Techie IT
शुक्रबार, असोज ९,२०७७

नेपाल पत्रकार महासंघको सात बुँदे ककनी घोषणा पत्र


काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानीका मिडीया हकहित तथा संरक्षण समितिले साना लगानीमा सञ्चालित स्वरोजगारमुखी मिडियाहरुको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहत अन्तरक्रिया गरेको छ ।

नुवाकोटको पर्यटकीय स्थल ककनीमा शनिबार सम्पन्न अन्तरक्रियामा सहभागीहरुले साना लगानीका मिडीयाको हकहित तथा प्रवद्र्धनमा तिनै तहका सरकार गम्भिर हुनुपर्ने धारणा राखे ।

साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक सो अन्तरक्रियामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले अबका युग सकारात्मक सन्देश प्रवाह गरी विकास र समृद्धिमा लाग्नुपर्ने भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गर्नुभयो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री पंडितले एकादुई सञ्चारकर्मीको तर्फबाट गल्ती हुँदा नागरिकका तर्फबाट समग्र सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण फरक पर्ने हुँदा सम्पुर्ण सञ्चारकमहरुले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले आफुले ग्रहण गरिसकेको समितिद्धारा पारित सात बुँदे ककनी प्रतिवद्धता पत्रलाई गम्भिरताका साथ लिएको बताँउदै यसमा उल्लेख भएका विषयलाई पुरा गराउन सरकारका तर्फबाट भरपुर प्रयत्न गरिने प्रतिवद्धता जनाउनुभयो ।

सामान्य प्रशासनमन्त्री पण्डितले समाज परिर्वतनमा पत्रकार तथा सञ्चामाध्यमको भूमिका महत्वपूर्ण रहेको प्रस्ट पार्दै त्यस्तालाई टिकाउन राज्यले केही न केही समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले यो भेलाबाट साना लगानीबाट सञ्चालित सञ्चामाध्यमहरुको पिरमर्का नजिकबाट बुझ्ने मौका मिलेको बताउँदै अबका दिनमा आफुले संसद लगायतका हरेक निकायमा यसका पक्षमा जोडदार ढंगले आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले आफ्नो जिम्मेवारी कानुन निर्माण र नमिलेका कानुन मिलाउने समेत परेको बताउँदै साना लगानीका मिडीया मैत्री कानुन हरेक तहका सरकारले निर्माण गरी त्यस्ता मिडीयाहरुलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्र, वास्तविक तथा स्वावलम्बी पत्रकारहरुको संस्थाका रुपमा यो समितिले भूमिका निर्वाह गर्दै आएको आफुलाई महशुस भएको भन्दै साना लगानीका पत्रपत्रिकाहरुले व्यावसायिक एकरुपता कायम गर्न सक्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपालका ठुला मिडियाहरु व्यापारी, तस्कर लगायतका अन्य व्यवसायीहरुका हातमा पुगेको बताउँदै साना मिडीयामैत्री नीति जारी गरिनुपर्ने बताउनुभयो ।

मिडियामा केही कमी कमजोरी सच्चाउने तत्परता हामीमा पनि हुनुपर्ने बताउनुभयो । उनले समानुपातिक विज्ञापन लागू नभएसम्म पत्रकार महासंघले नछाड्ने बताँउदै यसको लागि जस्तोसुकै धर्ना विरोधका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सभापति तथा उक्त समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाज परिवर्तनमा साना लगानीबाट सञ्चालित सञ्चारमाध्यमहरुले खेलेको भुमिकाको मूल्यांकन हुनुपर्ने बताउँदै स्थानीय तहमा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरुको अवस्था नाजुक रहेकाले यसको प्रवद्र्धनका लागि राज्यबाट विशेष पहल हुनुपर्ने बताउनुभयो ।
लोककल्याणीका विज्ञापनको समेत बृद्धि गर्न अनुरोध गर्दै उहाँले समानुपातिक विज्ञापन लागू गर्न माग गर्नुभयो ।

कार्यक्रममा समितिद्धारा परित सात बुँदे ककनी प्रतिवद्धता मन्त्री पंडितलाइ हस्तान्तरण गर्दै ककनी प्रतिवद्धता पत्र ऐतिहासिक हुने बताउनुभयो ।

बुझाइएको प्रतिवद्धता पत्र लक्षित गर्दै कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा , लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनीयनका उपाध्यक्ष बाला अधिकारी, मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराज, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, एसएसपी गणेश ठाडा मगर, ककनी गाँउपाँलिका अध्यक्ष मानबहादुर लामा लगायतले उक्त प्रतिवद्धता पत्रमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रतिनिधीमुलक अग्रज पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा जर्मनीका पत्रकार इभा वीनर्स जर्मनीको पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गर्दै समितिले बुझाएको प्रतिवद्धताप्रति ऐक्यवद्धता जनाएकी थिइन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #ककनी घोषणा पत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!