Techie IT
बिहीबार, फागुन १३,२०७७

अध्यात्मको अनुशरणले जीवनमा महत्वपूर्ण सफलता हासिल गर्न सकिन्छ : स्वामी चुडामणी महाराज


शान्तिधाम, तारकेश्वर ।  तारकेश्वरमा हरेक महिनाका पहिलो शनिवार सञ्चालन हुँदै आएको मन्थनको माघ महिनाको श्रृंखलामा शान्तिधामका स्वामी चुडामडी महाराजले अध्यात्मको अनुशरणले जीवनमा महत्वपूर्ण सफलताहरु हासिल गर्न सक्ने बताउनु भएको छ ।
तारकेश्वरको पहिचानलाई बलियो बनाउँदै आएको धार्मिक एवं पर्यटीय स्थल शान्तिधाममै आयोजित मन्थनमा मठाधिश स्वामी चुडामणीले मानव जीवनमा आत्मवोधले मात्रै प्रगति गर्न सक्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, जबसम्म मानिसले आत्मबोध गर्न सक्दैनन तव त्यो जीवन निर्रथक छ । नियम, कानुन र अनुशासनमा रहनु भनेको अध्यात्म हो ।

सम्पूर्ण जीवन जगत नै यही नियममा रहेकाले मानवहरुले पनि सोही कुराको अनुशरण गर्नुपर्ने उहाँको धारणा थियो । सवैले आआफ्नो धर्ममा रहनु पर्ने बताउँदै उहाँले थप्नुभयो, सूर्य समयमा उदाउनु, हावा चल्नु र ऋतु परिवर्तन हुनु उनीहरुका धर्म हुन् ।

आफ्नो जन्मको सार्थकता खोज्नु पर्ने आवश्यकता बताउँदै उहाँले मैले मेरो परिवार, समुदाय र देशमा के गर्न सके भनेर हेर्नु पर्ने या मैले के गर्न सक्छु भनेर सोच राख्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । हाम्रो वैदिक संस्कार तथा संस्कृतिहरु ५ हजार वर्षदेखि चाल चलनमा रहेको र हामीसँग अथाह ज्ञानको भण्डार भएकाले त्यसको सोधखोज र चर्चा गर्नुपर्ने आवश्यकता मन्थनमा व्यक्त गर्नुभयो । उहाँले सफलताका लागि आध्यात्मिक जीवन दर्शनको महत्वबारेमा मन्थनको उक्त आठौं श्रृखलामा करिव एक घण्टा आफ्ना भनाई तथा अनुभवहरु प्रस्तुत गर्दै शान्तिधामको विकास र संरक्षणका लागि आग्रह पनि गर्नु भएको थियो ।

गएको आठ महिनादेखि प्रत्येक महिनाको पहिलो शनिबार विकास, संस्कृति र साहित्यको विषयमा अनुभव तथा ज्ञान आदान प्रदान गर्ने उद्देश्यले मन्थनको आयोजना हुँदै आएको छ ।

मनमैजु सांस्कृतिक समाजको संचार विभागले आयोजना गर्दै आएको मन्थनको आगामी श्रृंखला फागुनको पहिलो शनिबार तारकेश्वरका सामुदायिक विद्यालयहरुका वर्तमान अवस्था र अबका दिनमा गर्नुपर्ने कार्यहरुबारेमा हुने मन्थनका सञ्चालक श्रीराम फुटुगेले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर, #मनमैजु साँस्कृतिक समाज, #शान्तिधाम, #श्रीराम फुटुगे, #स्वामी चुडामणी महाराज


तपाईको कमेन्ट लेख्नुहोस्