Techie IT
मंगलबार, कात्तिक २,२०७८

एकपटक जानैपर्ने धार्मिक पर्यटकीय क्षेत्र : गोसाईकुण्ड


सुशान्त न्यौपाने

यात्रा डायरी :

गोसाईकुण्ड जाने मेरो २–३ वर्ष अघिको चाहनाअनुसार यसपटक मिल्ने साथीहरुको ८ जनाको समुह बनाएर जनैपूर्णिमाको अवसरमा गोसाईकुण्ड जाने निधो गरे ।

जसअनुसार भदौ ४ गते ११ बजे काठमाडौंको मनमैजु लोकतान्त्रिक चोकबाट हामी ८ जना (भुपाल गौतम, चेतनारायण न्यौपाने, खिमानन्द न्यौपाने, सुशान्त न्यौपाने, हिमलाल न्यौपाने, शोभाकान्त पाण्डे, बिनिता शिवाकोटी र वर्षा शिवाकोटी) को समुह स्र्कपियो गाडी लिएर रसुवाको धुन्चेतर्फ लाग्यौं । टोखा सडकहुँदै नुवाकोटको शिवपुरी, लिखु गाउँपालिका र बिदुर नगरपालिका हुँदै रसुवाको उत्तरगया गाउँपालिका, कालिका गाउँपालिकाको कालिकास्थान घुम्ती बजारमा गएर खाजा खाँदै गीत गाएर मनोरञ्जन गरी साँझको समय मिरमिर पानी परिरहेको बेला धुन्चे बजार पुग्यौं ।

 

शान्त र सुन्दर धुन्चे बजारमा गोसाईकुण्ड जाने भक्तालुहरुका कारण चहलपहल बढिरहेको थियो । धुन्चेमा बाक्लो हुस्सु लाग्नुका साथै पानी परिरहेको थियो । हुस्सुले बजार ढपक्कै दुलहीले घुम्टो ओढेझैं ढाकिएको थियो । पानी परेपनि बजारहरु राम्रो चलिरहेको देखिन्थे । धुन्चे बजार समुन्द्री सतहबाट २००० मिटर उचाईमा पर्दछ । धुन्चेमा होटलहरु पाउन पनि गाह्रो थियो । धन्न हामीले जिल्ला प्रहरि कार्यालय रसुवाका प्रमुख डिएसपि …पाण्डे सरलाई जानकारी गरेर गएको हुँदा पाण्डेले नै बस्ने होटल खोजिदिएका थिए । होटलमा बसेर रमाइलो गरी भोलीपल्टका लागि आवश्यक औषधि, खाजाका सामानहरुको बन्दोवस्त गरी सुत्यौं ।

पहिलोे दिन धुन्चेमा बास बसेर दोस्रो दिन बिहान ५ः०० नै स्नान गरेर बाहिर हेर्दा सुन्दर धुन्चे बजारलाई बादलको घुम्टोले छोडिसकेछ । मानिसहरु पैदल यात्रा सुरु गरिरहेका थिए । हामी पनि छिटो छिटो नृत्यकर्म सकेर सबै जनाले कालो चिया खाएर पैदल यात्रा सुरु ग¥यौं । यात्राकै क्रममा तारकेश्वरका धेरै चिनेजानेका साथीहरु र नुवाकोटका आफन्त जनहरुहरु पनि बाटोमा भेटिए । बाटोमा हामीले तारकेश्वर नगरपालिकाको कार्यपालिका सदस्य तथा वडा नं. ५ का वडा सदस्य साबित्री गुइदेलको टिमसँग भेट भयो । त्यसपछि भक्तपुर र कपनबाट आएको एउटा टिमसँग भेट भयो र उनिहरुसँगै बाटो लाग्यौं ।

 

बाटोमा जाँदैगर्दा सबैभन्दा पहिला हामी घट्टेखोला पुग्यौं । घट्टेखोला समुन्द्री सतहबाट १९६० मिटर उचाईमा पर्दछ । उकालो चढ्दै गर्दा देउरालीमा गएर हाम्रो टिमले चाउचाउको तातो सुप खाँदै आराम ग¥यौं । देउराली समुन्द्री सतहबाट २५०० मिटर उचाईमा पर्दछ । खाजा खाइसकेपछि उकालो चढ्दै शिव भजन गाउँदै हाम्रो टोली धिम्सा पुगेको थियो । धिम्सा समुन्द्री सतहबाट २९०० मीटर उचाईमा पर्दछ ।

