रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने

रामकृष्ण तिमिल्सिना
असार १८ , २०७५ । । रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ ।
विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ ।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताउनुभयो ।
अठार महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो ।
यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । विसं २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।
गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।
प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात् नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७÷इसं १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संवत् ८११ इसं १६११) मा न्हुरपुखुर (न्हुपुखु) अर्थात नयाँ पोखरी भनिएको छ ।
बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ ।
पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर ओगटेको छ ।
रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो ।
क्याटेगोरी : विशेष
ट्याग : #रानीपोखरी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्