Techie IT
बुधबार, असोज १४,२०७७

नेताका अन्धसमर्थक र उग्र विरोधीले कहिल्यै पार्टी बनाउँदैनन्  : नारायणकाजी श्रेष्ठ


कठघरामा नारायणकाजी श्रेष्ठ :

अभियोग १ : नेकपाको प्रवक्ता पदबाट उत्तेजनामा राजीनामा दिनुभयो । नेताहरूले फकाएजस्तो गरेपछि भूमिकामा फर्कन तयार हुनुहुन्थ्यो । तर, पत्रिकामा समाचार आएपछि तपाईंलाई दबाब भयो । त्यसैले मिडियामा समाचार आएपछि दुःखी हुनुहुन्छ ।

हिलो कुरा त उत्तेजनामा आएर राजीनामा दिएको भन्ने नै सही होइन । पार्टीभित्र जुन प्रकारका दृष्टिकोण, विचारहरूका बीचमा बहस भयो, त्यसैका बीच मैले राजीनामा दिएको हुँ । त्यसकारण उत्तेजित भएर आवेगमा आएर राजीनामा दिएको भन्ने कुरा सत्य होइन । दोस्रो, राजीनामा दिएपछि १० दिनसम्म सुनसान नै थियो, चुपचाप नै थियो । यसबीचमा कसैले मलाई राजीनामा फिर्ता लिनुपर्छ भनेर कुरा गरेको र मैले त्यस्तो मनस्थिति बनाएको पनि होइन । १० दिनपछि जब यो घटना सार्वजनिक भयो, त्यसपछि फर्कने मनस्थिति बनाएको भन्ने कुरा पनि सम्पूर्ण रूपले गलत हो ।

हो, घटना सार्वजनिक भएपछि मात्रै पार्टीभित्र छलफल भयो, योचाहिँ सत्य हो । त्यसपछि विभिन्न प्रकारका जिज्ञासा आए, सार्वजनिक रूपमा पनि बहस भए । त्यसबीचबाट घटनाक्रम अगाडि बढेको सही हो । तर, उत्तेजनामा आएर राजीनामा दिएको पनि होइन, मेरो मनस्थितिमा परिवर्तन आएको पनि होइन । राजीनामा दिनेवेलामा जस्तो मनस्थितिमा थिएँ, अहिले पनि त्यस्तै मनस्थितिमा छु ।

अभियोग २ : प्रचारमा रमाउनुहुन्छ । मिडियामा आउन जस्तासुकै हतकन्डा पनि अपनाउनुहुन्छ । पहिलो संविधानसभा विघटन हुने भयो भनेर २ दिनअघि नै प्रधानमन्त्रीनिवास बालुवाटारबाट निस्केर पत्रकारका अगाडि आँसु खसाल्नुभयो । तत्कालीन एमाले नेता माधव नेपालले त ग्लिसिरिन लगाएर आँसु निकालेको भन्दै कटाक्षसमेत गर्नुभयो ।

माधव कमरेडले त्यस्तो भन्नुभयो भन्ने कुरा सत्य होइन, सरासर झुठो हो । मलाई बुझ्नेहरूले तपाईंले भनेजसरी बुझदैनन् । म कर्ममा विश्वास गर्ने मान्छे हुँ । अर्काले के भनिदेलान् भन्ने आधारमा म काम गर्दिनँ । र, त्यस आधारमा आफ्नो कर्म निर्धारण पनि गर्दिनँ । त्यसकारण म सत्कर्ममा विश्वास गर्छु । प्रचारलाई महत्व दिन्नँ । तर, सही काम ठिक ढंगले जनतामा संप्रेषित हुनुपर्छ भन्ने ठान्छु । त्यसले सकारात्मक प्रभाव पार्छ ।

जहाँसम्म तपाईंले लगाएको आरोप छ, त्यो त सोह्रै आना गलत हो । त्यो ०५९ जेठ १२ को घटना हो । १४ गते पहिलो संविधानसभा विघटन भएको हो । त्यसवेला विभिन्न ढंगले प्रयत्न गर्दै हामीले संविधानसभाको कार्यकाल ४ वर्षसम्म तान्यौँ । तर पनि संविधानसभाबाट संविधान बन्ने सवालमा विभिन्न प्रकारका जटिलता, अवरोध भइ नै रहे बाह्य रूपमा, आन्तरिक रूपमा, राजनीतिक प्रवृत्तिगत रूपमा । अहिले यो विषयमा लामो व्याख्या गर्न चाहन्नँ । यस्ता तमाम अवरोध र जटिलताका कारण संविधान घोषणा गर्न अप्ठ्यारो स्थिति आयो ।

जब सर्वोच्च अदालतले ‘संविधानसभाको आयु अब थपिने स्थिति छैन’ भन्यो, त्यसपछि हामी हरहालतमा संविधान जारी गरेर जाऔँ भन्नेमा लाग्यौँ । संविधानसभाबाट औपचारिक रूपमा घोषणा गरौँ, पछि व्यवस्थापिका संसद्का रूपमा त्यही संविधानसभा कायम हुन्छ र त्यहाँबाट आवश्यक परिमार्जन गर्दै वास्तविक संविधान बनाऔँला भनेर योजना बनायौँ । वा, सकिन्छ भने त्यसभन्दा अगाडि नै सबै विषयमा सहमति जुटाएर संविधान घोषणा गरौँ भन्नेमा लागेका थियौँ ।

