Techie IT
बिहीबार, मंसीर २३,२०७८

दाउपेच भित्रको शैक्षिक उदासिनता


राजेन्द्र प्रसाद फुयाँल

एक मित्र, विद्यालयका प्रधानाध्यापक गोविन्द भट्टले फेसबुकमा एउटा स्ट्टाटस लेख्नुभयो । योग्यता र सक्षमताको सही मूल्याङ्कन नहुँदा नयाँ पुस्ताको भविष्य के होला ? दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेश द्वारमा सबैको ध्यानाकर्षण गर्दै यस प्रकारका सुचना टाँस गरिएको रहेछ जुन कुरा हाम्रालागि पनि सान्दर्भिक छ ।

“कुनै पनि मुलुकलाई ध्वस्त पार्न कुनै आणविक अस्त्र वा लामो दुरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गर्नु आवश्यक छैन, यसका लागि त्यो मुलुकको शैक्षिकस्तर ध्यस्त पारीदिए मात्रै पर्याप्त छ र विद्यार्थीहरूलाई परीक्षामा चिट चोर्न वा विना परीक्षा क्षमता भन्दा वढी अङ्क दिए पुग्छ । ” ताकि त्यसको परिणामः

  •  त्यस्ता डाक्टरका हातबाट विरामीहरू मर्नेछन् …
  •  त्यस्ता इन्जिनियरबाट निर्मित भवन, पुल र बाटाहरू ध्वस्त हुनेछन् …
  • त्यस्ता अर्थविद्हरूका हातबाट पैसा हराउँनेछन् …
  • त्यस्ता धार्मिक अभियन्ताका हातबाट मानवता मर्नेछन् …
  • त्यस्ता न्यायाधीसको हातबाट न्याय हराउनेछन

“शिक्षा ध्वस्त हुनु नै मुलुक ध्वस्त हुनु हो ।”

विकसित देशमा बालबालिकाको उमेर समूह अनुसारको शिक्षण कृयाकलाप र सिकाई उपलब्धिलाई विद्यालयमा बिताएको दिन, वर्ष र समयको आधारमा मूल्याङ्कन गरिन्छ र त्यसको तुलनात्मक रूपमा अध्ययन गरिन्छ । बालबालिकाको लागि शिक्षा अपरिहार्य आयामको रूपमा लिइएको हुन्छ । राष्ट्रको मेरुदण्डको रुपमा स्थापित गरिएको हुन्छ ।

जुनसुकै पेन्डामिक परिस्थितिमा पनि निरन्तरता दिन हर सम्भव प्रयास गरिएको हुन्छ । अभिभावक, समाज र सम्पूर्ण राज्यका अङ्गहरूले त्यसै अनुरुपको रणनिती बनाई कार्यान्न्वयन गरिरहेका हुन्छन् ।

तर हाम्रो देशको शिक्षण पद्धतिको सम्पूर्ण आयामहरू विगतदेखि अध्ययन अनुसन्धान गरी केलाउने हो भने बालबालिकाको शिक्षा सधैँभरि ओझेलमा पर्ने गरेको छ । त्यति मात्र होइन बालबालिकालाई शिक्षामाथि नै अवमूल्यन, निराशा तथा वितृष्णा तर्फ जानेर वा नजानेर त्यतातिर उन्मूख गराइएको त छैन् ? भन्ने शिक्षाप्रति संवेदनशील व्यक्तिहरूको मसिनो स्वरमात्र सुन्ने गरिन्छ ।

राणा शासनकालसम्म त माफी दिन मिल्ला तर सुशासान, सार्वभौम प्रजातन्त्र र न्यायपूर्ण राज्य प्रणालीको वकालत गरेर नथाक्ने नेतृत्व गणलाई इतिहासले माफ गर्ला त?

शिक्षा कस्तो हुनुपर्छ ?

