Techie IT
बिहीबार, कात्तिक ४,२०७८

कर्णालीतिरको दशैँ


आहा !

दशैँ र तिहार शब्द सुन्नासाथ मनमा एक किसिमको उर्जा पैदा हुन्छ।

हामी कर्णालीका बिद्यार्थी । दशै तिहारमा घर जानु पर्छ भनेर हामी पहिला बाट नै पैसा जम्मा गर्न थालनी गर्छौ । किनकी हाम्रो घर जान त्यति सहज थिएन र अझै छैन । हवाईजहाज यात्राको विकल्प थिएन त्यतिबेला । त्यसमाथि नि दशैँको बेला सवैजना घर जाने भएकोले टिकट भाडा नि अरुबेलाको तुलनामा महङ्गो नै हुन्छ।

हामी शहरमा पढ्न भनेर आएका सबै साथीहरू अब दशैमा घर जानुपर्छ रमाईलो गर्नुपर्छ भनेर छलफल र बहस गर्ने गरिन्थ्यो। घर जान अलि महङ्गो र झन्झट भएकोले प्राय १,२ बर्षको अन्तरमा घर जाने गरिन्थ्यो। लामो समयपछि घर जाने भएकोले घर जान पाउदा निकै रमाइलो र आनन्द लाग्थियो अनि खुशिको सिमा नै हुन्थेन। न सहरको धुलो धुवा, न फोहोर, जताततै रंगीचंगी फुलहरुको बर्षा हुन्थ्यो। घर जादा दिदिबहिनी, गाउँका साथीहरू र अन्य आफन्त हामी आउने खबरले निकै खुशि हुन्थए अनि फोन गरेर मलाई काठमाडौंबाट यो सामान लाईदिनु त्यो सामान लाईदिनु भनेर भन्थिय तर विडम्बना प्लेनमा हामीलाई १५ केजि बराबरको सामान मात्र लिन दिन्थे त्योबेला चाहि सरै नमज्जा लाग्थ्यो।त्यसमा पनि बाल्यकालमा दशैँको मस्ती, तिहारको त्यो देउसिभैलिको रमाइलो नि बेग्लै थियो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने । कति आनन्दको पर्व । स्कुल नि लामो समयसम्म बिदा हुने ।

दशैं र तिहारका कुरा आउँदा मलाई जन्मथलो हुम्ला र बाल्यकालको सम्झनाले सताउँछ। दशै तिहारको रौनक नै बेग्लै हुन्छ। जताततै रंगीचंगी फुलहरुको बर्षा र रमणीय वातवरण हुन्थ्यो ।

गाउँघर तिरको घर माटो,ढुङ्गा र काठले बनेको हुन्छ, दशैमा सबैको घर सेतो कमेरो माटो र रातो माटोले लिपपोत गरेर पुरै झिलिमिलि गरेर सिङ्गारेको हुन्छन् बालीनालि सब भित्र्याएर गाउलेहरु खुशी हुन्छन्, घरघरमा नयाँ लुगा लगाउने रहर, मासु खान पाइन्छ भनेर खुशी भएको त्यो पल, आमालाई फकाएर ओखरको रुखमा पिङ हालेर खेल्नुको मज्जा, नयाँ लुगा लगाउँदै पिङ खेल्न दौडिएको त्यो समय। काक्रो, चोतोको र अन्य स्थानीय उत्पादनबाट बनाईयको अचार, मार्शि चामलको भात र लोकल चङ्राको झोल मासु, चिनो चामल खीर, फापरको लगड, चोतिको अचार, चौरिको दुध, ति खानेकुराहरु सम्झीदा अहिले नि कतिबेला गएर खाने होला जस्तो लाग्छ। गोरुहरु वनपाखामा चराउन गएको, बनभोज पकाएर खायको दिन, ति हरेक बनजङ्गल,पशुपन्छि सङको मित्रता अहिले सम्झिदा नि आनन्द लाग्छ। अब जाडो आउछ हिउ पर्छ चिसो हुन्छ भनेर सबजना मिलेर दाउरा लिन गयको त्यो क्षण,आहा अब त केबल सम्झनाबाहेक के पो रहर्यो र ।

