Techie IT
शनिबार, कात्तिक ८,२०७७

रिसेटिंग (Resetting) ‘आंफु भित्रको आंफु’ को खोजि

"कति काम नचाहेर पनि हामि गरिरहेका छौ, ‘डर’ को कारणले र कति काम हामीले चाहेर पनि गरिरहेका छैनौ, त्यसको कारण पनि ‘डर’ नै हो |"


रिसेटिंग (Resetting) ‘आंफु भित्रको आंफु’ को खोजि

(सफल, सम्ब्रिद्द, सुखी र स्वस्थ का लागि एक मनोबैज्ञानिक अध्ययनपूर्ण लेख)

रुद्र नाथ दाहाल

                                                                                                      उप-प्राध्यापक

विषय प्रवेश                                                                          

विश्वव्यापी महामारी COVID-19 वा नयाँ कोरोना भाइरस संक्रमणले आज संसारलाई आक्रान्त पारिरहेको अबस्था हो |आ-आफ्नो सामाजिक, सांस्कृतिक र आर्थिक अवस्था अनुसार बाहिरी वा सांसारिक समाज तथा समुदायमा ब्यस्त, ब्यग्र र एकोहोरो भैरहेको मानव  समुदायलाई यो महामारीले एकाएक भित्र कोचिरहेको छ, भित्र बस्न बाध्य बनाइरहेको छ | यो महामारी कसरी उत्पन्न भयो ? र यसबाट कसरी मुक्त हुने भन्ने बारे विभिन्न अड्कलबाजी र तयारीहरु भए पनि यसको ठोस र सर्ब स्वीकार्य उत्तर अहिले विश्वव्यापी रुपमा छैन | मात्र यसको संक्रमणबाट बच्न समाज र समुदायबाट टाढा वा एकान्तबास नै सबैले स्वीकारेको र अपनाएको एकमात्र उपाय हो; यद्यपि यसबाट हुने संक्रमण र मृत्यु भने बढिरहेको छ | एउटा आशा लाग्दो पक्ष के हो भने संक्रमित भएर पनि पुन: यो भाइरसलाई परास्त गरि नयाँ जीवनमा फर्किरहेको सयौं उदाहरणहरु पनि भएकोले रोग प्रतिरोध क्षमता बृद्दी गरि यसबाट बच्न सकिने सम्भावनाहरु आएका छन् | रोग प्रतिरोध क्षमता बृद्दी गर्ने विभिन्न कृत्रिम तथा प्राकृतिक उपायहरु पनि अगाडी आइरहेका छन र कतिपयले यसलाई जोडतोडले अपनाइँ रहेका पनि छन् | त्यसैले COVID-19 अहिले विश्वका मानवका लागि ठुलो चुनौती बनेर उभिएको छ, तपाइँ हाम्रा लागि पनि यो ठुलो चुनौती बनेको छ | संसारमा हरेक समस्याको समाधान छ, मानवले आफु सामु आइपरेका हरेक चुनौतीहरुलाई ढिलो वा छिटो समाधान गर्दै समायोजन हुदै आएको छ | यो प्राणिको उत्पत्ति भएको समय देखि नै लागु भैरहेको छ | यसमा मानवले मात्र होइन हरेक प्राणीले बाच्नका लागि संघर्ष गरिरहेकै हुन्छ, यो प्राकृतिक नियम हो | यसमा मान्छे अझ उच्च चेतना शक्ति भएको प्राणि भएकोले आफ्नो अस्तित्वका लागि मात्र होइन अन्य प्राणीको अस्तित्वका लागि पनि संघर्ष गर्नु पर्ने हुन्छ जसको अस्तित्व मानव अस्तित्व संग पनि जोडिएको हुन्छ त्यसैले यो यथार्थतामा मौनता र निस्कृयता देखाउदा विभिन्न कालखण्डमा मानवले यस संसारमा ठुल्ठुला प्राकृतिक बिपत्तिहरुको सामना गरिरहनु परेको छ | यस घटनाले संसारका मानवलाई पुन: स्मरण गराएको छ कि वातावरण, पर्यावरण वा प्राकृतिक रुपले एकाकार वा मैत्रिपूर्ण नहुने गरि गरिएका जस्तासुकै विकास, परिबर्तन वा आविस्कार र नयापनहरु यस प्रकृतिका प्राकृतिक बिपत्तिहरुका अगाडी निरर्थक भएकाछन | बिज्ञान र प्रविधिको अभुतपुर्ब विकासले प्राय: विकसित भनिएका मानवहरुको जीवन शैली पूर्ण रुपमा कृत्रिम र एक किसिमले प्रकृति माथि नै बिजय हासिल गरेको अहमता ति मानवमा रहे पनि बिध्यमान परिस्थितिले पूर्ण रुपमा बिज्ञान प्रविधि मुखी जीवन शैली भएका मानवलाई निरिह बनाइदिएको छ र ‘Back to Nature’ वा प्रकृति तर्फ फर्क भन्ने अबधाराणालाइ केवल अबधारणाको रुपमा मात्र नलिइ व्यबहारमा नै उतार्न झस्काई दिएको छ | प्राकृतिक जीवन शैली, खानपान, वातावरण मैत्रि विकास र परिबर्तनले मात्र मानव अस्तित्वलाई कायम गर्न सक्छ | प्रकृति मानव जीवनका लागि साधन मात्र होइन मानव जीवनको परिपुरक हो , प्रकृतिको बिचलन मानव जीवनको बिचलन हो त्यसैले मानवले प्रकृतिको विकल्प दिन सक्दैन | ब्रह्माण्ड नै प्रकृति हो, प्रकृतिको काखमा नै मानवको अस्तित्व छ | जब त्यहि मानव बिज्ञान र प्रविधिले ल्याएको परिबर्तनको हुंकार छोडी प्रकृति माथि धावा बोल्छ तव प्रकृतिले पनि आफ्नो यथास्थितिलाई सन्तुलनमा ल्याउन चल्मलाउनु पर्ने हुन्छ यो प्रकृतिको चलायमान अबस्था मानब जीवनको लागि घातक हुन जान्छ |

