Techie IT
सोमबार, वैशाख २७,२०७८

यि हुन जीवनोपयोगी शिक्षासंग संबन्धित केही महत्वपूर्ण तथ्यहरु


पुनम कुइकेल

पृष्ठभूमि

कक्षा ११ को पाठ्यक्रमको संस्करणसंगै उठेका प्रश्नहरुले पुनः एकपटक सोच्न बाध्य बनाएको छ कि परिवर्तनलाई स्विकार्न हामीमध्ये धेरैलाई कठिन कार्य पो हुँदोरहेछ। ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ (Social Study and Life Skills Education), एक  अनिवार्य विषय को रुपमा पाठ्यक्रममा समावेशी निर्णयसंगै उठेका विवादहरुलाई केलाउँदै गर्दा  “मानव एक सामाजिक प्राणी हो।” को रटाइलाई व्यवहारमा उतार्न पनि ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’को अपरिहार्यता स्पष्ट रु प्रतिबिम्बित भैरहेको देख्न सकिन्छ। ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ किन अनिवार्य हुनुपर्छ भनेर प्राज्ञिक र बौद्धिक तहमा निकै नै छलफल र बहस भएपछि अहिलेको पाठ्यक्रमको प्रारुप बनेको हो। विश्वका थुप्रै मुलुकहरुको अनुभव, अनुसन्धान र अभ्यासहरुलाइ हेरेर पनि सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य पाठ्यक्रममा समावेश गरिएको हो।

नेपाली समाजलाइ सचेत, लोकतान्त्रिक, समुन्नत र समकालीन विश्वका उन्नत देशहरुको दाँजोमा लैजान सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई कक्षा ११-१२ मा अनिवार्य बनाएर लैजानुपर्छ। साथै, भाषाहरु, बिज्ञान, गणितको आधारभूत ज्ञान-सीप पनि अत्यन्तै जरुरी छ। सामाजिक अध्ययन कि बिज्ञान-गणित पढ्ने भन्ने जस्ता प्रश्न नै सर्वाधिक गलत छ। दुबै जरुरी छ। सामाजिक अध्ययन, विज्ञान, गणित, भाषा समाज बुझ्न र समाज विकासरुपी मानव शरीरका अंगहरु हुन् भने जीवनोपयोगी शिक्षा त्यस शरीरको सर्वांगिण विकासको लागि आवश्यक पोषण।

जसरी आज बालबालिकादेखि वृद्दसम्म; घरमा समय कटाउनदेखि ठूला-ठूला व्यापार व्यवसाय चलाउन अत्यावश्यक उपकरण कम्प्युटर तीन दशक अगाडिसम्म युवाहरुको सोखको साधनको रुपमा मात्र परिचित डब्बा थियो। कतिपय कार्यक्षेत्रमा हातले गरिरहेको कामको विकल्पमा कम्प्युटर जडानलाई अनावश्यक खर्चमा वृद्दिको आँखाबाट पनि हेरिन्थ्यो। विज्ञान तथा प्रविधि, विध्यार्थी पुस्ता, बद्लिदैं जाँदा ज्ञान र सिपको सिकाइ भने यथावत् रहिरहँदा सिकाइ समयसापेक्ष सान्दर्भिक र गुणस्तरीय बन्न सक्दैन।

शिक्षाले विध्यार्थीको समग्र विकासको आधार सिर्जना गर्नुपर्छ। जसको लागि शिक्षा सैदान्तिक ज्ञान हासिल गर्ने माध्यम मात्र सीमित नबनाई व्यवहारजन्य हुन पनि उत्तिकै आवश्यक छ। जसरी नीतिमा, “ शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्तिः सामाजिक न्याय, रुपान्तरण र समृद्दि” शिक्षाको दुरदृष्टि भनेर तय गरिएको छ। साथै सबै तहको शिक्षालाई सकारात्मक प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमूखी बनाइ देशको आवश्यकता अनुरुपको मानव स्रोत विकास गर्ने लक्ष्य राखिएको छ। कार्यान्वन पनि त्यहि ढंगबाट हुन नितान्त आवश्यक छ तर विध्यार्थीलाई स्वरुचिभन्दा पनि एसईईले उपलब्ध गराइदिएको ग्रेडको आधारमा केही निश्चित विषयगत संकायहरुमध्येबाट कुनै एउटा छान्नु वाहेक अरु विकल्प नरहेको अवस्था छ। यदि ग्रेडले नै विध्यार्थीको भविष्य निर्क्यौल गर्छ भने संख्यामा हाम्रा कति विध्यार्थी मात्र वर्तमान शिक्षाले ल्याएको नीति र लक्ष्यमा खरो उत्रिन सफल हुन्छन् होला? बाँकी कम ग्रेड ल्याउने विध्यार्थीको भविष्य भनेको खाडी मुलुक मात्र हो त? के प्रत्येक विध्यार्थीको सुखी भविष्यको जग शिक्षा हुनुपर्ने होइन र ?

