Techie IT
बुधबार, मंसीर १७,२०७७

प्रदेश ३ मा पैसा अथाह छ, टिप्न जान्नुपर्छ: कैलाश ढुंगेल


सम्भावना
प्रदेश ३ मा १३ जिल्ला छन् । स्रोत र साधनको हिसाबले यो प्रदेश अन्य प्रदेशभन्दा अगाडि छ । उद्योग, जलस्रोत, कृषि, पशुपालन, धार्मिक तथा सांस्कृतिक प्रदेश ३ का स्रोत हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा यही प्रदेशमा छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरहरू प्रदेश ३ मा बढी छन् । पशुपतिनाथ, चाँगुनारायण, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र यही प्रदेशमा पर्छन् । उपत्यकका तीन जिल्लामा धार्मिक तथा पर्यटकीय स्थानहरू उल्लेख्य मात्रामा छन् । गौरशंकर हिमालदेखि शैलुङसम्म यही प्रदेशमा छन् ।

कृषि र पशुपालनमा चितवन, काभ्रे, मकवानपुर र धादिङ अगाडि छन् । रामेछाप र दोलखामा जलविद्युत्को प्रचुर सम्भावना छ । रसुवा, नुवाकोट, सिन्धुली र सिन्धुपाल्चोकले ठूलो सम्भावना बोकेका छन् । देशका करिब दुईतिहाइ उद्योग यही प्रदेशमा छन् । काठमाडौं, भक्तपुर, ललितपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू छन् ।

चितवन र हेटौँडामा थप औद्योगिक क्षेत्रहरू खुल्दै छन् । जहाँबाट लाखौँले रोजगारी पाएका छन् । केन्द्रीय राजधानी पनि रहेकाले यस प्रदेशले नमुना प्रस्तुत गर्नुपर्नेछ । विदेशीहरूले यही प्रदेशको चस्माबाट अन्य प्रदेशलाई हेर्छन् । मुलुककै सबैभन्दा बढी आर्थिक सम्भाव्यता प्रदेश ३ मै छ ।

तराईदेखि हिमालसम्म
प्रदेश ३ को भूभाग तराईदेखि हिमालसम्म फैलिएको छ । औद्योगिक नगरीको रूपमा विकास गर्न सकिने प्रसस्त स्थानहरू यो प्रदेशमा छन् । रामेछापमा फलाम खानीको सम्भावना छ । सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चुनढुंगा पनि यही प्रदेशमा छ । जडीबुटी, जलस्रोत, गिटी–बालुवालगायतका स्रोत पनि छन् । हिमालदेखि तराईसम्मका भूभाग भएकाले जस्तोसुकै उत्पादन यो प्रदेशमा हुन्छ । बहुमूल्य जडीबुटी पनि यस प्रदेशमा छन् ।

कृषिको स्रोत र बजार
गाउँमा पैसा जाने स्रोत भनेको कृषि हो । काठमाडौंमा पाइने दूधका सबै परिकार गाउँकै उत्पादन हो । त्यो रकम गाउँघरमै जान्छ । तर, कोक खानुभयो भने त्यो पैसा तुरुन्त विदेश जान्छ । राष्ट्रिय उत्पादनको ७१ प्रतिशत दूघ उत्पादन यही प्रदेशमा हुन्छ । खपत ७० प्रतिशत हुन्छ ।

पशुपतिनाथ, चाँगुनारायण, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र र हनुमानढोका दरबार क्षेत्र यही प्रदेशमा पर्छन् । गौरशंकर हिमालदेखि शैलुङसम्म, हिमालदेखि तराईसम्मको भूभाग यही प्रदेशमा छ । सांस्कृतिक सम्पदा, जलस्रोत, उद्योग, कृषि, पशुपालन, बहुमूल्य जडीबुटी, ऐतिहासिक स्थान यहीँ छन् । केन्द्रीय राजधानी पनि यही प्रदेशमा रहेकाले हामीले नमुना काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्नेछ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल यही प्रदेशमा भएकाले विदेशीहरूले यही प्रदेशको चस्माबाट अन्य प्रदेशलाई हेर्छन् । सोहीअनुसार संघीयतालाई बुझ्छन् । त्यसलाई समेत ख्याल गरेर काम गर्छौँ ।

प्रदेश ३ मासु, दूघ र अन्डामा आत्मनिर्भर छौँ । दुग्धजन्य पदार्थ विदेश निर्यात गर्नुपर्छ । यसमा ठूलो सम्भावना छ । सँगसँगै फलफूलको क्षेत्रमा कागती, जुनार, सुन्तलाको सेन्टरमा छौँ । सिन्धुली, रामेछापलगायत ठाउँमा कागती, जुनार र सुन्तला अपार मात्रामा पाइन्छ । त्यसको खपत पनि काठमाडौंमै छ । कोल्डस्टोर र बजारको उचित व्यवस्था गर्नुपर्नेछ ।

काभ्रे, धादिङ र मकवानपुरको तरकारी बाहिर पठाउन सकिने अवस्था छ । काठमाडौं ठूलो बजार हो । यसमा हामी अलि बढी ध्यान दिन्छौँ । अन्य प्रदेशभन्दा यो प्रदेश सक्षम छ । सँगसँगै विदेशीले पनि नेपालको संघीयता हेर्दा प्रदेश ३ को चस्माबाट हेर्छ ।