            उल्लेखित अबस्थाबाट छुटकारा पाउन तत्काल त सम्भव छैन यसका लागी पृथ्वीलाई ‘साझा घर’ को रुपमा लिई विश्वव्यापी रुपमा आ आफ्नो ठाउबाट सम्पूर्ण मानव नै लाग्नु पर्ने हुन्छ | प्रकृतिवाद र आध्यात्मवाद दुवैलाइ आत्मसात गर्नु पर्ने हुन्छ | प्रकृतिवाद (Naturalism) बाट बाहिरी संसार (Outer World) लाई बुझ्न र देख्न  सकिन्छ भने आध्यात्मवाद ( Spiritualism) वाट भित्रि संसार (Inner World) लाइ बुझ्न र देख्न सकिन्छ |  बाहिरी संसारको सांसारिक प्राप्तिले मानवलाई सुखी बनाउन त सक्छ तर खुशी भने बनाउन सक्दैन त्यसैले सुख र खुशी दुवै प्राप्त गर्न साथै सफल, सम्ब्रिद्द, सुखी र स्वस्थ बन्न बाहिरी र भित्रि दुवै संसार संग साक्षात्कार गर्न जरुरि छ | हामि प्राय अरुका लागि धेरै बाच्ने गर्दछौ वा बाहिरी संसारका लागि धेरै समय दिनछौ यहि गर्दा गर्दै हाम्रो इहलिला समाप्त हुन्छ तर हामीले खोजेको खुशी प्राप्त गर्न सक्दैनौ | धेरै मेहनत र परिश्रम गरेर भौतिक तथा सांसारिक बस्तुहरु प्राप्त गर्दै जान्छौ सुखी बन्दै जान्छौ तर त्यो सुखले क्षणिक खुशी मात्र दिन्छ सांसारिक बस्तुको चाहना बढ्दै जान्छ त्यहि अनुसार त्यसको प्राप्ति गर्दै जान्छौ, अरुको खुशीलाई आफ्नो खुशी संग जोड्छौ, अरुको लागि खुशी खोज्दै जीवन सकिन्छ; तर पनि स्थायि खुशी प्राप्ति गर्न सकिरहेका छैनौ | आज भौतिक सुबिधा र आर्थिक सम्ब्रिद्दिको तह उच्च भएका देशका नागरिकहरुको खुशी सूचकांक (Happy Index) निम्न रहनुलाई पनि यसको उदाहरणको रुपमा लिन सकिन्छ | घर, परिवार, समाज, समुदाय, राष्ट्र हुदै अन्तराष्ट्रमा पनि योगदान गर्न पुग्छौ  तर यो केवल बाहिरी तत्वको खोजि हो | दिगो र स्थायि खुशीका लागि भित्रि संसारको समेत खोजि गर्न जरुरि छ | आफुलाई वा आफ्नो मन मष्तिष्कलाई अनि आफ्नो शरीरलाई समय दिन जरुरि छ | यो बन्दाबन्दिको समयलाई अबसरमा परिणत गर्न आफुलाई समय दिने सुनौलो मौका प्राप्त भएको छ जसले मस्तिष्कलाई प्रेतात्माको डेरा बनाउनको सट्टा वा नकारात्मक अनुभूतिको सट्टा इश्वरको डेरा बनाउने वा सकारात्मक अनुभूति तर्फ लैजान सकिन्छ | अरुको आवाजलाई धेरै सुन्दै आयौ अब आफ्नो आवाजलाई सुन्ने अवसर प्राप्त भएको छ |