तर, मैले जब १२ गतेसम्मका सबै प्रवृत्तिको छलफल नजिकबाट हेरेँ, त्यसबाट म यसपटक संविधानसभा बच्दैन, विघटन हुन्छ भन्ने निष्कर्षमा पुगेँ । त्यसदिन म पार्टीहरूबीच दिनभरि भएको छलफललाई मिडिया ब्रिफिङ गर्छु भनेर पत्रकारका अगाडि आएको थिएँ । बोल्दै जाँदा ‘यसपटक संविधानसभा विघटन हुँदै छ, बचाऔँ’ भन्ने भावमा प्रस्तुत हुन पुगेछु । र, एकप्रकारले मेरो भावना त्यतिवेला बाहिर प्रकट भयो । भएको त्यत्ति हो । त्यतिवेला मलाई विभिन्न पार्टीका मान्छे, नागरिक समाज, बौद्धिक सर्कलले पनि ‘तपाईंले सधैँ सही–सही नै विश्लेषण गर्नुहुन्थ्यो, तपाईंका राजनीतिक निष्कर्ष आएपछि यस्तै हुन्छ कि भन्ने लाग्थ्यो ।

तर, यसपटक १२ गते नै १४ गते संविधानसभा विघटन हुन्छ भन्नुभयो, दलहरूले जसरी पनि जोगाइहाल्छन् नि यसलाई । यसपटकचाहिँ तपाईंले गलत बोल्नुभयो’ भनेर भन्नुभयो । तर, अन्ततः १४ जेठको राति संविधानसभा विघटनको अवस्थामा पुग्यो । त्यसकारण म कुनै पनि कुरा सत्य हो कि होइन, ठिक हो कि होइन भन्ने आधारमा विचार प्रकट गर्छु, अरू कुनै कुरालाई म ध्यान दिन्नँ । यो विषयमा माधव कमरेडले त्यस्तो टिप्पणी गर्नुभयो भन्ने कुरा त म दोहो-याएर गलत हो भन्छु ।

अभियोग ३ : पद र प्रतिष्ठाका लागि वेलावेलामा सम्झौता गर्नुहुन्छ । सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनमा बिताएका वृद्ध नेता मोहनविक्रम सिंहले त तपाईंलाई ‘राजनीतिक व्यापारी’ भनेर समेत टिप्पणी गरे । एउटै पार्टीमा रहेर तपाईंसँग काम गरेको ४ वर्षको अवधिलाई उनले ‘जीवनको सबैभन्दा खराब समय’ भएको निष्कर्ष निकाले ।

कमरेड मोहनविक्रम सिंह मेरा लागि आदरणीय नेतृत्व हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनमा उहाँको निरन्तरता, अध्ययनशीलता, सक्रियता एकदमै राम्रो छ । उहाँबारे म कुनै टिप्पणी गर्न चाहँदिनँ । तर, उहाँले नै यो कुरा भन्नुभयो भन्नेमा मलाई शंका छ । आफैँले लेख्नुभएको कुनै लेखमा वा अन्तर्वार्तामा उहाँले यस्तो भनेको मलाई थाहा पनि छैन । उहाँलाई कोट गर्दा यस्तो कुरा आएको सन्दर्भमा एकपटक मैले ‘मोहनजीसँग भेट्न चाहन्छु’ भनेर चित्रबहादुर केसीजीसँग भनेको पनि थिएँ । त्यसपछि उहाँसँग सन्दर्भवश भेट त भयो, तर यही विषयमा कुरा गर्ने गरी भएको छैन ।

कमरेड मोहनविक्रमसँग एउटै पार्टीमा सहकार्य गर्दा खाली वैचारिक राजनीतिक मतभेदबाहेक अरू केही पनि विवाद हामीबीच रहेन, थिएन । उहाँ महामन्त्री हुनुहुन्थ्यो, म सहमहामन्त्री थिएँ । त्यतिखेर मुख्यतः दुईवटा कुरामा हाम्रो मतभेद केन्द्रित थियो । एउटा, संविधानसभा आजको संकटको निकास हो कि होइन र यो क्रियात्मक नारा हो कि होइन भन्नेमा । मैले ‘यो क्रियात्मक नारा हो र संकटको निकास हो’ भनेँ । उहाँले ‘यो प्रचारात्मक मात्रै हो, अहिले संविधानसभाको काम छैन’ भन्नुभयो ।

अर्को मतभेद ‘तत्कालीन नेकपा माओवादीसँग कार्यगत एकता गर्न मिल्छ कि मिल्दैन’ भन्नेमा थियो । ‘सामन्तवाद र साम्राज्यवादविरुद्धका मुद्दामा वा प्रतिक्रियावादविरुद्धका मुद्दामा जहाँ हाम्रो समानता हुन्छ त्यहाँ कार्यगत एकता गर्न हामी तयार हुनुपर्छ’ भन्ने मेरो दृष्टिकोण र लाइन रह्यो । उहाँले ‘माओवादीसँग कार्यगत एकता गर्न सकिन्न’ भन्नुभयो । यी दुईवटा कुरामा मतभेदबाहेक हाम्रो कुनै व्यक्तिगत वा अरू कुनै प्रकारको कटुताको स्थिति रहेन । यसकारण उहाँले यो कुरा भन्नुभएको होला भन्नेमै मलाई शंका छ । भन्नुभएकै रहेछ भने त्यो उहाँको कुरा भयो, त्यसमा म थप टिप्पणी गर्न जरुरी ठान्दिनँ ।