परिक्षामा अब्बल आउने विध्यार्थीलाई मात्र अग्रज कर्णधार मान्ने मानसिकतामा परिवर्तन गर्नुपर्ने समय आइसकेको छ। यहाँ शिक्षालाई किताबी ज्ञान र त्यसको पुनःसृजनको आधारमा गरिएको मुल्यांकन नै सर्वोपरि मान्दा विध्यार्थीहरुका सृजनात्मक सिप दिनप्रतिदिन कुण्ठित हुँदै गइरहेको छ।  भित्री क्षमता र इच्छा हुँदाहुँदै पनि परंपरागत स्थापित शैक्षिक प्रकृया र अभ्यासले अधिकांश विध्यार्थीहरुलाई आफ्नो रुझान अनुरुपको विषयवस्तु छान्ने स्वतन्त्रतामा बन्देज लगाएको छ। फलस्वरुप यस्तो अभ्यासले एकातिर शिक्षालाई प्रगतिशील बन्न दिदैन भने अर्कोतिर दक्ष जनशक्तिको विकास चाहेजस्तो सन्तोषजनक हुनसक्दैन। यदि ग्रेडलाई नै विध्यार्थीको भविष्यको सूचक मान्ने हो भने पनि सबै विध्यार्थीहरुको ग्रेडमा वृद्दि हुनेगरि सिकाइ सुनियोजित ढंगबाट गरिनु पर्छ। “विध्यालय यान्त्रिक उत्पादनको थलो होइन” भनेर केवल सतही बुझाइले पुगेन। यथार्थमा गहिरो चिन्तन, मनन र अभ्यासको सचेतना चाहिएको छ। यसर्थ पनि शिक्षामा जीवनोपयोगी सिपको अभिमुखीकरण र सिकाइ जोड्न अत्यावश्यक देखिएको हो।

शिक्षा सुदृढिकरणको एक प्रमुख पक्ष जीवनोपयोगी सिप, शिक्षाको केन्द्रबिन्दु बन्नु पर्छ। यस सन्दर्भमा विज्ञान तथा प्रविधिको विकासले हरेक व्यक्तिको औंलाको एक प्रयासमा स्रोत र सूचनाको भण्डार उपलब्ध गराएको छ। यति सहज र छिटो सूचना प्राप्त गर्न संभव वर्तमान समयको परिप्रेक्षमा शिक्षकहरूले दिएको किताबी सूचना र सीमित ज्ञान मात्र विद्यार्थीलाई पर्याप्त छैन। उनीहरुलाई सोचबिचार गर्ने तथा निर्णय गर्न सक्ने मानसिक शक्ति पनि उत्तिकै चाहिन्छ। विध्यार्थीहरूलाई उपलब्ध सूचनाहरुबाट असल र सकारात्मक जानकारीयुक्त स्रोत खोज र छनौटका लागि असल आचरण चाहिन्छ। यी सोचबिचार, निर्णय क्षमता, असल आचरण आदि सिकाउन जीवनोपयोगी सिप चाहिन्छ। त्यसैले जीवनोपयोगी सिप शैक्षिक सुदृढिकरण प्रयासको आधार बन्नु पर्छ।