‘डर’ र डरबाट मुक्ति:

             यो विश्वव्यापि बन्दाबन्दिको समय हो | मानिसहरु घरमा थुनिएका छन् | निश्चय पनि यस्तो अबस्थामा बाहिरी संसारले कब्जामा लिएको हाम्रो मस्तिष्कमा नकारात्मकता आउनु स्वाभाविक हो | विभिन्न मनोबैज्ञानिक समस्याहरु: डिप्रेसन, एकोहोरोपना, चिन्ता यि सब ‘डर’ को कारणले उत्पन्न हुन जान्छ र यो डरबाट मुक्त हुन कतिले आत्महत्याको बाटो रोज्छन भने कतिपय मानसिक रुपमा बिचलित भइ डर त्रासमा छट्पटाएर बाचिरहेका हुन्छन, यस्ता कुराहरु सामान्यरुपमा देखिएका हुदैनन् | अहिले विभिन्न संचार माध्यमहरुले आत्महत्याको दर बढिरहेको तथ्यांक प्रस्तुत गरिरहदा यसको कारण उल्लेखित कुराहरु नै हुनसक्छ भनेर भन्न सकिन्छ | डरबाट उन्मुक्त हुननसक्ने निष्कर्ष जब मष्तिस्कले  दिन्छ तब मानिसले आत्महत्या गर्दछ तर जो आत्महत्या गरेका हुदैनन् उनीहरु मध्ये धेरै जसोको मष्तिष्क पनि यति ठुलो नकारात्मक चिन्तन र डर रुपि पहाडले थिचिएको हुन्छ कि उनीहरु जिउदो भएर पनि सयौ पटक मरिरहेका हुन्छन |

