२५ भन्दा धेरै नेपाली बालक यौनशोषण गर्ने इयूका पूर्वकर्मचारी पक्राउ

काठमाडाैं, ३ वैशाख ।
नेपालमा २५ भन्दा धेरै बालकमाथि यौनशोषण गरेका युरोपियन युनियन(इयू)का पूर्वकर्मचारी पाउल म्याकार्थी क्यानडामा पक्राउ परेका छन् । इयूका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी परामर्शदाता बनेर काम गरेका पाउल क्यानेडियन नागरिक हुन् । करिब डेढ महिनाअघि क्यानडा प्रहरीले उनलाई नेपालमा गरेको अपराधमा पक्राउ गरेको हो । नेपालमा रहँदा पाउल बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकलाई आफ्नो डेरामा लैजाने र यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको छ । क्यानडा पुगेपछि उनको साथबाट बरामद मोबाइल तथा ल्यापटपबाट अपराध पत्ता लागेको हो ।
पाउलले बालकहरूको गोप्य भिडियो खिच्नुका साथै यौनसम्बन्धी भिडियोहरू देखाउने गरेका थिए । क्यानडामा ‘चाइल्ड पोर्नोग्राफी’ सम्बन्धी अपराधमा उनीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानमा क्यानडा प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग सहकार्य गरेको छ ।
पाउलविरुद्ध नेपाल प्रहरीले समेत मुद्दा दायर गर्ने तयारी गरेको छ । उनलाई नेपाल ल्याउन इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिने सिआइबीका डिएसपी कवित कटवालले बताए । आफ्नो कार्यकाल सकिएपछि उनी अनाथालयमा सहयोगका नाममा नेपाल आउने गरेका थिए । पाउल गत मंसिरमा नेपालबाट क्यानडा फर्किएका थिए ।
बाल यौनदुराचार अभियोगमा तीन वर्षमा १३ विदेशी पक्राउ
सिआइबीले पछिल्ला तीन वर्षयता १३ जना विदेशीलाई बाल यौनदुराचारको आरोपमा पक्राउ गरेको छ । धेरै बाल यौनदुराचारीले नेपाललाई आफ्नो गन्तव्य बनाइरहेका छन् । पक्राउ परेकाहरू सबैले सहयोगको आवरणमा बालकहरूसँग नजिकिएर शोषण गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
राष्ट्रसंघको उच्च पदमा पुगेर अवकाश पाएका क्यानेडियन नागरिक पिटर डाल्गिसलाई गत वर्ष सिआइबीले पक्राउ गरेको थियो । हिमालय कम्युनिटी फाउन्डेसन नामक संस्थाको आवरणमा उनी नेपालमा बस्दै आएका थिए । नगरकोटछेउको एक घरमा उनी रंगेहात पक्राउ परेका थिए । नेपाल सहज गन्तव्य भएकाले युरोप, अमेरिका तथा क्यानडाका बाल यौनदुराचारीहरू नेपाल आउने गरेका छन् । ‘उनीहरूको ठूलो नेटवर्क नै छ जस्तो देखिन्छ,’ डिएसपी कटवाल भन्छन्, ‘एक–अर्काको लिंकबाट उनीहरू नेपाल आएको देखिन्छ ।’
बेलायतलगायत कतिपय देशले बाल यौनदुराचारीलाई आफ्नो देशमा आउनै बन्देज गरेका छन् । बाल यौनदुराचारमा विश्वभरि पक्राउ परेका व्यक्तिहरूलाई अध्यागमनको कालोसूचीमा राखेर बेलायतले भिसा नै नदिने गरेको छ । नेपालले पनि इन्टरपोलसँग सहकार्य गरेर उनीहरूलाई रोक्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
बालअधिकारका संरक्षक नै पक्राउ
बालबालिकाका लागि काम गर्ने एक गैरसरकारी संस्थाका विदेशी प्रतिनिधिसमेत बाल यौनदुराचार अभियोगमा पक्राउ परेका छन् । वसन्तपुरस्थित एसोसिएसन अफ चाइल्ड प्रोटेक्सन(एपिसी)मा आबद्ध ६९ वर्षीय फ्रेन्च नागरिक जर्जस् इगोर हिमान्स्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बुधबार ठमेलको एक होटेलबाट पक्राउ गरेको हो । उनको कोठाबाट प्रहरीले एक बालकलाई उद्धार गरेको थियो । दुई बालकले उनीविरुद्ध उजुरी दिएको सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।
उनी यसअघि पटक–पटक बाल यौनदुराचारको घटनामा कारबाहीमा परिसकेका व्यक्ति हुन् । जर्जस् सन् २००२ मा फ्रान्समा यस्तै अपराधमा पक्राउ परेका थिए । पछि, उनले शिक्षकका रूपमा सर्बियामा काम गर्न थाले । त्यहाँ पनि आफ्नै विद्यार्थीलाई यौनदुराचार गरेको अभियोग लाग्यो । त्यहाँ जर्जस्ले माफी मागेर देश छाडेका थिए । सन् २०१४ यता उनी सातपटक नेपाल आएका थिए । नेपाल भ्रमणको उनको उद्देश्य नै बालकहरूसँग यौनक्रीडामा रमाउनु रहेको खुलेको छ । बालकहरूसँग नजिक हुनकै लागि बालअधिकारसम्बन्धी संस्थामा उनी आबद्ध भएका थिए ।
नयाँपत्रिकाबाट
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालक यौनशोषण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्