जीवनोपयोगी सिपको मान्यताहरु

सर्वप्रथम त जीवनोपयोगी सिपलाई एक विषयको रुपमा पस्किनुभन्दा पनि यो एक व्यवहारजन्य दृष्टिकोण, दर्शन र सिकाइको स्वरुप भनेर संबोधन गर्दा अतिशयोक्ति नहोला। जीवनोपयोगी सीपको एक निश्चित परिभाषा भने छैन। तरपनि यसलाई सामान्य भाषामा दैनिक जीवन निर्वाह गर्न चाहिने अत्यावश्यक सीपहरुको रुपमा पहिचान गर्न सकिन्छ। मानव जीवनलाई सहज, उन्नत र सुसंस्कृत बनाउनका साथै सामाजिक संवन्धहरुलाई न्यायपूर्ण, सौहार्दपूर्ण र सहयोगात्मक संस्कृतियुक्त बनाउदै लैजानु पनि हो। यही सन्दर्भमा विश्व र मुलुकमा आएका परिवर्तनहरुलाई मध्यनजर गर्दै नेपालको पृष्ठभूमिमा पनि शिक्षा तथा सीप सिकाइमा परिवर्तनको खांचो बुझेर कक्षा ११ मा जीवनोपयोगी सिपलाई एक विषयको रुपमा समावेश गरिएको छ।

समकालीन परिस्थितिलाई केलाउदा केही स्कूल तथा कलेजहरुले जीवनोपयोगी सीपका केही अंश आफ्नो शिक्षण प्रकृयामा समावेश गरेको पाइएता पनि यो सीप हरेक विध्यार्थीको समग्र विकासका लागि उत्तिकै आवश्यक भएकोले औपचारिक सिकाइको माध्यमबाट नेपाल अधिराज्यभरि रहेका विध्यालयहरुमार्फत् प्रत्येक विध्यार्थीलाई यी सीपसंग अभगत गराउने अभ्यासको व्यवस्था गर्नु जरुरी छ। परंपरागत बुझाइमा,  एउटा व्यक्तिलाई सामान्य लेखपढ गर्न सिकाउनु, अक्षर चिन्न सिकाउनु जसले उस्को जीवन सहज हुन्छ त्यो नै साक्षरता सिप हो। तर आजको साक्षरताले विध्यार्थीहरुलाई शब्द र संसार वा जीवनर जगत् जोड्न सिकाउनुपर्छ।

जीवनोपयोगी सिपमा मनोसामाजिक दक्षता र अन्तर्वयक्तिक सिप समावेश गरिएको हुन्छ। जसले मानिसहरूलाई सूचित निर्णयहरू गर्न, समस्याहरूको समाधान गर्न, आलोचनात्मक र सिर्जनात्मक रूपमा सोच्न, प्रभावकारी रूपमा सञ्चार गर्न, स्वस्थ सम्बन्धहरू निर्माण गर्न, अरूसँग समानुभूति प्रदान गर्न, र स्वास्थ्यलाई स्वस्थ र उत्पादक तरिकामा आफ्नो जीवनलाई समयानुकुल साथै उत्पादनमूलकबनाउन परिस्थितिको सामना गर्न मद्दत गर्दछ।  जीवनोपयोगी सिप एक विषय आजको स्थापित परंपरागत शिक्षामा अवस्थित अत्याधिक मात्रामा किताबी ज्ञानलाई विध्यार्थीको मस्तिष्कमा थोप्ने  र थोपेको विषयवस्तुलाई हुबहु कण्ठस्थ पार्न लगाउने र जुन कुरा कण्ठस्थ पारिदै छ त्यसको उपयोगिताको अनभिज्ञतामा नै अभ्यास गराउने गरिन्छ। फलतःविध्यार्थीहरुमा पनि घोकन्ते प्रवित्ति विकास हुँदैजान्छ। र जति मानिस निष्कृय हुन्छ, त्यति नै उसको सिर्जनशिलता तथा रचनात्मकता ह्रास हुदैजान्छ। उदाहरणको लागि कुनै पनि विषयवस्तु चाहे त्यो गणित होस् या भाषा; धर्म होस् या संस्कृति, विज्ञान होस् कला जसको वास्तविक जीवनसंग के नाता छ या यसले हाम्रो दैनिक जीवनयापनमा कस्तो असर पार्छ भन्ने व्यवहरात्मक अभ्यास जाने विना नै त्यसलाई कण्ठ पार्छौं र दोहोर्याउछौं पनि। एकातिर ‘मानव सामाजिक प्राणी हो’ भन्ने र अर्कोतिर ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ अनिवार्य हुनुहुदैन भनेर वहस र विरोध गर्नु घोकन्ते शिक्षाको नै नतिजा हो।

