कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरापालक किसान आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नुपरेको थियो । कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना सङ्क्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगले चल्लाको उचित मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार आज उद्योगले रु ७० प्रतिगोटा ब्रोयलर चल्ला बिक्री गरेका छन् ।
उहाँका अनुसार कोरोना सङ्क्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नुपरेको थियो । त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा रु १२५ र ब्रोयलरको रु ७० मा बिक्री भइरहेको छ । किसानले चल्ला राख्न थालेपछि बिक्री हुन थालेको हो । नेपालमा ३२४ वटा ह्याचरी उद्योग छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोयलर चल्ला उत्पादन हुने गर्दछ ।
यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाइ छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उहाँको भनाइ छ । उत्पादन राम्रो हुँदा ब्रोयलर चल्लाको लागत मूल्य रु ५६ पर्ने सङ्घको तथ्याङ्कमा उल्लेख छ । अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट (३० गोटा) रु ३४५ मा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु ११.५३ हो ।
किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताउनुभयो । तीन वर्ष अघि प्रतिक्रेट रु ३६० पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो । कोरोना सङ्क्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उहाँले बताउनुभयो । अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ । हाल देशभरमा दुई हजार ७०० किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको सङ्घको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ । नेपाल दाना अण्डा वितरक सङ्घका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो रु ३३० मा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य रु २१० कोे हाराहारीमा पाएका छन् ।
लागत मूल्यभन्दा बढी भएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको समयमा जिउँदो कुखुरा रु ९० प्रतिकिलोमा बिक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापितसमेत भएको पाण्डेको भनाइ छ । उहाँले भन्नुभयो, “कुखुरा पाल्ने किसानको लागत मूल्यभन्दा बढी आम्दानी होस् भनेर हामीले आम जनतालाई मासु र अण्डाको बारेमा प्रचारप्रसार समेत गरेका छौं ।” कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्यसमेत बढेपछि लागत मूल्य थपिएको छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो रु सात र भटमासमा रु १२ वृद्धि भएको उहाँले जानकारी दिनुभयो । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढे पनि किसानको अवस्था हेरेर दानामा रु तीन प्रतिकिलो बढाइएको उहाँले जानकारी दिनुभयो ।
दानाको अधिकांश कच्चापदार्थ भारतलगायत देशबाट आउने गर्दछ । जसका कारण मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ । नेपालमा कुखुराजन्य व्यवसायमा अर्बौको लगानी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कुखुरापालक किसान
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्