नेपालमा दृष्टिभ्रम पार्न सफल–असफल नेतागण र दुःखी भएरै भन्नुपर्छ, तथाकथितवर्तमान शिक्षाका सरोकारवाला,सबैलाई थाहा छ । आफ्नो स्वार्थ अभिषिक्तको लागि एक अर्कालाई विदेशी दलाल र प्रतिगामीको दोषारोपण गरिरहेको सुन्छौ । यो एक प्रकारको छद्म्भेष रूपपनि भन्न सकिन्छ । परिणम त समाज कति नकरात्मक भइसकेको छ ?भन्ने कुरा सामाजिक संजालहरूमा दिएका टिका–टिप्पणीबाट अनुमान लगाउन सकिन्छ ।

आफ्नो विचारसँग सहमत नहुनेहरूलाई गरिएको गालिगौलज एक सभ्य नागरिकका लागि हतोसाहित बनाउने खालको हुन्छ । मेरो हजुरबुबाले भन्नु हुन्थ्यो “जंड्याहाको जस्तो बोलि र सुझबुझ गुमाउनु हुदैन ।”तर आम सर्वसाधारण, जो गरिवी र असुरक्षाको महसुस सँधैभरि गरिरहेका छन्, ती नेपाली नागरिकले कसरी ठम्याउन् ?

के यसको भेद छुट्टाउन विवेकी तथा सुझबुझ भएको नागरिकविना सम्भव छ ?

जवकि उक्त सुझबुझ शिक्षाले नैै निर्धारण गर्ने गर्दछ ।

शिक्षामा व्यापारीकरण ?

नेपालको शिक्षामा व्यापारीकरण अवस्य भएको छ । तर स्मरण रहोस, यो एक प्रकारले कुपोषणबाट हुर्किरहेको बालकलाई कुपोषणको दोष उसैलाई थुपार्नु जस्तै हो ।नेपालका शैक्षिक व्यापारीहरू मेरो दृष्टिमा त एक प्रकारको नाङ्ले र घुम्तिपसलेभन्दा माथि छैनन्।

खुद्रा र थोक व्यापारी त आफ्नो स्वरूप परिवर्तन गर्दै अदृष्य शक्ति बनिरहेका छन् । अधिकांश वर्तमान मोहडामा देखिएका राजनितिज्ञ र शिक्षाका सरोकारवालाहरू तिनै खुद्रा र थोक व्यपारीको चुङ्गुलमा परिसकेका छन् र आफ्ना कदमहरूत्यसै अनुरुप चालिरहेका छन् ।

तथापि सस्तो लोकप्रियताको लागि शिक्षामा व्यापारीकरणको वक्तव्य कथित अशिष्ट कुलीन वर्गका बुद्धिजीवी र राजनीतिज्ञले नै दिने गरेको पाइन्छ । जवकि अधिकांश तिनका छोराछोरी तथा नजिकका नाता गोताहरू या त नेपालका महङ्गा विद्यालयमा या विदेशमा अध्ययन गरिरहेका हुन्छन् जसकालागिराजदुतावासमा छात्रवृत्तिको सुविधा उनीहरू कै छोराछोरी र आफन्तले लिने होडबाजी चलिरहेको हुन्छ ।

साम्राज्यवाद, उपनिवेशवादमा परिवर्तन भएको छ । घुमाउरो बाटोबाट विस्तार भइरहेको छ । आइएन्जीओ र एन्जीओ मार्फत सामाजिक सेवा र शिक्षामा गोहीको आँसुको रूपमा लगानी गर्दै दिर्घकालिन दुरदृष्टिको रणनिति र कार्यनिति अवलम्बन भइरहेको छ ।

कुनैपनि देशकोधर्म र संस्कृतिमा, खासगरि त्यहाँको युवावर्गमा या त अतिवाद या निष्क्रियता ल्याउन सकेमात्र उपनिवेशीहरूको अभिषिक्त पुरा हुन सक्छ । यसकालागि जातियता, लैङिगकताको असमानताले सृजना गरेको उत्तेजनामा खेली रहेका हुन्छन् । हाम्रो जस्तो देशमा अशिक्षा र गरिवीको कारणले अझ बढी जकडिएको छ ।

आजका विकसित देश पूर्ण भौतिकवादी देश हुन् । उनीहरूको समृद्धि उपनिवेशवादको जगमा बसेको हुन्छ । उपनिवेशको जग देशको शिक्षा प्रणाली र राज्य संयन्त्रले निर्धारण गर्दछ ।