अभियोग ४ : पार्टी फरक भए पनि सशस्त्र द्वन्द्वका वेला सधैँ माओवादी अध्यक्ष प्रचण्डको निकट सम्पर्कमा रहनुभयो । बाहिरबाट मात्रै होइन, कार्यकर्ता तहबाटै पनि तपाईंमाथि माओवादीबाट पैसा लिएरै पार्टी चलाएको आरोप लाग्यो ।

कार्यकर्ता तहबाटै आरोप लाग्यो भन्नु नै असत्य हो । एउटा कुरा सत्य केचाहिँ हो भने मैले नेतृत्व गरेको पार्टी र नेकपा माओवादीबीच वैचारिक राजनीतिक मतभेद भयो, तर व्यक्तिगत र पार्टीगत रूपमा हामी नजिक थियौँ । मतभेद भएर पार्टी छुट्टिए पनि हामी दुवैले (आफू र प्रचण्ड) बारम्बार सार्वजनिक गरेका छौँ कि– हामी रोएर छुट्टिएका हौँ । हाम्रो वैचारिक राजनीतिक निष्कर्ष तत्काललाई मिलेन । विशेषतः तत्कालीन राजनीतिक कार्यनीतिमा हाम्रो मतभेद भयो । तैपनि, हामीबीच कम्युनिस्ट आन्दोलनका माध्यमबाट गुणात्मक परिवर्तन गर्न चाहने क्रान्तिकारी स्प्रिटमा समानता छ । यति हुँदाहुँदै पनि तत्कालीन राजनीतिक कार्यनीतिमा सहमति भएन । त्यसकारण त्यतिखेर एउटै ठाउँमा बस्ने अवस्था भएन । तर, क्रान्तिकारी स्प्रिटमा समानता भएका कारणले जे कुरा सत्य हुन्छ, त्यसलाई भोलि आत्मसात् गर्ने तत्परता देखाऔँ, अर्को कालखण्डमा फेरि एकता पनि हुन सक्छ भनेर छुट्टिएका हौँ ।

क्रान्तिकारी स्प्रिटमा भएको समानताका कारणले हाम्रो पार्टीमा फुट भएपछि र उहाँहरूले जनयुद्ध सुरु गरिसकेपछि पनि हाम्रा बीचमा सम्पर्क र सधैँ घनीभूत रूपमा छलफलको स्थिति कायम रह्यो । त्यो कायम रहेकै कारणले हामी पछिल्लो अवस्थामा शान्तिप्रक्रियामा आउने सन्दर्भमा पनि गम्भीर छलफल गरेर यो ठाउँमा आउन सफल भएका हौँ । अरू आरोप सर्वथा गलत हुन् । मलाई नजिकबाट बुझ्नेहरूले त्यस्तो कुराको सामान्य चर्चा पनि गर्न सक्छन् जस्तो मलाई लाग्दैन । किनभने मेरो मुख्य बल भनेको नैतिक मूल्यमा छ ।

अभियोग ५ : तत्कालीन एकता केन्द्र र माओवादीको एकीकरण प्रक्रिया आफ्नो पद सुरक्षित गरेर टुंगो लगाएको आरोप पार्टीभित्रैबाट लाग्यो । नेता अमिक शेरचनले त सार्वजनिक रूपमै यस्तो आरोप लगाए ।

योभन्दा झुठो आरोप अरू केही हुन सक्दैन । किनभने हाम्रो पार्टी एकता सिद्धान्तनिष्ठ एकता थियो । के–के सहमति हो, के–के मतभेद छन्, सुरुमा त्यसको दस्तावेज तयार गरेर पार्टीका तल्ला कमिटीहरूसम्म छलफल चलायौँ । हाम्रो पार्टीको एकतासम्बन्धी छुट्टै राष्ट्रिय सम्मेलन ग-यौँ । त्यो सम्मेलनबाट कुन–कुन आधारमा पार्टी एकता गर्ने भन्ने पारित गरेर, अनि साझा दस्तावेज तयार गरेर पार्टी एकताको आधार तयार गरिएको हो । त्यसपछि बल्ल पार्टी एकता भएको हो । पदीय कुराचाहिँ धेरै गौण हुन् र ती कुराले छलफलमा ठाउँ नै पाएनन् । त्यसकारण यो आरोपमा सत्यता छैन ।

अभियोग ६ : गुटमा रमाउनुहुन्छ । आफ्नो पक्षमा रहेका वा आफूलाई मनपर्ने नेता–कार्यकर्तालाई पटक–पटक पदमा पु-याउन जस्तोसुकै जोखिम पनि मोल्नुहुन्छ । तर, गुटलाई साँघुरो घेराबाट कहिल्यै फराकिलो बनाउन सक्नुहुन्न ।