            डर वा भय (Fear) को सन्दर्भमा कुरा गर्दा सामान्यतया सबैलाई लाग्न सक्छ हामीलाई मृत्यु (Death) संग डर लाग्छ, तर यो बिल्कुल गलत हो | हामीलाई मृत्यु संग वा मर्न संग डर लागेकै हुदैन | तपाइको चिन्तनको तह उच्च छ भने केहि क्षण स्थिर रहेर सोच्नोस त; हामि मानिसलाई बास्तवमा मृत्यु संग डर लाग्दैन | डर त केवल हाम्रो मिसन वा जिम्मेवारीहरु पुरा नहुदै मरिने पो हो कि; हाम्रो धन सम्पति अरु बाहिरका व्यक्तिले खाइदिने पो हो कि; भन्ने डर मात्र हो | हामी विभिन्न माया जाल वा सांसारिक बन्धनमा बाधिएका हुन्छौ, ति सांसारिक बस्तुलाई सुख उपभोगका माध्यम ठानेका हुन्छौ | ठुलो घर, धेरै जग्गा जमिन, कलकारखाना, उद्योग, धेरै सेयर, बैंक ब्यालेन्स, सुन्दर जवान श्रीमति वा श्रीमान, मेहनत गरेर जम्मा गरेका भौतिक बस्तु, गरगहना; यि सबै उपभोग गर्न नपाइ मरिने हो कि भन्ने डर: अनि आफ्ना सन्तान, नजिकका नाता तथा हाम्रो आश्रयमा रहेका व्यक्तिहरु प्रतिको जिम्मेवारी पुरा नहुदै मरिने हो कि भन्ने डर हो | तर यो संसारिक जीवनको बास्तबिक सत्य हामीलाई थाहा हुदैन वा थाहा भए पनि सामुहिक चेतना (Collective Consciousness) को कारण त्यो सत्य हाम्रो विश्वास प्रणाली (Belief System) भित्र हुदैन राम्रो लाउन, मिठो खान र मोज मस्ती गर्न नपाइ मरिने पो हो कि भन्ने डर हो | यथार्थमा मृत्युको डर होइन | जब बिचलित र तनाबमा रहेको मष्तिष्कले उल्लेखित सबै कुराको ढोका बन्द भएको ठहर गर्दछ अथवा सो पुरा गर्न आफुलाई पूर्ण रुपमा असक्षम ठान्छ तब आत्महत्याको बाटो रोज्दछ | उल्लेखित सम्पूर्ण समस्याबाट मुक्त हुन सकिन्छ | अहिलेको एकान्तवासलाई चुनौतिको रुपमा होइन अबसरको रुपमा लिई निम्न तिन कुराको सैद्दान्तिक रटान होइन व्याबहारिक अभ्यास गरेर उत्पन्न हुन सक्ने समस्याबाट छुटकारा पाउने मात्र होइन एकान्तबास पूर्वको अवस्था भन्दा सशक्त, क्षमतावान, सालिन तथा उर्जासिल भएर पुन: समाज तथा समुदायमा आफुलाई प्रभावशाली पात्रको रुपमा अगाडी ल्याउन सकिन्छ | रिसेतिंगका तिन तरिकाहरु निम्नानुसार छन् | जसलाई 3sss   भनिन्छ |

  • मौनता (Silence)
  • स्थिरता (Stillness)
  • एकान्तता (Solitude)

तिन SSS लाई स्थिर र दिगो खुशी प्राप्त गर्ने सशक्त माध्यमको रुपमा लिन सकिन्छ | हामि भित्र रहेको विभिन्न कुराहरुको त्रास वा डर (Fear) ले हाम्रो जीवनमा काम गरिरहेको हुन्छ | अथवा हामीलाई पूर्ण रुपले ‘डर’ ले कब्जा गरेको हुन्छ | हामी ‘डर’ संग जोगिने वा त्यस संग भाग्ने कोशिस गरिरहन्छौ तर ‘डर’ बाट मुक्त नहुदा नहुदै हामि मृत्युको मुखमा पुग्छौ | बिडम्बना यो छ कि ‘डर’ संग जति भाग्छौ त्यति त्यसले हामीलाई खेदिरहेको हुन्छ | जति जोगिने प्रयत्न गर्दछौ त्यति त्यति ‘डर’ विभिन्न रुपमा बिकराल बन्दै गैरहेको हुन्छ | विभिन्न उमेर र अबस्था अनुसार फरक फरक किसिमका ‘डर’ हरुले हामीलाई सताइरहेको हुन्छ | सम्पत्ति नहुदा दुख पाइएला भन्ने डर, हुदा सम्पत्ति परिचालन गर्ने र जोगाउने डर, सन्तान नहुदा बुढेसकालमा दुख पाइएला वा स्वर्गको बाटो थुनिएला भन्ने डर, सन्तान हुदा हुर्काउने, बढाउने, पढाउने वा स्वाबलम्बी बनाउने समस्याको डर; त्यस्तै राम्रो श्रीमान वा श्रीमति नपाइएला कि भन्ने डर पाए पछी छोड्ने हो कि भन्ने डर; डर नै डरले भरिएको छ मानव जीवन | यि सबै बाहिरी संसारबाट उत्पन्न समस्याहरु हुन् | यदि भित्रि संसार दर्शन गर्ने प्रयास गर्ने हो भने त्यहा डर लाइ परास्त गर्ने तागत छ | भय रहित जीवन बनाउने उपायहरु छन् | त्यहाँ बास्तबिक सुख र खुशीहरु छन् | त्यसका लागि मौनताको अभ्यास; दैनिक मौन बस्ने, स्थिरताको अभ्यास; स्थिर बस्ने, एकान्तताको अभ्यास; एकान्तमा बस्ने