विदेशी आउँदा सबैभन्दा पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रन्छन् । प्रदेश ३ ले राष्ट्रियस्तरमा लिड गर्नुपर्छ । हामी नमुना काम गरेर नेतृत्व गर्नेछौँ । १३ वटै जिल्लाको विशेष योगदान रहने गरी काम गर्ने योजना छ । वनमा पनि ठूलो सम्भावना छ । तर, हामीले व्यवस्थापन गर्नुपर्नेछ । स्रोत र साधनलाई व्यवस्थापन गर्न सकियो भने प्रदेश ३ आत्मनिर्भर बन्छ ।

समस्या पनि छन्
हाम्रासामु अवसरसँगै चुनौती पनि छन् । यति धेरै सम्भावना हुँदा पनि हाम्रो प्रदेशबाट लाखौँ युवाशक्ति विदेश पलायन भइरहेका छन् । कृषिमा आधारित काम धेरै गर्न सकिन्छ । अर्गानिक उत्पादन गर्ने हो भने किन्नेको लाइन लाग्छ । लोपन्मुख चौँरी, यार्सालगायतका सम्पूर्ण चिज यस प्रदेशमा पाइन्छन् । कुनै पनि नागरिकले फलफूल बचेर मात्र बस्छु भने पनि ४० हजार रुपैयाँ कमाउन गाह्रो छैन ।

राजस्व तिरेर गाई सहकारी चलाउनुभएको छ भने दूध बिक्री नहुने भन्ने प्रश्नै आउँदैन । हामीले मेलो नचानेर हो । लोकल कुखुरा पाल्नुभयो भने बिक्री नहोला भन्ने छैन । तैैपनि युवाशक्ति त्यतातिर आकर्षित गर्न सकिराखेका छैनौँ । हामीले अहिले तत्कालै ठुल्ठूला परियोजना सञ्चालन गरिहाल्ने अवस्था छैन ।

तर, क्रमिक रूपमा हामी विकासरनिर्माणको मूल फुटाउनेछौँ । प्रदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेछौँ । दक्ष जनशक्ति तयार पार्नेछौँ । कोही पनि नागरिक विनाकाम बस्नु नपर्ने वातावरण तयार पार्नेछौँ । पत्रकारिता गरेर, खेल खेलेर, स्कुलमा पढाएर पालिने अवस्था हुनुपर्छ । खेलकुदमा राम्रो छ, तर बिहान–बेलुका हातमुख जोड्न धौधौ हुने अवस्था आउनुहुन्न । व्यावसायिक बन्नुपर्छ । व्यवसाय गर्दा कतै कानुनले छेक्यो भने हामी पन्छाउँछौँ ।

एक जिल्ला फरक हव
किबी खेती रामेछापको दोरम्बामा हुन्छ । बिक्री पनि राम्रो छ । एउटा जिल्लामा एउटा हव मात्र भनेर हुँदैन । तराईका जिल्लामा त्यो लागू होला, तर पहाडी जिल्लाम त्यो लागू हुँदैन । एउटा डाँडावारि एउटा र डाँडापारि अर्कै चिज उत्पादन हुन्छ । एउटै चिज लगाउने हो भने डाँडावारि राम्रो भएको चिज डाँडापारि हुँदैन । उत्तरी भेगमा एकखाले उत्पादन हुन्छ, दक्षिणी भागमा मिल्दैन । जहाँ जे हुन्छ त्यही गर्नुपर्छ । जहाँ टेके पनि पैसा छ । तर, टिप्न जान्नुपर्छ ।

राज्यले दिने भनेको ट्युसन मात्रै हो । लेख्न त आफैँ लेख्नुपर्छ । शिक्षकले पठाउने मात्र हो, परीक्षा दिन त विद्यार्थी नै जानुपर्छ । क लेख्नुपर्नेमा ज्ञ लेखेर आयो भने जति नै राम्रो पढाए पनि काम छैन । गर्ने आफैँ हो, सरकारले वातावरण मात्रै तयार पारिदिने हो ।

कडा नियम आवश्यक
गाई, भैँसी पाल्ने भनेर अनुदान लान्छन् । तर, मिलाएर त्यसै खाइदिन्छन् । हाइड्रो बनाउने भनेर अनुमित लिन्छन्, तर झोलामा खोला बोकेर हिँड्छन् । सरकारी अनुदान कागजमा काम देखाएर खाने परिपाटी छ । अब अनुदानमा कडाइ गर्नुपर्छ । तीनपुस्ते विवरण राखेर अनुदान दिनुपर्छ ।

आगलागी, भूकम्प, महामारीबाहेक काम गर्नुभएन भने त्यो अनुदान असुलसहित पाँच वर्ष जेल बस्नुपर्ने व्यवस्था गरियो भने कसैले पनि ठग्दैनन्, सबैले काम गर्छन् । त्यसपछि लक्ष्यअनुसारको काम हुन्छ । तर, अहिले कागजमा मिलाएर चल्ने काम छ । त्यसमा परिवर्तन गरेर कुरामा वा कागजमा मात्र होइन, व्यवहारमै काम भएको हुनपर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कैलाश ढुंगेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545