यो पनि सरासर गलत हो । किनभने मैले सैद्धान्तिक र नीतिगत रूपमै पार्टीभित्र विचार समूह के हो ? गुट के हो ? अन्तरसंघर्ष कसरी सञ्चालन गर्नुपर्छ भनेर प्रस्ताव पेस गर्ने र त्यसका निम्ति निरन्तर आवाज उठाउने गरेको छु । जस्तो, हाम्रो पार्टी नेकपा एकता केन्द्र जतिखेर फुटेको थिएन, त्यतिखेर नै मैले ‘पार्टीको विस्तारित बैठकमा भिन्न मतको प्रस्तोताका तर्पmबाट विचार समूह हुन सक्छ, विचार समूहले अस्तित्व पाउन सक्छ, विचार समूहको भूमिका हुन सक्छ, तर गुट हुनुहुँदैन’ भनेर औपचारिक रूपमै लिखित प्रस्ताव पेस गरेको थिएँ ।

कुनै सिद्धान्तको प्रश्नमा, राजनीतिक लाइनको प्रश्नमा, कार्यनीतिहरूमा शृंखलाबद्ध मतभेद भयो भने त्यसले पार्टीभित्र विचार समूह बनाउँछ । कुनै एउटा खास इस्युमा मात्रै मतभेद भयो भने त्यसले विचार समूह बनिहाल्दैन । त्यसमाथि कम्युनिस्ट पार्टीमा सामान्यतया विचारमा मतभेद हुन सक्छ, त्यो निरन्तर हुन सक्छ र अन्तरसंघर्ष भइराख्छ । त्यो अन्तरसंघर्ष स्वस्थ र रूपान्तरणमुखी हुनुपर्छ । त्यसले पार्टीलाई अझ बढी परिमार्जन गर्छ र रूपान्तरणको प्रक्रियामा पनि लैजान्छ । तर, सधैँ विचार समूह हुन्छ भन्ने होइन । त्यो विचारात्मक सम्बन्धमा चाहिँ स्थायी शिविरबन्दी हुनुहुँदैन सच्चा कम्युनिस्ट पार्टीभित्र ।

जब पार्टीभित्र विचारमा शृंखलाबद्ध मतभेद हुन्छन्, सैद्धान्तिक कुरामा केही मतभेद देखियोे, राजनीतिक लाइनमा पनि मतभेद भयो, तत्कालीन कार्यनीतिमा पनि मतभेद भयो, सांगठनिक नीतिमा पनि मतभेद हुन थाल्यो भने त्यसले विचार समूहको रूप लिन्छ । पार्टीभित्र कहिलेकाहीँ यस्ता समूह देखापर्छन् । त्यसवेला विचार समूहको अस्तित्व र भूमिकालाई स्वीकार गर्दै हामीले भिन्न विचार समूहका बीचमा स्वच्छ वैचारिक बहसलाई प्रोत्साहित गर्नुपर्छ । र, त्यसलाई रूपान्तरणको प्रक्रियामा लैजानका निम्ति आवश्यक विधिबाट छलफललाई निष्कर्षमा पु-याउनुपर्छ भनेर मैले भन्दै आएको छु ।

जहाँसम्म गुटको कुरा छ, त्यो हरेक पार्टीका निम्ति विषवृक्ष हो । कम्युनिस्ट पार्टीमा त्यसले सबैभन्दा ठूलो समस्या पैदा गर्ने गरेको छ । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि छ र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि । म गुटको पक्षमा कहिले पनि छैन । गुटले छुट्टै केन्द्रीयता सृष्टि गर्छ, अपारदर्शी हुन्छ । गुट स्वार्थकेन्द्रित हुन्छ । र, तलदेखि माथिसम्म पार्टीको केन्द्रीयता होइन, छुट्टै आफ्नो केन्द्रीयता लागू गर्छ । तलदेखि माथिसम्म एउटा केन्द्रीयता पैदा गरेर पार्टीमा के–कस्ता कुरा राख्ने भनेर निष्कर्ष निकाल्छ । त्यसरी पार्टीमा गएपछि स्वस्थ बहस नै हुन पाउँदैन । त्यसकारण गुटको पक्षमा म कहिल्यै पनि छैन । गुटले पार्टीलाई एकता, संघर्ष, रूपान्तरण र अझ मजबुत एकतातर्पm लैजाँदैन भन्ने मान्यता राख्छु । हामीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएका छौँ । म अहिले पनि भनिराखेको छु, अब पार्टीमा वैचारिक बहस, छलफल, संघर्ष, रूपान्तरणको प्रक्रिया तीव्र पार्नुपर्छ । त्यो आवश्यक छ, तर हामीले अस्वस्थ, स्वार्थी, सत्तालोलुप गुटहरूको अस्तित्वलाई प्रोत्साहित गर्नुहुन्न । पूर्वमाओवादी, पूर्वएमालेभित्रका पूर्वगुटहरू वा अब दुवैबाट नयाँ समीकरण बनेर अवैचारिक र पार्टी, सत्ता स्वार्थकेन्द्रित गुटहरू बन्नु हानिकारक हुन्छ ।

