पाना पल्टाउँछु ।केही पुस्तक त दोहोर्याएर पढ्छु, अनि दराजमा नै थन्क्याउँछु । ती पुस्तक झिक्ने,धुलो झार्ने र पढ्ने अर्को व्यक्ति छैन ।

कामना गर्छु मेरो घरका पुस्तक र पुस्तक सङ्कलकको जस्तो बेथा अरु पनि घर घरको कहानी नहोस् ।

मेरो जे आदत छ त्यही बानी ब्यहोरा छोरा छोरीमा या भनौँ अहिलेको नयाँ पुस्तामा खोज्नु मेरो कमजोरी हुनसक्छ,यसको लागि म क्षमा प्रार्थी छु ।

म अहिेले पनि बिहान बेलुका गरेर दिनको १,२ घण्टा पढ्छु । मेरो पढ्ने बानी अनौठो छ । अनौठो यस मानेमा कि म एकै पटक २,३ वटा किताब पढ्छु । यो बानी औपचारिक शिक्षा आर्जन गर्दा देखिको हो । त्यसबेला ३,४ वटा पुस्तक पल्टाउने, सबै पढ्ने अनि नोट बनाउने गरिन्थ्यो । त्यो बानीले गर्दा आज पनि २,३ वटा पुस्तक अगाडि नभए पढेजस्तै लाग्दैन ।

अहिले पनि म एकसाथ देवप्रकाश त्रिपाठीको तुषानल, डा.भगवान कोइरालाको हृदय पहिलो पटक र नोवेल पुरस्कार बिजेता अमत्र्यसेनको ब्ल ग्लअभचतबष्ल न्यिचथ दोहोर्याएर पढ्दैछु ।

अमत्र्यसेनकोयो पुस्तकले भारतको लोकतन्त्र, बिकास, सामाजिक असमानता आदिको बारेमा चिरफार गरेको छ, ती कतिपय कुरा नेपालको अहिलेको अवस्थासँग मेल खान्छन्, त्यसैले यो पुस्तक दोहोर्याएको हुँ ।

आजको प्रबिधिले पढ्न पुस्तक नै पल्टाउनु पर्ने बाध्यतालाई पनि हटाएको छ । पुस्तकहरु सुनिने गरी युट्युवमा उपलब्ध गराइएका छन् ।साँझको खाना खानुहोस्,बिस्तारामा पल्टेर आफूलाई मन परेको पुस्तक सुन्दै निदाउनुहोस् । यस्को आनन्दै अर्कै हुन्छ ।

अन्तमा व्यक्ति सुशिक्षित, सौम्य, सभ्य र सादगी बन्नको लागि अध्ययनको बिकल्प छैन । जीवन जीउनको लागि आवश्यक पर्ने जीवनोपयोगी सिप आर्जन गर्न, हिजो र आजको समाज बुझ्न र भोलिको समाजको कल्पना गर्न सक्षम व्यक्ति बन्ने हो भने पनि अध्ययन गर्नै पर्दछ ।

मलाई आशा छ नेपाली समाज सामाजिक सञ्जाल र समाचारका माध्यमहरुमा आउने अल्प सूचनामा हराउने छैन । आजका युवाहरुले आफ्नो व्यस्त कार्यसूचिको बाबजुद केही समय निकालेर नियमित अध्ययन गर्नेछन् र आफूलाई तथ्यपूर्ण र सत्य ज्ञान, सीप र धारणाले सुसज्जित जिम्मेवार नागरिक बनाउने छन् । अस्तु


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #education culture in nepal, #डा.बलराम तिमल्सिना, #पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Partly Cloudy
6:45 am5:50 pm +0545