जोखिम मोलेर दूधकोशी र सुनकोशी तर्नुपर्ने बाध्यता

हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् ।
सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी, घुर्मीलगायत तराईका विभिन्न जिल्ला आवतजावत गर्दा उनीहरूले डुङ्गामार्फत सुनकोशी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका छन् ।
आफ्नै नगरपालिकाको कार्यालय पुग्नसमेत त्यस क्षेत्रका बासिन्दालाई दुई ठाउँमा डुङ्गा चढ्नुपर्ने बाध्यता छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोशी र सुनकोशीले छोएको छ ।
साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ को खर्क, डुम्रे, बाहुनीडाँडा–९ को कुर्ले, रूपटार, सिरूवानी, चुखानलगायतका बासिन्दा जोर्तीघाटमा डुङ्गाबाट दूधकोशी मिसिएको सुनकोशी पार गर्न बाध्य छन् ।
यस्तै साविकको डिकुवा–३, बलुई र बाइटारका बासिन्दा पनि वर्षाैंदेखि तराई पुगेर नूनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुङ्गा प्रयोग गर्न बाध्य छन् ।
जोर्तीघाट सुनकोशी र दूधकोशीको सङ्गमस्थल पनि हो । पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुङ्गा चढेर सुनकोशी तरेर उदयपुरको कटारी नगरपालिका–१४ लेखानी पुग्छन् ।
केही समय लेखानी पुछारमा नदीको किनारै किनार हिँडेका स्थानीय पुनःडुङ्गाबाटै सुनकोशी तरेर ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्ले हुँदै हर्कपुर वा जयराम निस्केर यात्रा गर्न बाध्य छन् । उनीहरूको किनमेल गर्ने प्रमुख बजार नै घुर्मी हो ।
दशकअघिसम्म कटारीबाट घरायसी सामान ल्याउँदै आएका स्थानीयले हाल घुर्मीबाट चामल, नूनतेल, फलाम, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् । घुर्मी पुग्ने डिकुवा बलुई र बाइटारका बासिन्दाले भने बाहिरिने क्रममा कुर्लेघाट पार गरेपछि जोर्तीघाट पार गर्नुपर्छ ।
डुङ्गा नचल्ने कतिपय ठाउँमा गाडीको पाङ्ग्राको ट्युब प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन् । ठूल्ढुङ्गाबाट उदयपुर, साँघुरीबाट ओखलढुङ्गाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्युबको प्रयोग हुने गरेको छ ।
बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुङ्गाबाटै नदी तारेर चलाउने गरेका छन् । नदी वारपार गर्ने क्रममा डुङ्गा चालकलाई प्रतिव्यक्ति रु ५० का दरले शुल्क तिर्नुपर्छ ।
भौगलिक विकटता र नदीमा पुल नभएका कारण बाहुनीडाँडा र डिकुवाका बासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गा प्रयोग गर्न बाध्य छन् । हिउँदमा डुङ्गाबाट नदी तर्न सकिए पनि वर्षामा डुङ्गा नचल्ने हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन् ।
जसले गर्दा नदीले कुनै वर्ष चार जनासम्मलाई बेपत्ता बनाएको छ । झोलुङ्गे पुल निर्माणका लागि पञ्चायतकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको भए पनि अहिलेसम्म नबनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले दुखेसो गर्नुभयो । सो क्षेत्रमा सडक विस्तार नभएसम्म समस्या यथावत् रहने स्थानीय बासिन्दा बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #दूधकोशी र सुनकोशी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्