अभियोग ७ : ढोँगी हुनुहुन्छ । निजी गाडी हुँदाहुँदै केही समयअघि सार्वजनिक यातायात चढ्न थाल्नुभयो । ‘नारायणकाजीको नाटक’ भनेर त्यतिखेर राजनीतिक वृत्तमै पनि टीकाटिप्पणी भए । केही समयपछि पार्टीले सुविधासम्पन्न अर्को गाडी उपलब्ध गराएपछि फेरि निजी गाडी नै चढ्न थाल्नुभयो । नाटक भनेर तपाईंबारे भएका टिप्पणीलाई सत्य साबित गर्नुभयो ।

त्यो बुझाइ नै गलत हो । केही वर्षअगाडिसम्म त हामी सार्वजनिक यातायातका साधन नै त प्रयोग गरिराखेका थियौँ । पछिल्लो समय पार्टीले उपलब्ध गराएको अवस्थामा, साथीभाइले उपलब्ध गराएको अवस्थामा निजी गाडी पनि प्रयोग गरिराखेका थियौँ । तर, मैले पछिल्लो समय एउटा आन्दोलनको रूपमा, पार्टीभित्र शुद्धीकरण अभियानको थालनीका निम्ति उत्प्रेरित गर्नका लागि, हाम्रा आर्थिक गतिविधि पारदर्शी बनाऔँ भन्ने सन्देश दिन सार्वजनिक यातायात प्रयोग गरेको हुँ । हामी कसरी चलिराखेका छौँ भन्ने कुरा पारदर्शी बनाऔँ भन्ने सन्दर्भमा मैले पार्टीभित्र त्यो एजेन्डा उठाएको हुँ । जुन दिन मैले सार्वजनिक यातायातको प्रक्रिया अगाडि बढाएँ, त्यो दिन ‘त्यो ठूलो कुरा होइन, हजारौँ, लाखौँ जनताले सधैँ सार्वजनिक यातायात नै प्रयोग गर्छन्, यसलाई ठूलो रूपमा नलिऔँ’ भनेर अपिल गरेको छु ।

अर्को कुरा, नेताहरूले निजी गाडी चढ्नै हुँदैन भन्ने मान्यताअन्तर्गत पनि त्यसो गरेको होइन । मैले हाम्रो पार्टीको रूपान्तरण आन्दोलनको सन्दर्भमा सहयोग होस् भनेर त्यस्तो गरेको हुँ । त्यसकारणले मैले त्यतिखेर कहिले पनि चढ्नुहुन्न भन्ने सैद्धान्तिक निष्कर्ष निकालेर छोडेको वा नेताहरूले निजी गाडी चढ्नु विलासिता हो भनेको पनि होइन । आवश्यकताले त्यो हुन सक्छ । तर, आवश्यकता भए पनि सकिएन भने जसरी नि चढ्नुपर्छ भन्नेचाहिँ गलत हो । आवश्यकता भनेर जे–जे गरिराखेका छौँ, त्यसको स्रोत के हो भन्ने पारदर्शी बनाउन पार्टीमा आवश्यक छ भन्ने सन्दर्भमा मैले सार्वजनिक यातायात चढेको हुँ । त्यसलाई हेर्नेरबुझ्ने मान्छेपिच्छे फरक भइहाल्छ । म त्यस्तो मान्छे कहाँ हुँ र, जसबारे कुनै टिप्पणी नै नहोस् ।

बुद्धले पनि बुद्धत्व प्राप्त गरिसकेपछि पनि कति धेरै आरोपका बीचबाट जीवन गुजार्नुपरेको थियो । लेनिनले पनि क्रान्तिपछि गोली खानुप-यो । महात्मा गान्धीले गोली खानुप-यो । म कुन मान्छे हुँ र ! मलाई केही पनि छैन यसमा । मैले जे ठिक ठानेको छु, त्यो गर्ने कुरा हो । पछिल्लोपटक मैले चढेको गाडी अध्यक्षले चढिरहनुभएको थियो । सरकारले जब अध्यक्ष कमरेडलाई गाडी उपलब्ध गरायो, उहाँले आफूले चढिरहेको गाडी मलाई दिनुभयो ।

अभियोग ८ : शिक्षा र स्वास्थ्यमा सबैभन्दा धेरै विकृति, लगानी र फाइदासमेत छ । यी दुईलाई कमाउ मन्त्रालय मानिन्छ । जब–जब तपाईंको समूहले सरकारमा अवसर पाउँछ, रोजाइमा तिनै मन्त्रालय मात्र पर्छन् । अमिक शेरचनदेखि गिरिराजमणि पोखरेल र धनीराम पौडेलसम्म पटक–पटक जति मन्त्री भए, सबै यी दुईवटामा केन्द्रित रहे ।

यही त समस्या छ हाम्रो । नेपाल बनाउन निकै कठिन छ भनेर मैले त्यसै भनेको होइन । हामीमा धेरै मानसिक दरिद्रता छ । हामी किन सरकारमा जाने भन्ने कुरा अहिले पनि मान्छेले बुझेका छैनन् । हामी अब पनि कमाउन जाने ? हिजो पनि त्यो दृष्टिकोण गलत थियो, अब त जनताले हजारौँको बलिदानपछि यत्रो ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । त्यसको एउटा मात्र उद्देश्य आफ्नो जीवन फेर्नु, समाज फेर्नु, नयाँ नेपाल बनाउनु हुन्छ । यो वेलामा पनि कति कमाउने ? कमाउ र नकमाउ पनि हुन्छ मन्त्रालय ? जनताका निम्ति सेवा गर्ने मन्त्रालय हुन्छ, बनाउनुपर्छ । त्यसकारण जहाँ विकृति, विसंगति छ, त्यहाँ त फेर्नु पो पर्छ । त्योचाहिँ कमाउ मन्त्रालय, त्यहाँबाट पैसा आउँछ, पैसा लिनुपर्छ भन्ने सोचले कहिले पनि नेपाल बन्दैन ।