 

धिम्सामा पनि चिया खाजा खाने अस्थायी होटल थियो । धिम्सामा दुईओटा बाटो आउँछ । जहाँबाट चन्दनबारी र ठुलोभखु पुग्न सकिन्छ । हामी भने चन्दनबारी जाने बाटोतिर लाग्यौं । यात्राका क्रममा बीच बाटोहरुमा बाटो काट्दै गर्दा मध्यान्ह हाम्रो टोली चन्दनबारी पुगेर दुग्ध विकास संस्थानको पुरानो र ठूलो चिज फ्याक्ट्रीको अवलोकन गरेपश्चात होटल पिस होम स्टे एण्ड लजमा गएर खाना खाएर आ–आफ्ना झोला बोकेर गोसाईकुण्ड तर्फ लाग्यौं ।

 

चन्दनबारी समुन्द्री सतहबाट ३२५० मिटरको उचाईमा पर्दछ । करिव २ घण्टा भन्दा बढिको उकालो र तेस्रोबाटो गरी हामी चोलाङपाटी पुगेर कालो चिया खायौं । त्यहाँ कोरोवार मिडियाको फोटो ग्राफर तथा पर्वतारोही पूर्णिमा श्रेष्ठसँग पनि भेट भयो र एक क्लीक फोटो खिचेर आफ्नो बाटो लाग्यौं ।

पर्यटकहरुका लागि चोलाङपाटीमा पनि राम्रो होटल र खाजा खाने व्यवस्था रहेछ । चोलाङपाटी समुन्द्री सतहबाट ३५५० मिटरको उचाईमा पर्दछ । त्यस्तै गरी चोलाङपाटीको १०–१५ मिनेटको बसाईपछि हाम्रो टोलीका ५ जना साथीहरु (चेतनारायण, भुपाल, हिमलाल, शोभाकान्त र खिमानन्द) अघिअघि र दुई जना पर्यटन बजारका पत्रकार (बिनिता र वर्षा) बीचमा र म आफु (सुशान्त) खुट्टा पासेको कारण हिड्न नसक्दा सबैभन्दा पछि विस्तारै हिँडेर करिव ३ घण्टा भन्दा बढि समय लगाएर लौरिविनायकको फेदीको मायाँ होटल एण्ड लजमा पुगें ।

 

लौरिबिनायक समुन्द्री सतहबाट ३९०० मिटरको उचाईमा पर्दछ । चोलाङपाटीदेखि लौरिविनायक क्षेत्रमा लालिगुराँसको बोट र झाडी बुट्यानमात्र रहेको थियो । हाम्रो साथीहरु ७ जना पनि मलाई बाटो हेरेर सोही होटलमा बसेका थिए । साथीहरु म नआएर आत्तिएका थिए । म पुग्ने वित्तिकै सबैजना एकैछिन खुशी भयौं तर मलाई पासेको कारण धेरै पिडा भएको हुँदा होटल पुग्ने वित्तिकै एक्कासी ज्वरो आएको कारण औषधि खाएर होटलको डायनिङ रुममै सुतें । साथीहरु ७ जनाले पनि खाना खाएपछि सबैजना डायनिङ रुममै सुतेका थियौं । सबैलाई थकाई लागेको हुँदा डायनिङको साइडमा राखेका टेवलहरुमा हामी मस्तसँग निदाइरहेका थियौं । रातको १२ बजेको समयमा १ जना मध्यपान गरेको मानिस होहल्ला गर्दै होटलमा आयो । हामी सुतेको डायनिङ रुममा आएर उसको हो–हल्लाले हामीहरु सबैको निन्द्रा खलबलाई दियो । त्यसपछि विस्तारै फेरि सुत्यौं ।

 