राज्य संयन्त्रलाई त्यहाँको संवैधानिक व्यवस्थाले नियन्त्रण गरेको हुन्छ । यस अनुरुप अदुरदृष्टि र सत्तालोलुप नेतृत्वलाई कसरी कुशलतापुर्वक चलाऊन वा तोडमोड गर्न सकिन्छ, उत्तम विकल्प सहित खोजमूलक अध्ययन गरिरहेका हुन्छन् ।
जसोतसो पसिनालाई एयर कूलर सम्झेर पढाएका बाबुआमाको बुढेसकाल त्यतिकै बेस्याहार भएको छैन । संसारका विकसित देशहरू संसारबाट प्रतिभावान्, कर्मठ नागरिकहरूलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर ललिपप देखाउँदै आर्कषण गरिरहेका छन् । यसको प्रमुख दुई कारण छन् :

१) उनीहरूको देशमा युवाहरू विलासी तथा अकर्मण्य भइरहेका छन् ।

२) प्रतिभावान् र कर्मठ नागरिकविना देशको दिगो विकास हुन सक्दैन भन्ने राम्रो गरी बुझेका छन् ।

युवा र बालबालिकाको एक पुस्तालाई शिक्षामा अपाहिज नबनाई उनीहरूको अभिषिक्त पुरा हुन सक्दैन । तर यसकोलागि कस्तो प्रकारको बल्छि वा जाल बिच्छ्याउनु पर्छ, हर सम्भव युक्ति लगाएका हुन्छन् । हाम्रो जस्तो देशमा शिक्षाका लागि भौतिक निर्माणमा लगानी गरि पाठ्यक्रम उनीहरुको शर्तमा तय गराइएको हुन्छ ।

वर्तमान महामारीको समयमा देखिएको शैक्षिक अराजकता, निष्कर्मण्यता यसैको परिणाम हो । उनीहरू आफ्नो देशमा त्यस प्रकारको भयङकर महामारीको बिचमा पनि शिक्षालाई निरन्तरता दिइनै रहे ।

हाम्रो देशमा डर र त्रास देखाएर एउटा पुस्तालाई नै अपाहिज बनाउने प्रयास भई रहेको छ । यातायात, मालपोत, कर कार्यालय, जुलुस सभामा दैनिक रूपमा सयौँको भिड देखिन्छ तर विद्यार्थीलाई एक बेन्चमा एकजना राखेर गर्नलागेको परिक्षाहरू रातारात स्थगित गरिन्छ जवकि समन्धित निकायका जिम्मेवार व्यक्तिबाट यसको आपत्ति दर्शाएको समाचार–मिडियाबाट सुनिन्छ ।

हामी उनीहरूको रणनैतिक योजनामा ललीपपसित रमाउन थालेका छौँ । शैक्षिक उपहारको नाममा फरक फरक लालिपप दिँदै र लिँदै गर्दा हामीले हाम्रो आउँदो पुस्तालाई इतिहासरहित संस्कृतिविहीन मानव पुस्तामा थाहै नपाई रुपान्तरित गर्दै छौँ । जव यो पुस्ता उपेक्षित हुने छ, हामी इतिहासमा कलङ्कित हुनेछौँ । पश्चाताप बाहेक केहि बाँकी रहेदैन् यद्यपि हामीसित कुतर्क गर्ने प्रशस्त आधारहरू हुन सक्छ ।

एउटा इसाई कहानी छ ,

चर्च जीर्ण भएको थियो । कुनै पनि बेला ढल्न सक्थ्यो । पादरीहरूको समितिले ३ वटा निर्णय गरेछ ।

१) यस चर्चलाई जग देखि नै भत्काउने ।
२) यस चर्चका सट्टा यसै ठाउँमा अर्को आधुनिक सुविधा सम्पन्न चर्च बनाउने
३) नयाँ चर्च बनाउन कम्तीमा एक वर्ष लाग्छ । यस अवधिमा पूजा अर्चना निरन्तर गर्नु पर्ने भएकोलेनयाँ चर्च नबनुन्जेल सम्म पुरानै चर्चमा पूजा अर्चना जारी राख्ने ।

देशको धर्म हुन्छ ?