जहाँसम्म तपाईंको आरोप छ, यसपालि गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएको अरू कसैले छानेर मात्र होइन । हाम्रा साथीहरूमध्ये शिक्षा मन्त्रालय कसलाई दिन उपयुक्त हुन्छ भनेर हाम्रा तत्कालीन अध्यक्ष कमरेड प्रचण्डसँग छलफल भयो । त्यसपछि प्रचण्ड कमरेडले केपी कमरेड र माधव कमरेडसँग बसेर शिक्षा मन्त्रालय कसलाई दिनु उपयुक्त होला भनेर सामूहिक रूपमा छलफल गर्नुभयो । किनभने शिक्षा अहिले निकै ठूलो चुनौतीको सँघारमा छ । अहिले स्थानीय तहलाई माध्यमिक शिक्षासम्मको जिम्मा दिइएको छ, तर कुनै प्रस्ट कन्सेप्ट छैन । त्यसकारण शिक्षा खत्तम भयो भने देश बर्बाद हुन्छ । विकृति, विसंगति पनि त्यत्तिकै छन्, ठिक ढंगले गाइडेन्स गर्न सकेनन् भने हामी बर्बाद हुन्छौँ भनेर गिरिराजमणि पोखरेल उपयुक्त हुन्छन् भनेर छानिनुभएको हो । त्यसकारण वास्तविकता एकातिर पन्छाएर आफ्नो जीवनलाई कमाउ र धन्दाबाहेकको सोच्दै नसोच्नेहरूले यस्तो आरोप लगाएका हुन् ।

अभियोग ९ : पार्टीभित्र सधैँ विपक्षी कित्तामा बस्नुहुन्छ । नेताहरूको विरोध गरेर दबाब सिर्जना गर्दै आफ्ना काम गराउनुहुन्छ भन्ने आरोप पनि तपाईंमाथि लाग्छ ।

म सम्पूर्ण रूपले जीवनलाई मुक्तियात्रा भन्ठान्छु । त्यस्तो दरिद्र सोचको वरिपरि बसेर म छलफल गर्न पनि रुचाउन्नँ । जीवन एउटा मुक्तियात्रा हो, त्यो मुक्तियात्रा त्यतिखेर मात्र सफल हुन्छ जब ऊ सत्यसँग एकाकार हुने प्रक्रियामा जान्छ, सत्यको साधनामा जान्छ । मेरा लागि राजनीति त्यही मुक्तियात्राको एउटा महत्वपूर्ण अंग हो । यसरी राजनीतिक यात्रामा लाग्नेहरूले त्यस्ता छुद्र आरोपका पछि अलमलिनु ठिक होइन, मलाई फुर्सद पनि छैन । मेरो रुचि पनि छैन । तपाईंले ठिक ठानेको कुरा गर्नुहुन्छ कि गर्नुहुन्न ? मुख्य कुरा त्यो हो । आफ्नो पार्टी सत्तास्वार्थका निम्ति वा पार्टीलाई भजाएर कुनै पद, राज्यको सत्ता वा सुविधा लिनका निम्ति ‘एसमा एस’ र ‘नोमा नो’ भन्ने प्रवृत्तिको म सधैँ आलोचक रहिआएको छु । कम्युनिस्ट हुनुको अर्थ ऊ आलोचनात्मक हुनु पनि हो ।

जो आलोचनात्मक चेतले युक्त हुँदैन, त्यो कहिल्यै कम्युनिस्ट हुन सक्दैन । माक्र्सवादलाई पनि आलोचनात्मक दृष्टिकोणले हेर्न सक्ने मात्र कम्युनिस्ट हुन्छ । त्यसकारणले आलोचनात्मक चेतले युक्त नहुने, नेताका अन्धसमर्थक र उग्र विरोधीले कहिल्यै पार्टी बनाउँदैनन् । त्यसैले म सधैँ आलोचनात्मक चेतले युक्त छु र निरन्तर म सहीलाई सही, गलतलाई गलत भन्छु । र, मैले वैचारिक राजनीतिक कार्यदिशालाई परिमार्जन गर्न सधैँ मुख्य नेतृत्वसँग छलफल गरेर त्यसमा योगदान गरेको छु । त्यो डकुमेन्टेड छ ।