भित्रि संसार (Inner World) को  चिंतनपूर्ण खोज गर्ने | तपाइँ 3ss को अभ्यासको क्रममा हुदा “जीवनमा केहि कुराले रोक्दैन भने तपाइँ के गर्न चाहनुहुन्छ?” “राम्रो मानिसमा हुनु पर्ने असल गुणहरु के के हुन्?” आदिको चिन्तन गर्ने | हाम्रो मष्तिष्क बाहिरी संसारको प्रभावले जकडिएको हुदा शुरु शुरुको अभ्यासको क्रममा धेरै बाहिरी कुराहरु आउन सक्छ, नकारात्मक कुराहरु पनि आउन सक्छ तर त्यस्तो बाहिरी प्रभावलाई रोक्न प्रयत्न गर्दै जानु पर्छ | यसको लागि एकान्तमा भयरहित स्थिरता र मौनताको आबस्यक पर्दछ | हामीलाई के के कुरा संग डर लाग्छ ? त्यसको सुची तयार पार्ने र त्यस संग आमने सामने हुने कोशिस बारम्बार गर्दै जानु पर्दछ | बास्तबमा डरको मुल श्रोत के हो ? पहिचान गर्नु पर्दछ त्यसको मुकाबाला सकारात्मक पुर्बक गर्नु पर्दछ | आकर्षणको नियम (Law of Attraction) अनुसार नकारात्मक संदेश अन्तर्गत त्रास, भय, आक्रोस, निरासा, संकट तथा समस्याहरुको इमेज बारम्बार मष्तिष्कमा ल्याउनु भनेको त्यहि सुचना हामीले ब्रह्माण्डमा पठाउनु हो, हामीले जे जस्तो सूचना वा सन्देस ब्रह्माण्डमा पठाउछौं त्यो जस्ताको तस्तै हाम्रो जीवनमा प्राप्त गर्दछौ | आज हामि जे जस्तो धरातलमा उभिएका छौ, त्यो हिजो हामीले हिजो ब्रह्माण्डमा पठाएको सन्देशको परिणाम हो त्यसैले सधै सकारात्मक सोचौ, सकारात्मक संदेश सम्प्रेसण गरौ |

स्वचेतना (Self Awareness)     

