Techie IT
बिहीबार, कात्तिक ६,२०७७

हामी जस्ता आमा र बुहारीको बारेमा संगठनले के सोचेको छ?


ईन्दिरा बस्नेत

जब देशमा 2052 साल देखि 2062 सालसम्म सशस्त्र द्वन्द्व भएको थियो। माओवादीहरूले भूमिगत भएर गरेको सशस्त्र द्वन्द्वका क्रममा हाम्रो देशमा सत्र हजार मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए। तीनै सत्र हजार मध्ये तीन हजार सुरक्षाकर्मीहरू थिए। जोसँग हामी जोडिएका छौं। किनकी वहाँहरूका हामी धर्म पत्नी हौं। द्वन्द्वकालमा मारिएका ती सुरक्षाकर्मीका परिवारलाई संगठनले उच्च सम्मानका साथ ख्याल गर्नु पर्ने हो तर विडम्वना त्यसो हुन अहिलेसम्म सकेको छैन।

द्वन्द्व व्यवस्थापन भएको पनि आज पन्ध्र वर्ष भैसकेको छ। संगठनले हामीलाई बर्षमा एक पटक खाली औपचारिकता पूरा गर्न हामी परिवारलाई दिवसका दिन बोलाएर कुर्सी भर्ने र रूवाउने गराएको छ। म नेपाल प्रहरीको एक जुनियर अधिकृतको श्रीमती हुँ। मलाई संगठनले प्रहरी दिवसको दिनमात्र खोज्छ ,अघि पछि कहिल्यै खोजेको छैन। म त अलिकति भए पनि शिक्षित छु। आफ्नो जीवन र बालबच्चाको लागि केही गर्न सक्छु तर म जस्तै नेपाल प्रहरीका सोरह सय आमाहरू छन।

ती आमाहरू सबै बुहारी हुन। यती कष्टकर र पहाड जस्तो जीवन कसरी बिताएका छन होला भनेर आजसम्म संगठनले कहिल्यै हाम्रो बारेमा सोच्न सकेन। यी हाम्रा परिवारहरू हुन यीनलाई के छ भनेर हेर्न र हाम्रा बालबच्चाको बारेमा बुझ्ने कुनै पनि संयन्त्र निर्माण गर्न संगठनले सकेको छैन। हिजो सशस्त्र द्वन्द्वको शुरूवात गर्ने आज पार्टीका अध्यक्ष देखि सरकार प्रमुख भएका छन्। पार्टीले धेरथोर सहयोग गरेको छ। आफ्नो कमाण्डरको आदेशमा मार्नेहरूलाई कहीँ न कहीँ रोजगारीको व्यवस्था गरिएको छ।

तर हामी सुरक्षाकर्मी परिवारको बारेमा बोल्ने कोही पनि छैनन्। जे जे बोल्ने हो हामी आ आफैं मिलेर सरकार र संगठन समक्ष बोल्दै लड्न बाध्य भएका छौं। संगठन प्रमुखले जसलाई डिउटीमा खटाएर पठाएका थिए। सरकार र संगठनका निम्ति जसको आदेशमा हाम्रा श्रीमानले प्राण त्यागेर गएका थिए उनै संगठनका संगठन प्रमुखले पनि खोज्न सकेनन्।

अहिले हामीले देशभरका सुरक्षाकर्मीका शहिद परिवारहरूलाई एक आपसमा नजिकवाट भलाकुसारी गर्ने मौका पाएका छौं। म पनि त्यही मध्येकी एक आमा र बुहारी हुँ। जुन बेलामा श्रीमानको मृत्यु हुँदा म सानै उमेरमा थिएँ। अबोध सन्तानलाई हुर्काउन पनि ममा पूर्णता थिएन तर पनि बाध्य भएर सफलताको सिंढी चढेर अगाडि बढ्न आँट गरें। म जस्तै कयौं आमाहरू आफ्नै वाहुवहलमा अकल्पनिय दुखलाई विर्सेर वहादुरी पुर्वक समाजमा आफ्नो नाममा उदाहरण थप्न भएका भने पक्कै छौं। श्रीमानको मृत्यु पछि हामीलाई थुप्रै किसिमका लाञ्छना लगाउनेहरूको कमी थिएन। तर पनि हामीहरू कति पनि विचलित भएनौं।

आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्न हरेक चुनौती सहन बाध्य भएर नै अगाडि पाइला चाल्दै चाल्दै आज छोरा छोरीहरूको उच्च शिक्षा हासिल गराउन सफल भएका छौं। डाक्टर नर्स इन्जिनियर म्यानेजमेन्ट आई टी जस्ता विषयमा छोरा छोरी पढाउन आफ्नै महेनत र परिश्रमले गरेका छौं। अधिकांस समय हामी जस्ता आमाहरूको जीवन अभाव कष्ट र दुखमा नै विति रहेको छ। कसैलाई छोरा खाईस त कसैलाई अरूसँग बोलीस भनेर घर परिवारवाट अपहेलित भएर बस्नुपरेको पनि थियो। आफ्नै घरमा सासु ससुरा देवर जेठाजु लगायतका अन्य आफन्तले सम्म विभिन्न किसिमका आरोप लगाएका पनि थिए। एक्ली बुहारीले छोरा छोरी कसरी पढाउछें होला भनेर कहिल्यै सहयोग गरेका थिएनन। तर पनी हार खाएनन ती आमाहरूले।

यहाँनिर म के भन्छु भने हामी जस्ता तीन हजार आमाहरूलाई संगठन र संगठनका हिजोका जिम्मेवार उच्च सुरक्षा प्रमुखले एक पटक आफ्नै परिवारका सदस्य छोरा छोरी नाती नातिनीको अनुहार सम्झिएर संगठनका आदेशबाट टुहुरा भएका सन्तानको भविष्यको बारेमा एक पटक गहिरिएर सोची दिनुस त। विलासीततिका वस्तुहरूमा गर्ने खर्च यस्ता एकल बुहारी र टुहुरा सन्तानको भविष्यको बारेमा सोच्ने गरौं त। आफ्ना स्वार्थ र सानमा गर्ने करौडौं खर्चको एक अंस यता तिर लगानी गर्नुस त। हाम्रा श्रीमानको योगदानले आज संगठनको शीर उच्च छ भने योगदानको कदर गर्नु संगठनको दायित्व हो। हिजोको आफ्नो अंगरक्षक मारीदा अलिकति संवेदनशील हुन जरुरी छ। जसले अंगरक्षकको परिवारमा खुसी दिन सक्छ उ नै एक असल उच्च प्रहरी अधिकृत हुन्छ। पदले भन्दा पनि कर्तव्यले उच्च बन्न सक्नु पर्छ। यस्तो कामले नै तपाईं र तपाईंको परिवारमा सम्मानित र सर्व स्विकार्य बनाउन मद्दत पुर्याउने गर्छ। देशमा नयाँ संविधान जारी भयो।

संगठनका आगो लागेका घरहरू नयाँ निर्माण भए। अमर शहिद प्रहरी ,वीरगति सैनिक परिवार र अमर सशस्त्र शहिद प्रहरी परिवार भन्दै संगठनले गुण गाण गाएको सुनिन्छ। द्वन्द्व व्यवस्थापन गर्न गरेको बलिदानी संगठनका लागि पहिलो बहादुरी भएको छ।

ठुला ठुला प्रहरी कम्प्लेक्स ,गेष्टहाउस ,डिपार्टमेन्ट र पेट्रोल पम्पबाट कमाएको आम्दानीको केही अंश संगठनले हामी जस्ता बुहारी र आमाहरूको जीवन सहजीकरण गर्न छुट्याउनुपर्ने हो तर विडम्वना त्यसो हुन अहिलेसम्म सकेको छैन। संगठनका आ आफ्ना विद्यालयमा टुहुरा सन्तानले नि शुल्क पढ्न पाउनु पर्थ्यो तर त्यो पनि हुन सकेन। आफ्नो योग्यता अनुसार संगठनमा रोजगार पाउनुपर्ने हो त्यो पनि भएन।

सन्तति वृद्धि ,छात्रवृत्ति जस्ता स्वत पाउनुपर्ने ठाउँमा पनि पटक पटक आवाज उठाउनु पर्यो। संगठनका हस्पिटलमा हामीलाई उपचारको व्यवस्था हुन सकेको छैन। यस्ता गहन बिषयमा संगठनका संगठन प्रमुखले हाम्रा बारेमा संवेदनशील भएर न सोची दिए अब कसले सोची दिन्छ त ?संगठन नै कर्तव्य भन्दा बाहिर बस्छ भने खोज्छ कसले ?


क्याटेगोरी : विचार/अनुभूति
ट्याग : #आमा र बुहारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!