जब घरमा आमाबुवा लाई फोन गर्छु, आमा भन्नुहुन्छ, यहाँ त दशैं आयो नानी, तिमीहरु कसरी मनाउँछौ, अहिलेको समय यस्तो छ, साल समय ठिक छैन, छोराछोरी टाढा छौं पिर लाग्छ, कहिले घर आउने आदि आदि । हामी पनि यहाँ मनाउँछौ नि आमा, यता सानीआमा घर गएर मनाउछौ, रमाइलो हुन्छ, चिन्ता नलिनु है। आफ्नो ख्याल गर्नु, दशै रमाइलो गरेर मनाउनु होला, यसपालि दशैमा घर आईएन यस्तै हुन्छ मेरो जवाफ ।

गाउँ घरका केटाकेटीलाई दशैं–तिहार जतिको रमाइलो पल सायदै अरु छन्। यहाँ दशैं, तिहार जेजस्तो आए पनि गाउँघरको जस्तो रमाइलो कहाँ हुन्छ र ?
त्यति धेरै साथीहरु अनि आफन्तहरुसँग भेट्ने अवसर कहाँ पाउनु ? कहाँ हुन्छ घरलाई बेहुलीजस्तै सिगार्ने त्यो जाँगर ? अनि त्यो घर, कहाँ छ, तिहारमा एउटा गाउँबाट अर्को गाउसम्म देउसिभैलि खेल्न पुग्ने समय कहाँ छ र अहिले ? आँगनभरि फुलै फूलले हराभरा भएको त्यो सुगन्धित वातावरण, घरको वरिपरि खेतमा धान पाकेर खेतबारी नै सुनौलो भएको त्यो क्षण, त्यसैको सुगन्धमा प्रफुल्ल रमिरहेको मेरो गाउँ ।

बर्षमा एकैपटक दुई जोर कपडा पाउने दशै कहिले आउलाझै हुन्थ्यो। स्कुलको ड्रेस र टीकाको दिनमा लगाउने अर्को ड्रेस। कुनैकुनै बर्ष बाबाले स्कुल ड्रेस नयाँ नै छ त जेठि मान्छे अहिलेलाई यसैले चलाउनु नयाँ किन्नु पर्दैन भाईबहिनिलाई किनि दिन्छु तलाई अर्कोसाल भन्नु भयो भने रोइकराई कसरी हुन्छ नयाँ ड्रेस किन्न लगाएरै छाड्थेँ।

अस्टमीका दिन खसिबोकाको बल काट्ने दिन त्यो काटेको देख्नै सक्दिन थिए, आफैले पालेको निकै माया लाग्ने अघिल्लो दिनसम्म घास काटेर खुवाएको अनि तेस्को परिवारलाई कति नराम्रो लाग्यो होला भन्दै रुदै बस्थे मासु नि खान्न थिएँ । १,२ दिन सम्म एकदम पिडा हुन्थ्यो निकै रुन्थीँ । बिहानै उठेर हामीहरु स्याउला, पराल (गाईबस्तुको बस्ने गोठमा राख्न प्रयोग गरिन्छ) र घाँसदाउरा दाइहरुसँग लिन बनतिर जाने गर्थियेऔ। गाउँका सबै केटाकेटी जम्मा भएर घर भन्दा अलि पर ओखरको रुखमा मिलेर पिङ बनाईथिओ। पिङ राखिसकेपछि बल्ल दशै आए झैं हुन्थ्यो। घर लिपपोत गर्नको लागि कमेरो९ सेतो० माटो लिन टाढा जान पर्ने हुन्थ्यो अनि पुरै टोलि सहित रमाइलो गर्दै माटो लिन जान्थेम त्यति मात्रै नभएर घरआँगन बाटोघाटो चौतारो, माडु ९मन्दिर० सरसफाइ गर्ने र रङ्गाउने काम पनि गथ्यौं। सानै भए पनि त्यस्ता सामाजिक काममा अगुवा भएर हिड्थेँ म।