बुझ्नुपर्ने कुरा, विषयगत सिकाइले ज्ञानलाई परिष्कृत गराउँछ भने जीवनोपयोगी सिपलाई विषयसंग समायोजित गर्नाले ज्ञानको जीवनयापनमा वा जीविकोपार्जनमा गर्नुपर्ने प्रयोग र महत्व बुझ्न आधार तयार गरिदिन्छ। साथै जीवनका विभिन्न आयामहरु जस्तै भौतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि बुझ्ने र जोड्ने कसी पनि हो। साक्षरताको लागि विषयगत शिक्षा आवश्यक छ। तर विषयगत शिक्षाले सबैको जीवन सुखी र समृद्द बनाउन संभव नहुँदा सिकाइमा जीवनोपयोगी सिप शिक्षाको आवश्यकता पहिचान भएको हो।

परंपरागत सिकाइको सुधारात्मक सिकाइको प्रारंभिक चरण भएकोले जीवनोपयोगी सिपको विषयगत अध्ययन पनि वर्तमान परिवेशमा सान्दर्भिक छ। तर त्यसको साथसाथै यो विषयभन्दा पनि सिकाइको दृष्टिकोण हो बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण छ। फेरिपनि जीवनोपयोगी सिपलाई एक विषय मानेर सैदान्तिक घोकन्ते अभ्यासको घेरामा बाँध्नु भने हुदैन।  हाल विध्यमान भिन्न-भिन्न संकायभित्र पर्ने विविध विषयलाई सबै विध्यार्थीहरुको लागि व्यवहारिक र सिकाइपुर्ण बनाउन जीवनोपयोगी सिपका केन्द्रिय मान्यताहरुसंग जोड्दै लैजानुपर्ने देखिन्छ।

कक्षा ११ जीवनोपयोगी सिप सिकाइको उपयुक्त खुड्किलो

कक्षा ११का विध्यार्थी भनेको वाल्यावस्था पार गरेर युवावस्थामा खुट्टा टेकेका किशोरकिशोरीहरु पर्दछन्। जीवनका अन्य कालखण्डहरुमा भन्दा विशेष किशोरावस्था शाररिक, मानसिक, संबेगात्मक तिब्र परिवर्तनको अवस्था हो। यो यस्तो संवेदनशील उमेर हो, जहाँ किशोरकिशोरीहरु ज्यादा रिसाउने, झर्किने, एक्लै बस्ने, कल्पनामा रमाउने, आफु परिपक्व भएको देखाउन रुचाउँछन्। साथै सकारात्मक- नकारात्मक, दुर्व्यसन र नँया कुरा जान्ने र बुझ्ने उत्सुकता जस्तैः धुम्रपान, मद्यपान गर्ने, विपरित लिङ्गीप्रतिको आकर्षण,यौनसंबन्धी जानकारीको चाहना बढ्दै गएको पाइन्छ। उनीहरु अभिभावकहरुभन्दा बढी समय बाहिर साथीहरुसँग विताउने गर्दछन् र बाहिरी वातावरणप्रति तिव्र रुपमा आकर्षित साथै प्रभावित हुन्छन्। तनाब, डर, चिन्ता अझ आत्महत्या जस्ता कृयाकलाप पनि अधिकतम यसै उमेरको पडावमा देखिन्छ।

परिपक्वतातिर लम्किदै जाने क्रममा उनीहरुको मानसिक प्रकृया बढी विश्लेषणात्मक हुने, अमूर्त सिचाइ, स्व-अभिव्यक्ति र स्वतन्त्र विचारधाराको विकास गर्न सक्षम हुन्छन्। उदाहरणका लागि, लक्ष्यहरु परिवर्तन भइरहनु, आफ्नै मूल्य तथा मान्यताहरुको विकास सुरु गर्नु, खोज तथा अनुसन्धानमुलक कार्यमा बढी रुचि देखाउनु, जिज्ञासु हुनु, आलोचनात्मक र सिर्जनात्मक सिपको लक्षणहरु हुन्। र यो उमेरमा देखिने शारीरिक, मानसिक परिवर्तनहरु स्वभाविक हुन्। त्यसैले संयमित भई आफ्नो काम, कर्तव्य र जिम्मेवारी इमानदारिताका साथ बहन गर्न सिकाउन जीवनोपयोगी सिपको समझ र अभ्यास दुवै समान आवश्यक प्रकृया हुन्।

