मुस्ताङमा पुनः हिमपातसँगै सञ्चार र यातयात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताउनुभयो । स्थानीयबासिन्दा घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन ।
पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम विमानस्थलमा एक फिट हिउँ जमेको कारण अवरुद्ध भएको छ । भारी हिमपातका कारण हवाई उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख भानु कौरलाले बताउनुभयो । मौसम राम्र्रो हुनासाथ हिउँ पन्छाउने कौरलाले बताउनुभयो । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा भने खुशियाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिंह शेरचनले बताउनुभयो ।
हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागवानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताउनुभयो । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #मुस्ताङमा पुनः हिमपात
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्