व्यवहारले पनि के पुष्टि गर्छ भने हाम्रो लिडरसिपको पछिल्लो कुराकानी गर्नुहुन्छ भने कमरेड प्रचण्डका वरिपरि हिजो जनयुद्धकालमा पनि नजिक भएका कतिपय साथीले छोडेर जानुभयो । म मात्रै नेतृत्वको एउटा मुख्य टिमको सदस्य हुँ । निरन्तर आलोचनात्मक चेतसहित द्वन्द्व–संघर्षको प्रक्रियामा रहेँ । तर, उहाँको साथमा रहेँ । यसले के प्रमाणित गर्छ भने मैले आलोचना गरेँ, संघर्ष गरेँ तर मूलभूत रूपमा हाम्रो युनिटीचाहिँ रह्यो । म आज कुरा मिल्दा देउता हो भन्ने र भोलिपर्सि कुरा नमिल्दा राक्षस हो भन्ने पक्षमा कहिल्यै गइनँ । के गलत छ त्यसलाई सच्याउन सकियोस्, अझ बढी उन्नतस्तरको नेता बनाउन सकियोस्, आदर्श नेता बनाउन सकियोस् भनेर संघर्ष–एकतामा रमाउँछु । र, संघर्ष एकतालाई नै जीवन ठान्छु ।

अभियोग १० : बाबुराम भट्टराईसँग तपाईंलाई प्रतिस्पर्धाभन्दा पनि कुण्ठा छ । तपाईंले गोरखा २ बाट चुनाव लड्ने हठ गरेपछि बाबुराम भट्टराई चुनावी वाम गठबन्धनबाट बाहिरिने मात्रै होइन, पार्टी एकतामा आउने सम्भावना पनि ट-यो । यति ठूलो मूल्य चुकाएर पनि चुनाव तपाईंको पक्षमा आएन ।

बाबुरामजीलाई यति न्यून मूल्यांकन किन गरिदिने होला ? बाबुरामजी आपूmले गोरखामा टिकट पाउँछु कि पाउँदिनँ भनेर मात्रै वाम गठबन्धनको पार्टी एकीकरण प्रक्रियामा आउनुभएको हो भने त राम्रै भयो नि त । उहाँ वाम गठबन्धन गरौँ, अन्ततः कम्युनिस्टहरूलाई एकताबद्ध गरौँ भनेर आउनुभएको होइन, मैले टिकट पाउँछु कि पाउँदिनँ भनेर आउनुभएको हो भने त टाइममै चिनेर उहाँ गएको पनि त राम्रै भो भन्ने निष्कर्ष निकाल्नुपर्छ । एउटा परिस्थितिमा आउनुभयो, उहाँ जानुभयो । नेपाली नागरिकको हिसाबले उहाँलाई जहाँबाट पनि चुनाव लड्ने स्वतन्त्रता छ । चुनाव लड्न आउनुभयो, प्रतिस्पर्धा भयो । उहाँले चुनाव जित्नुभयो, मैले बधाई दिएँ । यसलाई सहज र स्वाभाविक रूपमा किन नलिने ? हो, संसद्मा दुवैजना आउन पाएको भए हुन्थ्यो भनेर शुभेच्छा प्रकट गर्नेहरू पनि धेरै छन् । ‘दुवैजना प्रतिभाशाली हुन्, दुवैको यो देशलाई आवश्यकता छ, योगदान पनि छ, दुवैजना एकै ठाउँबाट नलडेको भए पनि हुन्थ्यो’ भन्नेहरू पनि छन् । उहाँहरूलाई म धन्यवाद नै दिन चाहन्छु, त्यो प्रवृत्तिलाई र ती सबै सत्पात्रलाई । तर, विविध कारणले गर्दा स्थिति त्यस्तो बन्यो । त्यसलाई सम्मान नै गरौँ न । बाबुरामजीले चुनाव लड्न पाउनुहुन्न भन्न त मिल्दैन । मैले चुनाव लड्न पाउँदिनँ भनेर कसैले भन्न मिल्दैन । म त्यहाँबाट निर्वाचन लड्ने कुरा हाम्रा दुईजना अध्यक्ष कमरेडहरू र पार्टीको डिसिजन हो । त्यसकारण कुण्ठाले, मेरो हठले त्यहीँ गयो भन्ने कुरा सर्वथा गलत हो । तर, घटनाक्रमले धेरै कुराको पुष्टि गरेको छ, त्यो सबै घटनाक्रमबाट देखिन्छ ।

अभियोग ११ : तपाईंलाई पार्टी ठूलो कसरी बनाउनेभन्दा ठूलो पार्टीमा कसरी पुग्ने भन्ने चिन्ता थियो । त्यसैले एमाले–माओवादी एकीकरण प्रक्रिया टुंगोमा पुग्नुभन्दा पहिला नै ‘अरू आए आउँछन्, नआए मचाहिँ आउँछु’ भनेर एमाले नेताहरूसँग छलफल चलाइरहनुभएको थियो ।