कुन उमेरका बालबालिकामा के कस्तो परिवर्तन आउँछ, यस्तो अवस्थामा उनीहरुसँग कस्तो व्यवहार गर्न, उनीहरुबाट के कस्तो अपेक्षा राख्ने, उनीहरुलाई कसरी उत्प्रेरित गर्ने भन्ने सिप र ज्ञान अभिभावक एवम् शिक्षक द्वयमा हुनुपर्दछ। एउटा पुरानो कथन छ कि “रुख रोप्ने सबैभन्दा उत्तम समय बीस वर्ष पहिला थियो। र अर्को दोस्रो उत्तम समय अहिले हो।” त्यसैले जिवनोपयोगी सिप कक्षा ११, हरेक उमेरका विध्यार्थीका साथसाथै अभिभावक-शिक्षकको लागि पनि अपरिहार्य छ।

जीवनोपयोगी सिप शिक्षाका अनुभूतिहरु

जीवनोपयोगी सिपले नेतृत्वशैली, नैतिकता, उत्तरदायित्व र जवाफदेहिता, अनुकूलन योग्यता, व्यक्तिगत उत्पादकता, व्यक्तिगत जिम्मेवारी, वैयक्तिक सीप र स्व-निर्देशन जस्ता क्षेत्रहरूलाई समेट्छ। नेतृत्वशैलीले व्यक्तिलाई समस्याहरू समाधान गर्न, जीवन लक्ष्य प्राप्त गर्न र अरूलाई उत्प्रेरित गर्ने क्षमता र साझा लक्ष्य प्राप्त गर्न समेत सक्षम गर्दछ। व्यक्तिको व्यक्तिगत र व्यावसायिक जीवनमा नैतिकता अनुसरण गरेर उच्च उपलब्धि हासिल गर्न विभिन्न भूमिका र जिम्मेवारीहरू परिस्थिति अनुकूल बनाउन सक्षम हुनेछ।

सिप सिकाइ पश्चात् प्रतिकुल वातावरणमा पनि संयमित भइ आवश्यकता अनुरुप प्रथमिकताहरु परिमार्जन गर्न तयार रहन्छन्। तसर्थ सदैव समयको सदुपयोग गरी आफ्नो कार्यप्रति प्रतिबद्द हुनेछन्। तर यहाँ ध्यान पुर्याउनु पर्ने विषय भनेको सिकेको सिपको विध्यार्थीले व्यवहारात्मक अभ्यासबाट मात्र जीवनोपयोगी सिप शिक्षा प्रभावकारी बन्न सक्छ। मानोवैज्ञानिक स्वास्थ लगायत अन्य क्षेत्रमा पनि जीवनोपयोगी सिप शिक्षाले उल्लेखीय सुधार आएको थुप्रै उदाहरणहरु छन्। आजको गतिमान समयको माग अनुरुप सिप विकासको आधार स्थापना गर्ने जीवनोपयोगी सिप शिक्षाले गर्दछ। जीवनोपयोगी सिप शिक्षा विध्यार्थीहरु स्व-निर्देशिनको सबल पक्ष हो। यसले उनीहरुमा आत्म वोधको सिपको विकासले आफ्नो कार्यको मुल्यांकन, प्रतिपादन गर्न सक्षम बन्छन्। सिकाइको कुनै अन्त छैन। यो आजीवन हुन्छ भन्ने बुझाइबाट निर्देशित हुन्छन् र सदैव सिकाइका लागि तत्पर रहन्छन्।