जिब्रोनचपाइकन भन्ने हो भने अवश्य हुन्छ । किनभने भौगोलिक अवस्थाले त्यहाँको हावापानी, होचो अग्लो, तातो चिसो, उर्वर–सुखा बन जंगल नदी नाला इत्यादिले जीवनका सबै आयाम तय गरेको हुन्छ । लवाइ, खवाइ, रहन–सहन र सामाजिक मूल्य–मान्यता स्थापित भएको हुन्छ ।

यसवाट परिवार, समाज र त्यसले स्थापित गरेको विश्वासको आधारमा पूजा–अर्चना वा धर्म–संस्कृति प्रचलनमा आएको हुन्छ । यसलाई नै हामी इतिहास र हाम्रो परम्परा भनेर पहिचान बनाउने गर्दछौँ । उदाहरणको रूपमा ग्रेट व्रिटेनलाई लिन सकिन्छ । म करिव ७ वर्ष त्यहाँ बसेको छु ।

गाउँ सहर घुमेको छु । नजिकबाट त्यहाँको परिवेश बुझ्ने प्रयास गरेको छु ।हामीले मान्नै पर्छ कि उनीहरूभन्दा आधुनिक हामी हुनै सक्दैनाँै । त्यहाँ आफ्नो संस्कृति र धर्मलाई आजपनि उत्तिकै प्राथमिकतामा राखिएको छ ।

त्यहाँकी महारानी इसाई धर्मकी संरक्षक हुन् । संसदको उपल्लो सदनमा इसाई धर्म र संस्कृतिका विशिष्ट व्यत्तित्वहरूबाट २६ जनालाई मनोनित गरिन्छ । तर हामी अल्पज्ञानीहरू आफूलाई बेच्दै छौ र हाम्रो भविष्यको पुस्ताहरूलाई शैक्षिक उपनिवेशको चङ्गुलभित्र धकलिरहेका छौँ ।

 

यस लेखको मुल आशय ः

शिक्षालाई नाङ्लामा वा घुम्तिमा राखेर व्यवसाय गर्नेलाई नथुरौँ । जहाँबाट जति सम्भव हुन्छ पहुँचको विस्तार गरौँ । “२० जना बालबालिकाले खान पाएर के गर्ने ? ८० जना भोकै छन् भनेर ति २० जनालाई पनि भोकै मार्ने मुर्ख र अविवेकी तर्क गर्न छाडौँ ।”नेपालको वर्तमान परिवेशमा परीक्षा प्रणालीलाई मर्यादित र सक्षम बनाऔँ किनभने विकसित देशको परीक्षा प्रणाली नेपालको वेरोजगार र अपरिपक्व समाजमा लागु गर्दा घातक सावित हुन सक्छ ।

१) हाम्रो देशमा व्यावहारिक शिक्षा त छँदै छैन भने पनि हुन्छ । सिर्फ मार्कसिटको लागि अध्यापन हुने गरेको देखिन्छ । वर्तमान दुई शैक्षिक सत्रको एसईई नतिजा र कक्षा ११ को परीक्षा प्रणालीमा आएको परिवर्तन आदि यसको राम्रो उदाहरण हो । आश्चर्य त के लाग्छ भने कक्षा ११ सम्म वर्तमान परीक्षा प्रणालीमा कोही फेल नै हुदैन भने पनि हुन्छ ।

चलाख भनिने विद्यार्थी चोरेर, सारेर पास गर्न सक्छ भने सोझो भनिने विद्यार्थी उसको अनुशासन, हाजिरी, कक्षा कार्य, गृहकार्य …ले पास गर्न सक्छ । किनभने ४५ माक्र्स यस्तै यस्तैमा प्राप्त गर्न सक्ने कार्यविधि बनाएको छ । शिक्षालाई नैतिक शिक्षामात्र बनाउन खोजिएको जस्तो आभास हुन्छ ।

अभिभावकलेएउटा यु.के.जी वा प्राइमरी पढ्ने छोराछोरीको मार्कसिटमा आएको उत्कृष्ट अङ्क पोष्ट गर्नुहुन्छ । त्यसको ठाउँमा उसको विश्वास, बानी व्यहोरा तथा सृजनाहरू पोष्ट गरिदिए अरुबालबालिका पनि कति उत्प्रेरक हुने थिए होलान्?