तिन SSS को अभ्यासका लागि स्वचेतानाको अभ्यास (Practice of Self Awareness) जरुरी हुन्छ | हामी धेरै जसो अरुलाई सचेत गराउने नाममा विभिन्न चेतनाका कार्यहरु गर्दै हिड्छौ, भन्दै हिड्छौ, अर्ति उपदेश गर्दछौ तर आफै सचेत वा स्वसचेत भने हुदैनौ; शुरुआत आफैबाट, आफ्नो शरीरबाट अनि आफ्नो मष्तिष्कबाट गर्नुपर्दछ | यो समयमा यो क्षणमा आफ्नो शरीरमा आफ्नो मष्तिष्कमा के भैरहेको छ | आफ्नो शरीरको मौसम जाच (Weather Checking) गर्ने |  यसका लागि सचेतन स्वास प्रस्वास (Conscious Breathing)  गर्न जरुरि छ वा नाकको माध्यमबाट लामो स्वास (स्वच्छ अक्सिजन) लिई शरीरको कुना कुनामा सिंचित गर्ने र पैताला देखि शिर सम्मको बटुलेर लामो प्रस्वास गरि मुख आ… गरेर सम्पूर्ण कार्बनडाइअक्साइड बाहिर फाल्दै जाने प्रक्रियाबाट आफ्नो शरीरको भित्रि तह सम्मको अबस्था जाच गर्ने | यो त आफ्नो शरीरको शारीरिक मौसम जाच गर्ने अभ्यास मात्र हो भने यस संगै हाम्रो चिन्तन वा मष्तिष्क प्रणालीमा पनि सकारात्मकता मात्र खोज गरेर लिने र नकारात्मकता जति सबै बाहिर फ्याक्दै जाने अभ्यास दिनहु गर्दै  जादा निश्चय पनि हामि क्रमश उर्जाशील बन्दै गएको अनुभूति गर्न सकिन्छ | यस अबस्थामा अत्यन्त आनन्दको अनुभूति गर्दै एकाग्रता………..अनि शुन्याता……….. भएर भित्रि संसार (Inner World) मा हराउदै जाने | यो कुरामा हामि निश्चित हुन पर्दछ कि आनन्द, शान्ति, खुशी हामि भित्रै बाट सृजना हुने तत्वहरु हुन् बाहिर खोजेर भेट्न सकिदैन र अरु कसैले दिन सक्ने बस्तु पनि होइनन | निश्चय पनि हामी जुन धरातलमा उभिएका छौ सो धरातल मजबुत र स्थिर (Strong and Stable) हुन जरुरि छ | यसका लागि भित्रि स्थिरता (Inner Stillness) आबस्यक पर्दछ जसको प्राप्ति मौनता (Silence) बाट हुन्छ | बास्तवमा हामि शक्ति बाहिर खोजेर हिड्छौ तर शक्तिको श्रोत आफै संग हुन्छ | दैनिक स्वचेतन (Self Awareness) को अभ्यास गर्ने र आफ्नो लागि भएका सिकाइहरुको अनुभूत गर्ने | यो कार्य स्वमनन वा स्वप्रतिबिम्ब  (Self Reflection) को अभ्यासबाट गर्न सकिन्छ | दैनिक रुपमा आफुमा रहेका सबल पक्ष र कमजोरीहरुको बारे मनन गर्ने, आफु कृतज्ञ रहेका कुराहरुको प्रतिबिम्ब खिच्ने आदि अभ्यासबाट यो कार्य गर्न सकिन्छ | राम्रो मान्छे बन्ने सबैको चाहना हुन्छ | राम्रो मान्छे वा आदर्शवान मान्छे बन्न के कस्ता गुणहरु आबस्यक पर्दछ त्यो पनि हामीलाई थाहा हुन्छ तर पनि मानवीयता दिनानुदिन ओरालो लागिरहेको छ | जीवन सुखी र खुशी बनाउन हामि सबै चाहन्छौ तै पनि हामि सकिरहेका छैनौ | जीवन सुखी र खुशी बनाउन आबस्यक विभिन्न तत्वहरुको सन्तुलनको अभावले हामि धेरै जसो ‘डर’ मा बाचिरहेका छौ | कति काम नचाहेर पनि हामि गरिरहेका छौ, ‘डर’ को कारणले र कति काम हामीले चाहेर पनि गरिरहेका छैनौ, त्यसको कारण पनि ‘डर’ नै हो | डर नै डर ले हाम्रो जीवन गुज्रिरहेको छ | हाम्रो सामाजिकीकरण यसरि नै भयो, हाम्रो शिक्षा प्रणालीले हामीलाई यहि नै सिकाएको छ | डर कै कारणले हाम्रा इच्छा र स्वार्थहरू बाझिरहेका छन् र त्यो पुरा गर्न हामि विभाजित भएर लागि परेका छौ यसले ‘म’ र अन्य मानिस, प्राणिमा फरक छ भन्ने भ्रमपूर्ण भावना हरेक मानिसमा जागृत भएको छ | हामी किन सुखी, सम्वृद्धि र खुशी बन्न नसकेको होला ? साथी बनाउन नसकेर, मिलेर काम गर्न नसकेर, आफ्ना लागि मात्र काम गरेर, अहम् पालेर, अरुलाई महत्व नदिएर, अरुको सद्गुण देख्न नसकेर, अनि आफैलाई चिन्न नसकेर |  ‘म’ र ‘अन्य’ एकै हो भन्ने भावना जागृत हुनु हो भने सुख, सम्वृद्धि र खुशी दुवै प्राप्त हुन सक्छ |  यसो हुनुमा एउटा व्यक्तिको दोष छैन कि हाम्रो सामुहिक चेतना (Collective Consciousness..) हामि सबै सामुहिक चेतनाको पछाडी दगुरेका छौ | किनकि समाज, संस्कृति र समुदायले हामीलाई यसकै आधारबाट मुल्यांकन गरिरहेको हुन्छ, यसैको आधारबाट ठिक बेठिक छुट्याइरहेको हुन्छ |