भोलीपल्ट (तेस्रो दिन) बिहान ५ बजे कालो चिया खाएर हाम्रो टोली करिव १ घण्टा भन्दा बढिको उकालो चढेर बुद्ध मन्दिर पुग्न सफल भयौं । लौरिबिनायकको उकालोदेखि बुद्ध मन्दिरसम्म माटो ढुंगा, जडिबुटी र फुलहरुमात्र देखिन्थ्यो । बुद्ध मन्दिरबाट तेस्रो–उकालो बाटो हुँदै अघि बढ्दै गर्दा सिंहदरबार अनलाइनका पत्रकार रोविन पौडेलसँग भेट भयो । हाम्रो टोली बिहानको १० बजेको समयमा गोसाईकुण्ड पुग्यौं । बुद्धमन्दिरदेखि गोसाईकुण्ड जाने बाटोमा  कालो चट्टानहरु र विषालु फुलहरुमात्र थिए । मैले कुण्डलाई गुगलमा मात्र देखेको थिएँ । एक्कासी आफ्नै अगाडी कालो चट्टानको अगाडी ठूलो ताल देख्ने वित्तिकै मेरो मन हर्ष र उत्साहले सबै थकाई भुलाईदियो । मैले त सानो पोखरी होला भन्ने सोचेको थिएँ । हामीहरु सबैजना एक टलहले हेरेको ह¥यै भयौं । कुण्डलाई बादलले लुकामारी खेल्दो रहेछ । त्यो दृश्य हेर्दा बादल र कुण्ड बच्चाहरु खेलेझैं देखिन्थ्यो । एकैछिनमा बादल हट्ने र एकैछिनमा आएर पानी पर्ने प्रक्रिया निरन्तर चलिरह्यो । बादल हटेको बेला हामीहरु कुण्डको दृश्य कैद गर्न व्यस्त हुन्थ्यौं ।

कुण्ड पुगेपछि सबै जनाले पालैपालो कुण्डमा नुहाएर पुजा अर्चना गर्नुका साथै जनै फेरेर रक्षाबन्धान बाँध्ने काम भयो । हामीले भैरवकुण्डको समेत अवलोकन ग¥यौं । गोसाईकुण्ड सबैभन्दा ठूलो र फराकिलो थियो । तर भैरवकुण्ड भने निलो डरलाग्दो देखिन्थ्यो । सरस्वती कुण्ड भने अलि तल रहेछ । सरस्वती कुण्डबाट सिन्धुपाल्चोकको हेलम्वुहुँदै चिसापानी जान सकिने पदमार्ग पनि देखियो । सुर्यकुण्ड जान करिव २ घण्टा लाग्ने भएकाले हामी नजाने सल्लाह ग¥यौं । गोसाइकुण्ड घुमिसकेर मन्दिरको पुजा गरेपश्चात पाँच जना साथीहरु खाजा खान गए । हामी तीनजना पत्रकार भने त्रिशुल धाराको जल र फोटो खिच्नका लागि लाग्यौं । त्रिशुल धारातिर अगाडी बढ्दै गर्दा एकैछिन घाम पनि लाग्यो । घाम लागेको बेला हामीले कुण्डको बीचमा पँहेलो गोला आकारको केही दृश्य देखेका थियौं । कोही भत्तालुहरुले त्रिशुल देखियो भन्दै थिए । त्यसपछि त्रिशुल धारा गएर फर्कदा साथीहरु हिँडिसकेको जानकारी भएपछि कुण्ड नजिक आएर चाउचाउको तातो झोल खाएपछि हामी पनि साथीहरु भेटने आसामा छिटो–छिटो बाटो लाग्यौं । अघिल्लो दिन बास बसेको मायाँ होटल एण्ड लजमा साथीहरु होलान भन्ने आसाले गयौं तर साथीहरु त्यहाँबाट पनि हिँडेको जानकारी भएपछि आ–आफ्नो छोडेको जुत्ता लिएर हामी चोलाङपाटी पुग्यौं । चोलाङपाटीमा पुग्दा दिनको करिव ३ बजेको थियो । त्यहाँ आर्मी र नेपाल प्रहरिको टोलीले लेकलागेको भक्तपुरका ४५ वर्षे एक पुरुषलाई औषधि खुवाएर स्टेचरमा राखेर धुन्चे लाँदै थियो । हामी पनि प्रहरि र आर्मीको पछिपछि लाग्यौं तर आर्मीहरु हामीभन्दा धेरै छिटो अगाडी गइहाले ।