जीवनोपयोगी सिप शिक्षामा आ-आफ्नो परिवेश अनुसार सीपहरु फेरबदल, नँया थप्ने जस्ता कार्य गर्न सकिन्छ। मुल रुपमा जीवनोपयोगी सिपभित्रः स्व-सचेतना अर्थात् आफूले आफूलाई पहिचान गर्ने ज्ञान, सीप र तरिका; आफ्नो सबल पक्षहरू र अवसरलाई चिनेर कमजोरी र वाधाबारे जानकारी लिने सीप; त्यस्तै अर्को सीप सिर्जनात्मक ढंगले सोच्ने र विश्लेषण गर्न जान्नु हो। सिर्जनात्मक ढंगले सोच्ने तरिका जन्मजात गुण नभएर सिक्न र सिकाउन सकिने सीप हो भन्ने मान्यता रहेको छ। अर्को महत्वपूर्ण सीप भनेको आलोचनात्मक चिन्तन वा विश्लेषण गर्ने सीप हो।

आलोचनात्मक चिन्तन र विश्लेषण सीपले विद्यार्थीलाई वस्तुगतरूपमा परिवेशको यथार्थ बुझ्न सघाउँछ र त्यसमा नीहित समस्या पहिचान र समाधानका विकल्पहरूको खोजी पनि। त्यस्तै अन्य सीपहरूमा प्रभावकारी सञ्चार गर्ने सीप, सामाजिक सम्बन्धहरू गाँस्ने सीप, लोकतान्त्रिक ढंगले संवाद गर्ने सीप र कुनै पनि विषयमा निर्णय लिने सीप पनि पर्छ। कुनै पनि समस्यालाई बुझ्ने, केलाउने र समाधान खोज्ने आफैंमा एउटा महत्वपूर्ण सीप हो। केही मनोसामाजिक सीपहरू पनि जीवनमा एकदम महत्वपूर्ण हुन्छ, जस्तो– समानुभूतिको सीप। समानुभूति गर्न सक्नु स्वभाव मात्र नभएर सिक्न सकिने सीप हो भनेर अध्ययनहरूले स्थापित गरेको छ। आफ्नो आवेग र संवेगलाई संयम गरेर सामाजिक व्यवहार गर्न सक्नु पनि सीप नै हो। सामाजिक जटिलताका कारण बाह्य दबाबहरू आइपर्नु स्वाभाविकै हो। तर ति जटिलता र दबाबहरुको विचलित नभइ आत्मविश्वासका साथ सामना गर्ने र निवारण गर्ने वा निवारणका उपायहरु सुझाउन सक्षम बन्नेछन्।

निचोड यस्तो महत्त्वपूर्ण र आधारभूत बिषयलाइ पाठ्यक्रमबाट हटाउनुपर्ने सन्दर्भमा उठेका प्र्शभित्र लुकेका स्वार्थहरु बारे सचेत नागरिक समुदाय, अभिभावक, बौद्धिक समाजले यसबारे छलफल गर्नु जरुरी छ। साथै सिंगो विश्व नै शिक्षालाई मानिसको सुख र खुसीसंग जोड्न खोज, अध्ययन अनुसन्धान र सुध्दृढ अभ्यासमा लागिपरेको बेलामा हामी सामान्य तर अति महत्त्वपूर्ण विषयको समावेशीमाथि नै प्रश्न उठाउँछौं, विरोध गर्छौं भने हाम्रो शिक्षा र सिकाइमाथि पनि आफैंले  प्रश्न उठाउने समय भयो। किनकि यो मानसिकता घोकन्ते शिक्षाबाट नै प्रभावान्वित भएको प्रष्ट बुझिन्छ।

जीवनोपयोगी सिप शिक्षा सिकाइका लागि चाहिने दक्ष सहजकर्ताको तयारी गरेर प्रभावकारी ढंगबाट बुझाउन र अभ्यास गराउन नितान्त जरुरीदेखिएको छ। तसर्थ विशेषज्ञहरुको मदतद्वारा शिक्षकहरुको सिकाइ अर्को अत्यावश्यक पक्ष हो। अन्त्यमा, फेरि पनि सकारात्मक परिवर्तनको सहर्ष स्वागत गर्दै सिकाइ अर्थपूर्ण र उत्पादनमुलक बनाउन शि


क्याटेगोरी : विचार/बहस
ट्याग : #जीवनोपयोगी शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्