रि-सेटिंगको मान्यता अनुसार जीवन (जिउनु) र मृत्यु (मर्नु) महत्वपुर्ण होइन, कति लामो र छोटो जीवन बाच्यौ त्यो पनि महत्वपुर्ण होइन, कति नाम र दाम कमाउन सक्यौ त्यो पनि महत्वपुर्ण होइन | हामि कति बाच्यौ त्यो कसरी बाच्यौ ? त्यो नै सबै भन्दा महत्वपुर्ण कुरा हो | जीवन सहज तरिकाले बढी दिन सम्म बाच्नु (Survive) मात्र मानव जीवन होइन | “उच्च उद्देश्य सहितको जीवन” र “अर्थपूर्ण जीवन” नै जीवनको महत्वपुर्ण पक्ष हो | यसका लागि आफुमा बिश्वास र समर्पण (Believe and Surrender) को जरुरि पर्दछ | निश्चय पनि असल गुण अपनाउन गार्हो छ तर असल गुण संग जिउन सरल छ | खराब वानी सजिलै अपनाउन  सकिन्छ तर खराब बानि व्यहोरा अपनाएर बाच्न गाह्रो छ |

निष्कर्ष

मानव जीवनमा विभिन्न आरोह अबरोहहरु आउछन | अघि पछी यस्ता सुखद दुखद सबै घटना क्रमहरुको शृंखलाले हाम्रो मष्तिष्क भरिएको हुन्छ | जीवनका कुनै घटना, व्यबहार तथा स्मरणहरु हामि सदाका लागि बिर्सन चाहदनौ जुन हामीलाई सुखद लाग्छ तर यस्ता घटनाहरु पनि हुन्छन जुन हामि सदाका लागि बिर्सन चाहन्छौ र पनि त्यस्ता भोगाइहरु हाम्रो मानसपटलमा आइनैरहेको हुन्छ | हाम्रो चेतन मनले बनाएको सोच, बिचार अनि हाम्रो अवचेतन मनमा रहेको विश्वास, बानि, कौशल, क्षमताहरु भन्दा फरक ढंगबाट वर्तमानका घटनाक्रमहरु अगाडी बढेमा वा बर्तमानमा भएका घटना क्रमहरु हाम्रा अचेतन मनमा रहेका घात, पिडा, धोका, संकट, उत्पीडन आदि संग सम्बन्धित हुन गएमा हाम्रो मष्तिष्क अति बिचलित हुन जान्छ त्यसैले मानसिक रुपमा यस्ता दिमागी संकटबाट मुक्त भइ सहज र सफलता पुर्बक बर्तमान जीवनलाई अवतरण गरि सुन्दर भविष्य तर्फ उन्मुख हुन र सफल, सम्ब्रिद्द, सुखी र स्वस्थ रहन रिसेटिंग वा मष्तिष्कको रिप्रोग्रामिंग आबस्यक छ | सकारात्मकता र नकारात्मकता दुबैको श्रोत हाम्रो सोच नै हो | नकारात्मकताले निश्चय नै हामि भित्रको उर्जा, शक्ति तथा क्षमतालाई ह्रास गरिरहेको हुन्छ भने सकारात्मकताले हामीलाई थप उर्जाशील बनाइरहेको हुन्छ | हाम्रा सम्बन्धहरु, कार्य प्रणाली र ढांचाहरुमा नयापन थपिरहेको हुन्छ जसले आफ्नो जीवन सार्थक छ, आबस्यक च भन्ने विश्वास जागिरहेको हुन्छ | जीवन संग प्रेम बढ्छ, आफ्ना कर्महरु प्रति कृतज्ञता जाग्छ, आफ्ना सोच, व्यबहार संग आशावादी बन्न सकिन्छ | त्यसैले रिसेटिंगका लागि दैनिक मौनता, स्थिरता र एकान्तताको अभ्यास