 

तेस्रो भएपनि चिप्लो र हिलोबाटो हुँदै हामी चन्दनबारीमा ५ गते बिहान खाना खाएको होटलमा साथीहरु होलान भन्ने आसाले हतार हतार आयौं । हामी त्यहाँ आउँदा साँझको ६ बजिसकेको थियो । साथीहरु हामीभन्दा करिव ३ घण्टा अघि नै होटलमा आई खाना खाएर गइसकेको होटल सञ्चालकले बताएपछि बिनिताले मेरो र आफ्नो स्वीच अफ भएको मोवाइल एकैछिन भएपनि चार्जमा राखिन । हामीले बिहानको खाना साँझको ६ बजे खायौं । खाना खाइसकेपछि हामी तीनजना साथीहरु चन्दनबारीबाट देउराली जाने बाटोतिर अघि बढ्यौं साँझ परेकाले झमक्क भइसकेको थियो । पाँच जना साथीहरुलाई भेट्टाउन सकिएन । मोवाइल फोनमा सम्पर्क गर्दा कसैको फोन लागेन बिनिताको सानो मोवाइलबाहेक अरु सबैको अफ थियो । धन्न खाना खानेबेला बिनिताले १० मिनेट भएपनि मोवाइल चार्ज गर्न भ्याएकी रहेछिन् ।

त्यसपछि हामी तीनजना सानो मोवाइलको टच बालेर जंगलको बाटो हुँदै तलतिर झरदै थियौं । बाक्लो हुस्सु लागेको कारण सानो मोवाइलको लाइटले उज्यालो राम्रोसँग देखिदैन थियो । हामी सबैजनाको मन डराइरहेको थियो । एउटा मुढा देख्दा पनि कालो के चिज हो भनेर डर मान्दैै अघि बढिरहेका थियौं । मनमा धेरै नै डर लाग्न थालेपछि हामीले शिव भजन, गीत र कथाहरु भन्न थाल्यौं । चन्दनबारीभन्दा केही मुनीबाट हाम्रो पिछा गर्दै एउटा कुुकुर पछिपछि आयो । हामीले बाटो अलमलिँदा कुकुर आफैं हाम्रो अगाडी लागेर बाटो देखाउँदै गयो । त्यो घनाघोर जंगलमा कुकुरको सहारामा हामी बाटो क्रस गर्दै अगाडी बढ्दा टाढैबाट देउराली होटलको उज्यालो देख्न पाउँदा कताकता हामीमा खुशी आएको थियो । जंगलमा हिँड्दा देउराली गएर बस्ने हामीले योजना समेत बनायौं । त्यसैबेला हाम्रो साथी चेतनारायण न्यौपानेको मोवाइलबाट मेरो ३ प्रतिशत मात्र ब्याट्री चार्ज भएको मोवाइलमा फोन आयो । फोनमा बोल्दाबोल्दै अफ भइहाल्यो । उताबाट जानकारी आयो, हामी ५ जना देउरालीबाट तल झरिरहेका छौं तपाईहरु पनि छिटो आउनुहोस् भन्ने खबरले हामी अब धुन्चे नै जानुपर्छ भन्ने योजनामा पुग्यौं ।

साथीहरुसँग सम्पर्क हुँदा हामी खुशीले गदगद भयौं । अनि कुकुरचाँही त्यतिबेला जंगलतिर पसेर हरायो । हामी १०–१५ मिनेटको ओरालोपछि देउराली होटल पुग्यौं । त्यहाँ पुगेपछि अरु टिमका साथीहरु पनि भेटियो । बिरामी बोकेर ल्याएको आर्मीको टोलीसँग पनि भेट भयो । देउरालीमा १० मिनेट बसेर पानी पिएपछि अरु दुईजना साथीहरु र हामी तीनजना धुन्चेतर्फको बाटो लाग्यौं । बाटोमा नेपाल आर्मीका साथीहरुले केही समय हाम्रो झोला बोकेर सहयोग गरिदिएका थिए । ओरालो चिप्लो सानो बाटो हुँदै तल झर्दै गर्दा करिव ११ः२५ बजे हामी धुन्चे नजिकै पुग्नै लाग्दा बास बस्ने होटलभन्दा २ किलोमिटर गाडी हिँड्ने सडक बाटोमा चेतनारायण न्यौपानेले गाडी लिएर हामीलाई लिन आएका रहेछन् । त्यसपछि गाडी चढेर हामी साथीहरु बसेको धुन्चेबजारको होटलमा पुग्यौं र बास बस्यौं ।|