पहिला गाउँमा सबैका घरघरमा टेलिभिजन थिएनन्। पुरानो रेडियो हुन्थिओ, माबाईलको त जमाना नै थिएन। दशैं भनेपछि सब बर्खाको बालिनालि भित्र्यायर मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, देशभन्दा बाहिर रहेका आफन्त, छिमेकी जम्मा हुने पर्व भएकाले गाउ नै पुरै दशैमय हुन्थ्यो, हामी राति कथा,चुट्किला९पुरानो गीत सुन्न हाम्रो गाउँको सबैभन्दा जेठो बाजेको पुग्थियेउ। कहिलेकाहि भुतको कथा सुनाउदा डरले रोएको ति दिनहरु अझै ताजा नै छन्। बर्सेनि दशै आउँछ जान्छ तर हामी सबैलाई कथा सुनाउने, हसाउने, सम्झाउने, माया गर्ने, हाम्रा बाजे आउनु हुदैन सम्झनाले निकै सताउछ। दशैको दिन दक्षणा बढी पाइन्छ भनेर टीका लाउन थुप्रै ठाँउ पुगिन्थ्यो। सबैले टीका लगाइदिँदै दक्षिणा दिन्थे । घरमा आएपछि कसको पैसा कति भयो भन्ने हिसाब किताब हुन्थ्यो । ती क्षणहरु सम्झिँदा साह्रै रमाइलो लाग्छ अनि त्यो बालापनको निर्दोषमनहरु सम्झिँदा हाँसो पनि उठ्छ। अहिले त्यो बेला जस्तो रमाईलो कहा छ र बरै !

तिहार भन्न बितिकै झिलिमिलि र देउसिभैलिको रमाइलो जस्तो लाग्ने गर्थिओ। तिहारमा भैलि खेल्नुपर्छ भनेर दशै पछि नै आफ्नो टोलि बनाउन सुरु गर्ने गरिन्थ्यो, नाच गानको लागि कस्ले के के गर्ने भनेर काम बाडफाड गरिन्थ्यो। म चाहि नाच्न, गाउन नजान्ने भएकोले अरु नै ब्यवस्थापनको कामतिर लाग्थे । तिहारको रमाइलो बेग्लै हुन्थ्यो । गार्इ, गोरु, मान्छेदेखि लिएर सबै झ्याल, ढोकाको सबैका लागि थरीथरीको माला बनाउँदा कम्ती मज्जा आउँदैन थियो ।

मेरा दिदिहरु,फुपुहरु देउडा गीत गाउन निकै सिपालु थिए, हामीहरु गाउँमा भैलि खेल्न जादा पुरै माहोल नै बेग्लै हुन्थिओ, आफ्नो कला, सस्कृतिलाई जोगाईराख्नु पर्छ भन्ने मान्यताका सबै दिदिहरु सवैले त्यो कर्णालीको खस भाषा मौलिक तरिका बाट भैलि पुकारेको देख्दा गाउँका बुढापाका अरु सवैजना खुशी हुन्थे र निकै रमाउथिए, अनि हाम्रो टोलिले अलि बढी नै पैसा उठाउथिओ त्यो पलहरुको मैले शब्द जति ब्याख्या गरेपनि सायद कमि नै हुन्छ होला, खेलेको याद अझै ताजा छ। आज ति दिदि, फुपूहरु बिहे गरेर टाढा नै हुनुहुन्छ हामी फेरि तेसरि नै रमाइलो गरेर, ति बुढापाकाको मुहार खुशी ल्याउन इच्छा सबैलाई होला तर के यो सब सम्भब होला त ?

