Techie IT
बिहीबार, कात्तिक ४,२०७८

जातियता र मानसिकता


अन्जु पौडेल भुसाल

नेपालटार

काठमाडौं विश्वमा बस्ने हरेक मानव जातीको उत्पत्ति, बसोबास स्थान तथा हावापानी अनुसारका आफ्नो आफ्नै विशेषता छन् । देशलाई पहिचान दिलाउने कार्य नै त्यहाँको परम्परागत कार्य र मौलिक गतिविधिले गर्दा हो। हरेक कार्य र गतिविधिको वैज्ञानिक परिक्षणको दायरा बढेसँगै मानव जातिको कार्यशैली समेत परिवर्तन हुँदै गएको छ ।

विश्व समाज गतिशिल भएकोले जातिय मुद्दा समायानुकूल परिमार्जन हुँदै गएको पाइन्छ । हिन्दु दर्शनलाई हेर्ने हो भने जहाँ …जन्मना जायते शुद्र, संस्कारातर द्विज् उच्यत æ जन्मदा प्रत्येक व्यक्ति शुद्र हुन्छ, पछि संस्कार र चेतनाले उच्चता हासिल गर्दछ, जस्ता भनाई भेट्न सकिन्छ । प्रथमत हरेक सजीव प्राणीमा जस्तो भाले र पोथी हुनुपर्नेमा मानव जातिमा मात्र काला र गोरा, उच र निच जातिको विवादले अल्पविकसित देश नेपाल सहित विकसित देश अमेरिकामा समेत प्रभाव पारेको पाईन्छ ।

प्रथा र परम्परालाई कानुनको स्रोत मानिने हुँदा सोंच र व्यवहारमा परिवर्तन नभई कानूनी कागजमा मात्र जातियताको निदान हुन सक्दैन । नेपालमा पनि विभिन्न समयमा घटेका जातिय घटनाले जातिय छुवाछुत निर्मूल हुन नसकेको सजिलै बुझ्न सकिन्छ ।कोरोना संक्रमणको समयमा भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्दा त हामीलाई धेरै कठिन भएको वर्तमान अवस्थामा कथित दलितको नाममा वर्षौं देखि सार्वजनिक सरोकारको क्षेत्र जस्तैः पानी, पँधेरो, मन्दिर, भोज भतेर, सार्वजनिक स्थल आदीमा जातीय दुरी कायम गर्न कति कठिन हुन्छ होला एक पटक सोचौं त ।दलितका आवाज बुलन्द पार्ने व्यक्ति तथा निकायबाट छुवाछुत मुक्त समाजको परिकल्पना गरेता पनि विभिन्न बाहानामा भेदभाव कायम रहेको पाइन्छ ।

नेपालको संविधान २०७२ मा स्वतन्त्रताको हक, समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक, शोषण विरुद्धको हक, दलितको हक जस्ता मौलिक हकहरुको व्यवस्था छ । त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा धर्म संस्कृति रीतिरिवाज, जातजाति वंश समुदाय वा पेसाका आधारमा जातीय भेदभाव वा छुवाछुत गरी सार्वजनिक वा नीजि स्थानमा भेदभाव गर्न नपाइने व्यवस्था छ र यसलाई दण्डनीय बनाई कैदको समेत व्यवस्था गरेको छ ।

दश वर्षे शसस्त्र जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन पछिको समयमा जातीय भेदभाव छुवाछुत तथा अमानवीय कुप्रथा अन्त्यको सामाजिक अन्तरघुलन सहितको अभियान चलाउन नसक्दा यसको दिगोपन रहन नसकेको जस्तो लाग्छ । मानवीय आचरण, अभ्यास र नैतिकतामा आधारित सामाजिक प्रणालीको विकास विना यसको अन्त्य सम्भव छैन ।

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भनेजस्तै हाम्रो समाजमा रहेका हरेक गतिविधिलाई सुक्ष्म मुल्यांकन गर्ने हो भने नेपालको ग्रामिण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रका युवाहरुमा समेत जातीय भुत रहेको पाइन्छ । शिक्षित क्षेत्र मानिने शहरमा समेत कोठा भाडामा नपाउनु, अन्तरजातीय विवाह पछि हुन सक्ने सामाजिक बहिष्करण, दलित जातीको नाम सुनेपछि गरिने व्यवहार आदी जातिय कुण्ठाको उदाहरण मान्न सकिन्छ । जातीभित्र पनि विभेद हुनु, जातीय अन्यायका विरुद्ध वुलन्द आवाज पार्न नसक्नु, आर्थिक रुपमा कमजोर रहनु, सामाजिक बहिष्करणमा पर्नु जस्ता कारणले जातिय एकता हुन सकेको छैन ।

जातियताको नाम हुने मानवता विरोधी कार्य, द्वन्द्व, हिंसा र सामाजिक बेमेल हुन नदिन श्रमको उच्च मूल्यांकन, अमानवीय घटनालाई निरुत्साहन र जातीय राजनीतिको अन्त्य हुनु जरुरी छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विचार/बहस
ट्याग : #अन्जु पौडेल भुसाल, #जातियता र मानसिकता


तपाईको कमेन्ट लेख्नुहोस्