 

चौंथो दिन : धुन्चेको बास बसेको होटलमा कालो चिया र बिस्कुट खाएपछि बिहानको ७ बजे हाम्रो गाडी कालिकास्थान, बेत्रावती, बट्टारहुँदै त्रिशुली ड्यामसाइडमा आयो र ड्यामसाइडमा सबैले एउटा गु्रप फोटो र केही दृश्यहरु हेरेपछि हामी त्यहाँबाट देविघाटस्थित जालपा मन्दिरको दर्शन गरेर खाना खाने योजनाअनुसार अघि बढ्यौं । देविघाट त्रिशुल धाराबाट आएको त्रिशुली खोला र सुर्य कुण्डबाट आएको तादी खोलाको संगमस्थल पनि रहेछ । देविघाटमा मन्दिर दर्शन गरेपछि मनोरम फार्म स्टे प्रा.लि. होटलमा गएर खाना खाएपछि गल्छीको बाटोहुँदै काठमाडौं लाग्यौं । दिउँसो करिव ३ः०० बजे हामी मनमैजु लोकतान्त्रिक चोक आई आ–आफ्नो घरतर्फ लाग्यौ ।

मैले गोसाइँकुण्ड यात्रामा हिउँ देख्न पाइन्छ होला भन्ने सोचेको थिएँ । तर हिउँभन्दा काला पत्थरहरु र नसोचेका फुलहरु, घोडा, चौंरी र भेडाको बथान धेरै देखिए । तर पनि यात्रा रोमाञ्चक रह्यो । यो यात्रा मेरो जीवनको अहिलेसम्मको लामो यात्रा थियो । एकै दिनमा १८ घण्टासमेत पैदल यात्रा भयो ।

 

के हो गोसाईकुण्ड ? र यसको महत्व

गोसाईकुण्ड समुन्द्री सतहबाट ४३८० मिटर उचाईमा रहेको छ । यसको लम्वाई ६२५=५५ मिटर र चौंडाई ३२० मिटर रहेको छ भने २६ मिटर गहिराई रहेको छ । गोसाईकुण्ड वरपर हिम चट्टानको पहाडले घेरेको छ । तीर्थाटन पर्यटकहरुको ओहिरो लाग्ने गोसाईकुण्डले देश भित्र मात्र नभएर विदेशिहरुलाई समेत आर्कषणको केन्द्र बनाएको छ ।

धार्मिक हिसाबले मात्र होइन प्राकृतिक रुपले पनि भरिपूर्ण छ गोसाइँकुण्ड । गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले मनले चिताएको पूरा हुने र पाप पखालिने धार्मिक विश्वास छ । यही कारणले होला बर्सेनि हजारौंको संख्यामा भक्तजनहरु गोसाइँकुण्ड पुग्ने गर्दछन् ।

गोसाइँकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्र हो । हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार अगस्ट महिनामा पर्ने नेपाली पर्व जनैपूर्णिमा र दशहराका दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ ।
यी पर्वका बेला हजारौं तीर्थयात्रीहरू गोसाइँकुण्ड पुगी कुण्डको जलले स्नान गरेर धार्मिक आस्था प्रकट गर्दछन् । गोसाइँकुण्डको बीचमा रहेको ढुंगालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिन्छ ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष महादेवले पिएर घाँटीमा पुर्याएपछि भएको छटपटी शान्त पार्न निलाद्री पर्वतमा पुगेर त्रिशूल भुइँमा बजारेर निकालेको जलले प्यास मेट्नुका साथै त्यही जलले बनेको कुण्डमा विराजमान रहेको धार्मिक कथा पढ्न पाइन्छ । महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट वगेर तालको रुप लिएको ठाउलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ । तीर्थाटनका पर्यटकहरुले यस धारामा त्रिशूल चढाउँदछन ।

