Techie IT
मंगलबार, साउन १९,२०७८

भाइरसबाट बच्न मानिस कसरी लुके भन्ने कथा पुस्तौपुस्ताले सम्झिने छन्

एकबारको जीवनलाई प्रेम गर्नुस : दिपेन्द्र बान्तावा


यस पटकको लकडाउन वार्तामा पत्रकार दीपेन्द्र वान्तवा ।

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?

पेशाले कन्फिडेन्स डाउन हुनै दिदैन। जब जब संकट र घटना दुर्घटना हुन्छन् तव पत्रकारको सक्रियता र जिम्मेवारी झन् बढ्छ। जस्तोसुकै परिस्थितिमा पनि पत्रकार सुचना प्रवाहमा लागिरहन्छ नै । भैरहेको जब्बर अवस्थालाई पाठक दर्शकमा प्रेसित गर्नु पर्ने चुनौतीमा पत्रकार सदैव तयार रहन्छ । अहिलेको लकडाउनमा पनि मेरो मात्र होइन, प्राय पत्रकारको कन्फिडेन्स उच्च नै छ भन्ने लाग्छ ।

दिनहरु कसरी बित्दै छन् ? 

सामान्यतया घर-अफिस-घर नै हो । घरमा अलिक बढी समय दिन पाइएको छ । पत्रकारको सबेर घरबाट निस्केर अवेर घर पुग्ने परिपाटीमा विराम लागेको अवस्था हो। एउटा निश्चित र सामान्य समयतालिकामै दिन समेटिएको छ । यसका अलावा कार्यालयमा भने समाचारका प्रस्तुतीहरुमा केन्द्रीत भएरै दिनहरु वितिरहेको छ ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?

यसपाला अलिक हरेक कुराले हल्का बसिएको छ । यस पटक म आफै कोभिडको संक्रमणमा परे । १५ दिन बढी त होम आइसोलेसनमा रहे । यो समय मेरा लागि स्मरणिय रह्यो। पुस्तकहरु पढे। सिनेमा हेरे। योगा र शारिरिक अभ्यास सुरु गरे । परिवारसग क्वालिटि समय व्यतित गर्न पाए ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?

अघिल्लो वर्ष अलिक आतंकित बनाउने किसिमको थियो । एकैचोटी घरभित्र महिनौ थुनिनु पर्ने अवस्थालाई आत्मासात गर्न मानिसलाइ कठिन भयो । लकडाउनको औचित्य र प्रभाव पुष्टी हुन सकेको थिएन । अलिक बढी अन्यौल र सबै कुरा ठप्प हुदा जीविकोपार्जनैमै असर पुग्ने त्रासले घर गरेको थियो । अहिलेभने त्यो अवस्था रहेन । संक्रमणको चेनब्रेकका लागि लकडाउन आवश्यक थियो। सबैले यसको मोडालिटिलाइ स्विकार गरे। सबै तयार र सजग थिए । हाउगुजी रहेन । सबै कुरा ठिकठाक नै चले ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ? 

यो पटकको कोभिडको भेरियण्ट अलिक खतरनाक खालको देखियो। निमोनिया हुने र अक्सिजनको अभावमा ज्यानै जाने घटनाले मृत्युदर ह्वात्तै बढ्न पुग्यो । त्रासदी छाउन पुग्यो। अघिल्लो पटक कमै साथिभाइ र छिमेकमा देखिएको थियो संक्रमण । र उ बेला संक्रमणले खासै फरक परेको थिएन । तर यो पटक भने छिमेक र साथिभाइ नै संक्रमणबाट गुमाउन पुग्यौ । धेरै साथि र आफन्तलाई अस्पताल पुर्याउन पर्यो । परिवारमै संक्रमण देखियो । निकै गाह्रो समय रह्यो ।

यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?

नेपाल भित्रकै केहि पर्यटकिय गन्तव्यचाहि पुग्ने योजना थियो । समयले त्यो हुन दिएन । संसारै महामारीको चपेटामा परेको बेला केहि बर्ष विदेश घुमघामको त कुनै सोच थिएन ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ? 

भाइरसबाट बच्न मानिस कसरी घरभित्र लुके भन्ने कथा पुस्तौ पुस्ताले सम्झिने छन् । संसारकै प्राणी जगतको उच्च मानवजातीले जीउन कति संघर्ष गर्नुपर्छ भन्ने कुराको यो एक उदाहरण हो । संघर्ष, संयमता मानिसको अहम योग्यता हो । लकडाउनले यि कुरा सिकाएको छ । यसरी नै यो समयलाई सम्झन्छु होला ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?

संक्रमण रोक्न लकडाउन एउटा प्रभावकारी विधि हो भन्नेमा सहमत छु । कुनै औषधी, खोपको पूर्ण उपलव्धता नहुदासम्म त यसको विकल्पै नै छैन । भाइरस फैलनुबाट रोक्न त लकडाउन नै त हो । मानव जीवनभन्दा ठूलो अरु केहि हुन सक्दैन । त्यसैले लकडाउन नै सम्पूर्ण समाधान होइन तर आधारभुत विकल्प भने हो ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?

धेरै आफन्त, मित्रहरुको मृत्यु नजिकबाट देखियो । आइसियु र भेण्टिलेटरमा बाच्न भएको संघर्ष, बेड पाउन गरिएको दौडधुप, सिलिण्डरमा अक्सिजन भर्न घण्टौ लाइनमा बस्नुपर्दाको पीडा महसुस गरियो । यी समय निकै पीडादायी रह्यो । यो पटक धेरैले यो भोग्नु भएको छ । यस्ता दुखद क्षणहरुको अनुभवले जीवनदृष्टीमा निकै ठूलो परिवर्तन ल्याएको छ । हरेक पल जीउनु जीवन हो । आनन्दले श्वास फेर्नु नै उत्सव हो ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?

भविष्य अनिश्चित छ । तर, पनि अहिले स्वास्थ्यलाई ख्याल गरे भविष्यमा रोगव्याधीबाट हुने दुख पीडा कम हुन्छ होला जस्तो लाग्छ । स्वास्थ्य नै धन हो । एकबारको जीवनलाई प्रेम गर्नुस् । सकारात्मक रहनुस् । बाकि सबै लयमा आउने नै छ ।

नेपालनाम्चा डटकमबाट साभार …………………….

 


क्याटेगोरी : tags, जीवनशैली, विचार/बहस, विशेष, स्वास्थ्य
ट्याग : #दिपेन्द्र बान्तावा, #नेपालनाम्चा, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्