गर्ने, एकाग्र भइ अंतरानुभुत गर्ने, अनि यसबाट के हुन्छ यसको रिफ्लेक्सन नोट गर्दै जाने | यो क्रम निरन्तर भएमा केहि समय पछी यो अवचेतन मनमा गइ आदत बन्दछ | हाम्रा दैनिक कर्म तथा योगदानहरुको पनि दैनिक रिफ्लेक्सन तयार गर्ने | शक्तिको श्रोत आफै भित्र हुने भएकोले स्वचेताना (Self Awareness) को अभ्यास गर्ने |  आफु उभिएको धरातललाई सके सम्म बलियो र स्थिर (Strong and Stable) बनाउने | दैनिक आफ्नो शरीरको मौसम जांच  (Weather Checking) गर्ने | आजको दिन तपाइँ कृतज्ञ रहने कुराहरु के के भए | कृतज्ञताको लागि सजिव निर्जिव सबैलाई धन्यबाद दिनुहोस | कस्ता गुण भएका मान्छेलाई  राम्रो मान्छे ठान्नुहुन्छ, सुची तयार गर्नुहोस र त्यसको अभ्यास गर्नुहोस | सचेत श्वास प्रश्वास (Conscious Breathing) को दैनिक अभ्यास गर्नुहोस | जीवनमा के कुराले दुख वा गार्हो बनाइरहेको छ ? कमि भएको कुरा के हो ? सुची बनाउनुहोस र त्यस्ता दुख वा गार्हो परिस्थितिका कारणहरु वा श्रोतहरु पहिल्याउनुहोस | तपाइले अहिलेको जीवनमा गर्न खोज्नु भएको महत्वपुर्ण कुरा के हो ? त्यो प्राप्त गर्न के के कुराले रोकेको छ ? जीवनका आबस्यक सम्पूर्ण कुराहरुमा सकेसम्म सन्तुलन कायम गर्नुहोस | चाहना र समस्याहरुको समाधान सकेसम्म आबस्यकता र जरुरिको क्रमबाट गर्नुहोस | र अन्त्यमा यि प्रश्नहरुको उत्तर “म” भएर आफ्नो जीवनको आधारमा खोज्नोस र लेखेर पठाउनुहोस | dahalrudra18@gmail.com

– म को हुं ?

– मैले खोजेको जीवन के हो ?

– मैले खोजेको जीवन कसरी जिउने ?

                   र

  • जीवनमा केहि कुराले रोक्दैन भने तपाइँ के गर्न चाहनु हुन्छ ?

                                                                                               धन्यवाद !!!    

क्रमसः

सन्दर्भ सूची:

  • खेडा, शिव, जीत तपाइको ( YOU CAN WIN)
  • निरौला, तुलसी (२०७२) आफैलाई चिन्ने कोशिस: बागबजार, काठमाडौं: सांग्रिला पुस्तक प्रा.लि.
  • बर्न, रान्डा: एक रहस्य (The Secret): काठमाडौं

https://www.amazon.com

https://www.google.com

https://www.thesecret.tv

https://en.wikipedia.org/wiki/Law_of_attraction

https://np.linkedin.com/in/debendra-manandhar-59307349


क्याटेगोरी : विचार/अनुभूति, विशेष
ट्याग : #Rudranath Dahal


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!