भाद्र शुक्ल पुत्रदा एकादशीदेखि जनैपूर्णिमासम्म सबै देवी देवता गोसाइँकुण्डमा आउने विश्वासका साथ त्यस दिन कुण्डमा पूजाआजा गर्नाले सम्पूर्ण देवीदेवताको दर्शन पाइने धार्मिक मान्यता रहिआएको छ ।
गोसाईकुण्ड जाँदा धुन्चेबाट पैदल यात्रामा पर्ने ३८ सय मिटरको उचाईमा रहेको लौरीविनाएकबाट लाङटाङ हिमाल गणेश हिमाल, रसुवा जिल्लाको स्याफु्वेशी धुन्चे, नुवाकोट जिल्लाको अधिकांस भुभाग र धादिङ जिल्लाको रुविभ्यालीको दृष्श्यालोकन गर्न सकिन्छ । जनै पुर्णीमामा गोसाईकुण्ड पुग्ने तीर्थाटनका पर्यटकहरुले तमाङ सस्कृतिमा रहेको तमाङसेलो, मेन्दोमायाँ, ढाङ्ग्रे नाच, र अन्य सम्प्रदायबाट प्रर्दशन गरिएका भजन, कृतन, खैजरी नाच समेत हेर्न सक्दछन । गोसाईकुण्ड क्षेत्रमा १०० प्रजाती भन्दा बढि फूलफुल्ने बनस्पति, विष, जटामसी, पदमचाल जस्ता बनस्पति पाइन्छ । सदरमुकाम धुन्चेदेखि ४ घन्टाको उकालो बाटोमा पर्ने घट्टेखोला, ढीम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौडा हुँदै विभिन्न प्राकृतिक दृश्य र जंगली जनावरको दृश्यावलोकन गर्दै दुई दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।

 

प्राकृतिक सौन्दर्यता, धार्मिक, जैविक, विविधता, ऐतिहासिक, पर्यटकिय र सांस्कृति महत्व सगैँ गोसाईकुन्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, दुधकुण्ड र सुर्य कुण्ड प्रख्यात कुण्डहरु मानिन्छन । तर रसुवा जिल्लाकै गोसाईकुण्डको भुगोलमा रहेका गतलाङको पार्वति कुण्ड टिमुरेको रिभरकुण्ड, वृद्धिमको दुधकुण्डमा पनि तीर्थाटनको लागि धार्मीक पर्यटकहरु पुग्ने गर्दछन । रसुवा जिल्लामा रहेको लाङटाङ र गणेश हिमाल आसपासका दर्जनौ ताल र कुण्डहरुले त्यहाँपुग्ने सबैलाई आनन्द बनाइदिन्छ । हिमाली श्रृंखला र पहाडको उपत्यका रहेको गोसाईकुण्ड धार्मिक एवम पर्यटकिय दृष्टीकोणले पनि अतिनै महत्वपूर्ण मानिन्छ ।

गोसाईंकुण्डको सबैभन्दा नजिकमा भैरव कुण्ड पर्दछ । यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रुप लिई बनेको हो । यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रुपमा नभएपनि भैरव कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने भएको हुदा यो कुण्डको छुट्टै विशेषता रहेको छ । गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ । भैरव कुण्डमा नुहाउने र पूजाआजा गरिने चलन भने छैन । सरस्वती कुण्ड भैरवकुण्डको निकासवाट गएको पानिवाट केहि तल बनेको कुण्ड सरस्वती कुण्ड हो । यो कुण्ड पनि गोसाईकुण्ड जस्तो फराकिलो चौडा र भैरवकुण्ड जस्तो गाढा निलो र गहिरो रुपमा पानीको मात्रा रहेको छैन ।

सूर्य कुण्ड गोसाईकुण्डवाट करिव २ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । नुवाकोट जिल्ला भएर बग्ने तादीखोलाको उदगम स्थल सूर्यकुण्ड हो । सूर्य कुण्ड नुहाएर सूर्यको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविस्वास रहेको छ ।

