भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।”
सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गर्नुभयो । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै सङ्कटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराउँदै उहाँले जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।”
अब नेपाल गरीब भइरहन नसक्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मरुभूमिका देश पनि धनी भइसके, जनसङ्ख्या बुढाबूढी भएको मुलुक पनि धनी नै छन्, हाम्रो ६० प्रतिशत जनसङ्ख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिकरुपमा निकै सम्पन्न भए पनि गरीब छाँै किन ? यो विषय अब नेपाललाई स्वीकार्य छैन् ।”
निश्चित समयसीमा तोकरै नेपाललाई विकासको चरणमा लैजाने बताउँदै प्रधानमन्त्री ओलीले पाँच वा दश वर्षभन्दा पछि नेपाल गरीब रहँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “त्यसपछि नेपाल गरीब छ, नेपाल पछाडि छ, नेपाल कमजोर छ भन्ने स्वीकार्य हुँदैन, नेपाल आकारमा मझौला भए पनि हैसियतमा निकै अगाडि छ ।”
नेपाल विद्वान र तिनका सन्तान भएको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उर्बरतायुक्त, ऋषिमुनीदेखिका ज्ञानगुनले भरिपूर्ण सदाचारयुक्त देश भएको सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल ठाडो शिरका साथ उभिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामीले हात फैलाउने होइन, सहयोग गर्ने बिन्दुमा पुग्नुपर्छ । दान लिने होइन दान दिने ठाउँमा पुग्नुपर्छ । यसका लागि भ्रष्टाचार अन्त्य हुनु जरुरी छ ।”
प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त रहन र मुक्त राख्नका लागि सम्बन्धित निकायकालाई सहयोग गर्न तथा आयोगलाई भ्रष्टाचार नियन्त्रण र निवारणमा हातेमालो गर्न आह्वान गर्नुभयो । सो अवसरमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नवीन सुधार र समन्वय तथा प्रक्रियागत सुधार शुरु गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा आयोगको स्थापना दिवसका अवसर पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै आयोगको कामकारवाहीमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रधानमन्त्री ओली
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्