Techie IT
बिहीबार, मंसीर २३,२०७८

गुँला पर्व, शान्तिको महिमा !


साउने झरी रोकिने रोकिने बेला भएको छ । आकाश अलि सफा हुँदै छ । कतैकतै कालो बादल पनि देखिन्छ । कुनै बेला एक्कासि पानी परिहाल्छ तर छिट्टै रोकिन्छ । त्यसै अवधिमा एकाबिहानै नेवारी बस्तीबाट बाजासहितका भक्तजनहरू निस्केपछि बुझिन्छ, अब गुँलापर्व सुरू भयो ।

काठमाडौं उपत्यका र नेवार समुदायको बस्तीमा गुँला पर्व मनाइन्छ । नेवार समुदायको पनि विशेषतः बौद्ध धर्मालम्वी शाक्य, बज्राचार्य र मानन्धरहरूले यो पर्व मनाउने गर्छन् । बर्खाका बेलामा भगवान् बुद्ध र उनका शिष्यहरू ज्ञानको प्रचारका लागि निस्कँदैनथे । अहिले पनि बुद्ध धर्मालम्बीहरू यस बेलामा एकै स्थानमा बसेर धर्मको चर्चामा व्यस्त हुन्छन् । त्यसैले उनीहरू यस पर्वलाई ज्ञान दिने र लिने स्वर्णिम अवसरका रूपमा मान्छन् । यो पर्व गुँला महिलनाभरि चल्छ ।

नेपाल संवतका कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुँला, ञला, कौला महिनाहरू हुन्छन् । विक्रम संवतको साउन–भदौमा पर्ने गुँला महिना श्रावण शुक्ल पक्षको प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म पर्छ ।

काठमाडौं सहरको इतिहास मञ्जुश्रीसँग जोडिएको छ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको हो । उनैबाट चैत्य सेवाको पनि प्रारम्भ भएको थियो र पछि यसले नै गुँला पर्वको रूप लिएको भनाई छ ।

नेवार बस्तीमा श्रावण शुक्ल प्रतिपदादेखि गुँला संगीतको ध्वनि सुनिन्छ । गुँलापर्वको अवसरमा विशेष गरी धाः बाजा बजाउने गरिन्छ । यो बाजामा देब्रेतिर बेतको सानो लौरी र दाहिनेतिर हातले बजाइन्छ । पछिल्लो समय बाँसुरी, धिमे, भुुस्या, दमोर्खो र न्याकु बाजा पनि बजाउन सुरु भएको छ । न्याकुँ बाजा राँगाको सिङबाट बनाइएको हुन्छ ।

गुँलापर्वका बेलामा प्रत्येक दिन नुहाउने र सफा वस्त्र लगाएर शुद्ध हुने गरिन्छ । यस महिनाभर मासु, अण्डा, लसुन र प्याज खान बर्जित छ । भक्तजनहरू शुद्ध भएर गुम्बा, मन्दिर, धार्मिकस्थलमा बाजागाजासहित पुग्ने र घुम्ने गर्छन् । काठमाडौंका नेवार समुदाय यस बेलामा स्वयम्भूको दर्शन गर्न जाने गर्छन् । यसरी घुम्दा पापबाट मुक्ति पाइन्छ भन्ने विश्वास गरिन्छ । बौद्धस्थलमा घुम्नाले एक आपसमा सद्भाव, मनमा शान्ति र पारिवारिक सुख अभिवृद्धि हुने जनविश्वास छ ।

यस अवधिमा काठमाडौको असनमा बहिद्यः प्रदर्शन गरिन्छ । ललितपुरमा मत्याः जात्रा चल्छ । यस बेलामा थहिंटीको स्वर्णक्षर मन्दिरको अवलोकन गर्ने चलन छ ।

यस पर्वमा विधिवत रूपमा पूजा गरी ल्याइएको कालो माटोले ससाना स्तुपा बनाउने गरिन्छ । काठमाडौं र ललितपुरमा भगवान् बुद्धको प्रतिमा राखेर खट (खाट) लाई बोकेर घुमाउने र चामल दान लिने पनि चलन छ । यो बौद्ध धर्मसँग सम्बन्धित भएकाले दान गर्नुलाई शान्तिको प्रतीकका रूपमा लिइन्छ ।

गुँलापर्व कहिलेबाट सुरु भएको भन्ने एकिन छैन । भाषा बंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ ।

गुँलापर्वको अवसरमा धलँ पनि मनाइने गरिन्छ । त्यसैले यसलाई गँलाधलँ पनि भनिन्छ । स्वयम्भू पुराणमा उल्लेख भएअनुसार गुँलाधलँ पृथ्वीबासीको हित, सुख, शान्ति र दैवी प्रकोप नहोस् साथै अन्नबाली वृद्धिको कामना राखेर धलँ राख्ने गरिन्छ ।

यो पर्व लोपोन्मुख हुँदै गएकाले यसपालि भक्तपुर साःकोला टोलका मानन्धर समुदायले धलँको आयोजन गरेका छन् । पर्वलाई लोप हुन नदिन र विश्वलाई कोरोना भाइरसको महामारीबाट मुक्ति दिनका लागि सात वर्षपछि धलँको आयोजन गरिएको हो ।

धलँको अवधिभरमा सवा लाख चैत्य निर्माण गरिन्छ । लक्ष्यसहितको चैत्य बनाउनाले रोगव्याधीबाट मुक्ति मिल्ने, दिवंगत आत्माले चिरशान्ति पाउने र देशमा शान्ति छाउने विश्वास गरिन्छ ।

यस अवधिमा बनाइएका चैत्यलाई अन्तिम दिनको यज्ञमा होम गरी नदीमा लगेर विसर्जन गर्ने परम्परा छ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #गुँला पर्व


तपाईको कमेन्ट लेख्नुहोस्