गोसाइँकुण्ड यात्रा : खानाको पाँच सय, बासको एक हजार पाँच सयसम्म

धार्मिक यात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न मूल्यदर कायम गर्न आवश्यक छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुलेका छन् ।

यसपटक कोरोना महामारीले जात्रा नहुने भनिएपनि एक्कासी भक्तजनहरु आएपछि लाङटाङ राष्ट्रिय निकुञ्जले खाना र बासको मुल्यदर र स्वास्थ्य शिविरहरु सञ्चालन गरेको थिएन । होटल सञ्चालक र घोडाका मालिकहरुले मनलाग्दी ढंगले भक्तालुहरुसँग पैसा असुलिरहेका थिए ।

 

खान र बस्नका लागि गोसाईकुण्ड यात्रामा न्यूनतम ३०० देखि ५०० सम्म प्रतिव्यक्ति भेज खानाको शुल्क सुतेको प्रतिव्यक्ति १००० देखि २००० सम्म लिने गरेको देखियो ।
यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको रु. ५०० र सुतेको रु. १००० देखि १५०० सम्म एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको रु. ४५० एवं सुतेको रु १००० सम्म लिएका छन् ।

धार्मिक मार्गअन्तर्गत धुञ्चेको घट्टेखोला, खन्ती, देउराली, धिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको देखिन्न ।

सामाजिक अभियान्ताले गरे गोसाइकुण्डमा सफाई

हिन्दुहरुको प्रमुख धार्मिकस्थल गोसाईकुण्डमा मेलाको अवसरमा तिर्थालुहरुबाट भएको फोहोर सरसफाई गरिएको छ । जनैपूर्णिमाको दिन मध्यान्हतिर तिर्थालुहरु पातलिँदै गएपछि विष्णुमति सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डे, पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपाने र सामाजिक अभियान्ता भुपाल गौतमले करिव आधा घण्टा सरसफाई गरेका थिए । अक्सीजनको अभाव हुनुका साथै भदौरे पानीको झरीमा लेक लाग्ने समस्या हुँदाहुँदै पनि अभियान्ताहरुले छोटो समय भएपनि फोहोर सरसफाई कार्यमा जुटिरहेको देख्दा थुप्रै भक्तजनहरु अचम्म मानेर हेर्दै थिए ।

 

सरसफाई कार्यक्रममा केही तिर्थालुहरुले पनि सहभागिता जनाएका थिए । कुण्डको मुख्य भागमा स्नान गरेर पुजा गर्ने स्थान वरपर तिर्थालुले जथाभावी फालेका भित्री कपडा, धुपका बट्टा र पलास्टिकजन्य फोहोरलाई संकलन गरेर डस्बीनमा राख्ने काम गरेको विष्णुमति सरसफाई अभियानका संयोजक शोभाकान्त पाण्डेले बताउनुभयो ।

 

भक्तजनहरूले बाटोमा, कुण्ड आसपास र कुण्डभित्रै पनि फोहोर फाल्ने गरेकोले यसलाई नियन्त्रण स्थानीय सरकारले गर्नुपर्छ । अन्यथा यो क्षेत्र धेरै दुर्गन्धित हुनेमा अभियान्ताहरूले चिन्ता प्रकट गरेका छन् । त्यहाँ जाने भक्तजनहरूलाई जथाभावी दिशापिसाव नगर्न समेत अपील गरेका छन ।

हिन्दु धर्मावलम्वीहरु विशेष गरी जनैपूर्णिमा र दशरामा गोसाइकुण्डको मेला जाने गर्दछन् । नेपालका मात्र नभएर भारतीय भक्तजनहरु पनि गोसाईकुण्ड आउने गरेका छन् । पर्यटकहरुको रोजाइमा गोसाईकुण्ड ट्रेकिङ रुट पहिलो प्राथमिकतामा पर्दछ । करिव ५ देखि ७ दिनको गोसाइकुण्ड ट्रेकिङ रुटमा पर्दछ ।

 


क्याटेगोरी : पर्यटन
ट्याग : #गोसाईकुण्ड


तपाईको कमेन्ट लेख्नुहोस्