यो शतप्रतिशत गलत कुरा हो । अझ, हजार प्रतिशत गलत हो । मैले सधैँ हाम्रो पार्टीभित्र, एमालेमा र वाम आन्दोलनमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्छ भनेर प्रस्ताव गरेँ । यो कुनै लुकेको कुरा होइन । एमालेका साथीहरूलाई अझ धेरै थाहा छ । मैले एमालेसँग कोठाभित्र गरेको कुरा हो र ? हाम्रो पार्टीभित्र बैठकमा मात्र राखेको कुरा हो र ? मैले भनेको छु, नेपाली कम्युनिस्ट आन्दोलनका हामी नेतालाई नेता भन्न पनि हिचकिचाहट हुनुपर्ने हो । भौतिक परिस्थिति यस्तो छ कि हामी मिल्यौँ भने नेपालको सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रिया अगाडि बढाउन सक्छौँ, वामपन्थीको नेतृत्वमा । त्यो प्रस्ट सम्भावना छ । तर, हामी नमिलेको कारणले प्रतिक्रियावादीहरूलाई त्यो अवसर दिइराखेका छौँ । देश गरिब बनिरहने र वामपन्थी आन्दोलन यति बहुमतको अवस्थामा हुँदाहुँदै पनि सामाजिक, आर्थिक रूपान्तरण नहुने स्थिति देखापर्दै छ भनेर मैले सैद्धान्तिकीकरण गरेको छु । त्यसको आवश्यकतामा म निरन्तर लागिपरिरहेको पनि छु । यस्तो वेला पनि यस्ता नीच आरोप लाग्छन् । मलाई यस्ता आरोप कसैले लगाउँछन् भन्ने लाग्दैन । बरु, मलाई ‘यो मान्छे सधैँ वाम एकताप्रति निष्ठावान् भएर वामपन्थीकरणका लागि निरन्तर लागिरह्यो, जस्तोसुकै आरोप खेपेर पनि देशको आवश्यकता वामपन्थी एकता नै हो भनेर लागिरह्यो, प्रयत्न गरिरह्यो’ भन्छन् ।

अभियोग १२ : एउटै पार्टीमा बस्दासमेत जिल्लावासी बाबुराम भट्टराईसँग तपाईंको कहिल्यै निकट र आत्मीय सम्बन्ध हुन सकेन । तर, तत्कालीन माओवादी अध्यक्ष प्रचण्डलाई घेराबन्दी गर्ने सवालमा भने बाबुराम सँगसँगै हिँड्नुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनको पार्टी पुनर्निर्माण, पुनर्गठन, अन्तरसंघर्षहरूको सिंहावलोकन हुँदै गर्ला । तर, बाबुरामजी र मेरो सम्बन्धबारे आवश्यकताभन्दा बढी नकारात्मक चर्चा छ । बाबुरामजी अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा हुनुहुन्न । कम्युनिस्ट मात्र होइन, उहाँ माक्र्सवादी आन्दोलनमा समेत हुनुहुन्न । उहाँले कम्युनिस्ट आन्दोलन र माक्र्सवाद छाडेर गइसक्नुभएको छ । त्यसकारण उहाँलाई लागेको कुरा गर्न उहाँलाई छुट छ र हामीले त्यसमा सम्मान नै गर्ने कुरा हुन्छ । तर, एउटा कम्युनिस्टका हिसाबले उहाँले गलत नै गर्नुभयो चाहिँ भन्छु म ।

उहाँ हिजो जुन प्रक्रियाबाट राजनीतिमा आउनुभयो, आमूल परिवर्तनको प्रक्रियामा आउनुभयो । हामी प्रारम्भदेखि नै छलफलमा थियौँ । र, वैचारिक राजनीतिक छलफलका निम्ति, नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति हाम्रो राम्रै सम्बन्ध रह्यो । त्यसकारण सम्बन्ध कटुताको स्थितिमा थियो, रहेको छ भन्ने कुरा सत्य होइन, हाम्रो व्यक्तिगत सम्बन्ध राम्रै छ । जुन–जुन वेला वैचारिक राजनीतिक मतभेद भयो, त्यसवेला खुलेरै आवश्यकताअनुसार छलफल पनि भएको छ, संघर्ष पनि भएको छ । तर, व्यक्तिगत सम्बन्धमा अरूले भनेजस्तो कटुताको स्थिति होइन ।

मेरो फेरि कहिले अँगालोमा हाल्ने, कहिले शत्रु ठानेर त्यसविरुद्ध जे पनि गर्ने सम्बन्ध नै हुँदैन । त्यस्तो मान्छे होइन म । म सधैँ ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्छु । एउटै पार्टीमा रहँदा र बाहिर रहँदा पनि मेरो दृष्टिकोणमा सधैँ निरन्तरता हुन्छ, विश्लेषणमा निरन्तरता हुन्छ । त्यसका आधारमा म सम्बन्ध राख्छु । त्यसकारण बाबुरामजीसँग व्यक्तिगत रूपमा अहिले पनि राम्रै सम्बन्ध छ । व्यक्तिगत रूपमा सम्मान नै गर्छु । उहाँले अहिले लिनुभएको लाइनसँग असहमत छु ।

नेपालको लोकतन्त्रीकरणको प्रक्रियामा, नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँले महत्वपूर्ण योगदान गर्नुभएको छ । इतिहासमा गरेको योगदानलाई हामीले उच्च मूल्यांकन गर्नुपर्छ । अहिले मतभेद भयो भन्दैमा ‘हिजो गरेको कुराचाहिँ केही पनि होइन, हिजो जन्मँदा नै गलत थियो’ भन्नेजस्ता पाखन्डी सोच ठिक छैन । अहिले हामीबीच सैद्धान्तिक मतभेद छ ।

खगेन्द्र पन्त,नयाँ पत्रिकाबाट


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #नारायणकाजी श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!