२) अभिभावकहरू कक्षा फड्काउन विद्यालयलाई दबाब दिनुहुन्छ । सम्बन्धित विद्यालयले मानेन भने अर्को विद्यालयमा लगेर भर्ना गरिदिनु हुन्छ।जवकि विकसित देशमा शिक्षाको मापदण्ड विद्यालय, क्यम्पस र विश्वविद्यालयमा पढेको जम्मा दिन र वर्षहरू र परीक्षा नतिजालाई आधार मानिन्छ ।

शैक्षिक शत्र २०७७ मा ९ महिना र यस शैक्षिक सत्रमा ५ महिना र अरु कहिलेसम्म भन्न सकिँदैन, विद्यालयमा भौतिक कक्षा सञ्चालन हुनेछ भनेर । गत शैक्षिक सत्रमा हाम्रो विद्यालयमा करिव २०० जना विद्यार्थीहरू मङ्सिर सम्म कुनै पनि अनलाइन कक्षामा पढ्न आएनन् ।

तिनै विद्यार्थी पौष देखि फाल्गुनसम्म भर्ना भएर कक्षा उत्तीर्ण गरायौँ । जबकी हाम्रो विद्यालयमा बैशाख देखि नै अनलाइन कक्षा सुरु भएको थियो र प्रत्येक अभिभावकलाई एस.एम.एस., फोन, जुम मिटिङ्गबाट अवगत गराइएको थियो । कति अभिभावकले त(कलेज पढाउने, समाजमा लब्ध प्रतिष्ठित हुनुभएका समेत) पौष–माघ सम्म पढाउनु भयो ।

जव विद्यालयले बिल पठायो, अर्को नाङ्ले पसलेकोमा पढाउन लैजानु भयो । कतिले विद्यालयको शुल्क पछि तिर्छु भनेर शैक्षिक सत्र सकिएपछि अर्को विद्यालयमा लैजानु भयो । यस हिसावले शिक्षामा व्यापार सबै तहबाट भएको देखिन्छ ।

 

यसको जिम्मेबार पक्ष को ?

शैक्षिक सत्र २०७७ मा केही निजी विद्यालयहरूले सञ्चालन गरिएका अनलाइन कक्षाहरु बन्द गर्न लगाइयो । अनलाइन कक्षाको फि लिएमा कारवाहि गर्ने धम्की दिइयो । केही सहर प्रमुख खासगरी नीजि विद्यालयले बाहेक कक्षा सञ्चालन गर्न सकेको देखिएन । ‘विद्यालयको शिक्षा यात विद्यालयले नै जानोस् वा दैव जानुन् भन्ने अवस्थामा रहेको छ ।’यो देशमा अभिभावक सघं छ ।

शिक्षा सरोकारका निकायहरू केन्द्रदेखि स्थानीय तहसम्म क्रमिक रूपमा स्थापित अङ्गहरू छन् । विभिन्न तह र तप्काका शिक्षक संगठनहरू छन् । नीजि विद्यालयका संगठनहरू छन् यद्यपि व्यापारीको, शैक्षिक माफियाको आरोप खेप्नु पर्ने डरले चुप छन् ।

कुनै योजना र संवेदनशीलताको अभिव्यक्ति आएको छ ? सबैसँग बलियो तर्क पक्कै छन् । के तपाइँहरूको तर्र्कले आजका बालबालिकाको भविष्य उज्जल हुन सक्छ ? देशका १०–१५% अभिभावकका छोराछोरीले पढेर समाज र राष्ट्रको निर्माण हुन सक्छ ? याद, राख्नुहोस् यो प्रतिशत त विदेशी उपनिवेशका हनुमान हुनेछन् ।

अन्त्यमा, सम्पूर्ण सरोकार वालाहरूलाई विनम्र आग्रह गर्न चाहान्छु कि यदि तपार्इँ सरोकारवालाहरू देशलाई माया गर्नु हुन्छ, दिगो विकास चहानुहुन्छ ।

देशको इतिहास र सांस्कृतिक पहिचानलाई बचाउन चहानुहुन्छ भने राजनैतिक पार्टीका गुट उपगुटमा लागेर झोला नबोक्ने सहास गर्नुहोस् यदि तपार्इँ यस देशको सुपुत्र र सुपुत्री हो भने यो नयाँ पुस्तालाई कसरी सवल र सक्षम बनाउन सकिन्छ भनेर मनन गर्नुहोस् । छलफल गर्नुहोस् र कार्य योजना प्रस्तुत गर्नुहोस् ।
नेपाल आमाले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन् ।

(लेखक तारकेश्वर पुरानो गुह्रेश्वरीमा अवस्थीत सृजना ज्ञानसागर मा.विका प्रधानाध्यापक हुनुहुन्छ)

 

 

 

 

 

 


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #दाउपेच भित्रको शैक्षिक उदासिनता, #राजेन्द्र प्रसाद फुयाँल, #शिक्षामा व्यापारीकरण


तपाईको कमेन्ट लेख्नुहोस्