किसानको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम शुरु

किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।
पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि खैरहनी नगपालिका–१ ज्यामिरेका इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल, नवराज भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेतीमा ट्याक्टर लगाउनुभएको हो । केही दिनअघि सोही नगरपालिका–६ तुलसीपुरका कृषक पुरन महतोले बन्दा जोतेर नष्ट गर्नुभएको थियो ।
कृषक नवराज भुसालले चार किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको बताउनुभयो । बन्दा प्रति किलोग्राम रु एकमा पनि नउठेपछि ट्याक्टर लगाएर नष्ट गरेको उहाँले बताउनुभयो । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताउनुभयो ।
यसैगरी इन्दिराले छ कट्ठा, सूर्यप्रसादको चार कट्ठा र कृष्णको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्याक्टर लगाएर नष्ट गर्नुभएको हो । बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी रु २० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो ।
सो क्षेत्रका तरकारी किसानको संस्था ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालका अनुसार ३६५ कृषक सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । उहाँका अनुसार १२ बिघा जतिमा लगाएको बन्दा नष्ट गरिसकिएको छ । अझै ६० बिघा जतिमा बन्दा रहेको उहाँले बताउनुभयो । गत वर्ष त्यस सहकारीका सदस्यले रु एक करोडको बन्दा बिक्री गरेको भुसालले जानकारी दिनुभयो ।
सो क्षेत्रमा लगाइएको बन्दासँगै मुला, भेन्टा, केराउलगायतले पनि मूल्य नपाएको उहाँले बताउनुभयो । त्यहाँका कृषकले झण्डै ३०० बिघामा तरकारी खेती गरेका छन् । खेती गर्दा खर्च बढी हुने तर मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनुपरेको भुसालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #किसानको तरकारी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्