अहिले यो दशैंतिहार भन्ने शब्द सुन्ने बित्तिकै कुटुक्क मन दुख्छ मेरो । फेरि त्यो ठाउँ कहिले पुगिएला । पहिलेका जस्तै ती रमाइला पलहरुलाई कहिले अंकमाल गरुँला, यस्तै अनगिन्ती प्रश्नहरु खडा हुन्छन् आफैभित्र ।

अलि ठूली भएपछि पढ्नका लागि शहर पसियो । त्यो गाउँघरको रमाइलो पलहरु सम्झनामै सीमित रह्यो। जतिसुकै रमाइलो भए पनि अहिले ती समयहरु धेरै टाढा भइसकेका छन् । मात्र छ सम्झनाहरु ।अलि ठूलो हुँदै गएपछि दशैं त त्यही नै हो तर मनमा भने त्यस्ता चाहना कम हुँदै गए।

अलि ठूलो हुँदै गएपछि दशैं त त्यही नै हो तर मनमा भने त्यस्ता चाहना कम हुँदै गए। गाउँमा पनि शहरको प्रभाव पर्दै गयो। नयाँ लुगा लगाउन र मिठो खान दशंै नै कुर्नु पर्ने अबस्था हराउँदै गयो। अहिले सम्झिँदा त्यो समयमा पनि गरिब र दुखीलाई अति नै दुःख परेको रहेछ। त्यतिमात्र होइन, राज्यको शासकहरुले जबजस्र्ती दशैं मनाउन पनि लगाएका रहेछन् । देशलाई हिन्दु देशको एकल देश बनाएर अन्य धर्मावलम्बीमाथि अत्याचार भएको रहेछ । मार हानेर सबैको घरमा रगतको छाप हुनु पर्ने नत्र त्यो परम्परा अस्वीकार गर्नेलाई त्यो समयको सरकारले कारबाही गर्ने प्रचलन रहेछ भन्नेसमेत सुनियो । यो बुझेपछि केटाकेटीपनमा भएको खुसीमा तुषारापात छायो ।

दशैं अर्थात असत्यमाथि सत्यको विजयउत्सव। प्रायःजसो उत्सव भन्नाले हाँस्ने, खेल्ने, खाने र रमाउने गरिन्छ। तर अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन। रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ। जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ। जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ।

दशैमा नै नयाँ कपडा लगाउनु पर्छ भन्ने पनि छैन आफ्नो सोचमा नयाँपन दिनुस, दाजुभाइमा आत्मिएता बढाउनुस, दिदी बहिनीहरु लाई स्नेह दिनुस परिवार खुसी बनाउनुस दशै दशा होइन साच्चै दशै कै रुपमा ब्यतित हुन्छ । वर्षभरी ब्यस्त रहने हरुले दशैमा पुरै समय आफ्नो परिवारमा दिनुस परिवार त्यसै खुसी रहन्छन । हामि कसैले पनि दशै लाई भड्किलो पाराले मनाउने प्रयास नगरौ जस्तो छ त्यसैमा रमाउदै गाउँमा आउने सम्पुर्ण साथी संगी, इस्टमित्रहरु संग बसि रमाइला गफ गर्दै सुख दुस्ख साटौ दशै आफैमा एक महान चार्ड हो तसर्थ यसलाइ मर्यादित गराउ अनि सम्पुर्ण नेपाली हरुले खुसिका साथ दशै मनाऔ। आफुलाइ गरिब सोची दशै लाई दशा आयो भन्दै चिन्तित हुने काम कसैले पनि नगरौ धनी त्यो हो जो आफ्नो परिवारका सबै सदस्यहरु संग आफ्नो खुसी बाढ्छ। चाड मनाउनु, सुखी हुनु र रमाउनका लागि हत्या हिंसा गरेरमात्र होइन, सामान्य रुपमा आफूसँग जे छ त्यसैमा रमाउन पनि सकिन्छ ।

पहिलेको दशै जस्तो यो पालि सहज र सरल छैन दशै,पुरा बिश्व नै कोरोनाको कारणले सोखमा परेको छ।
त्यसैले म त भन्छु, घाँटी हेरेर हाड निलौँ । दशैं भन्दै दशा निम्तो नगरौं । आफूसँग जे छ, जस्तो छ त्यसैमा रम्न सिकौँ । आफू पनि रमाउँ, अरुलाई पनि रम्न दिउँ ।

कोरोनाले गर्दा देशमा ठुलो आर्थिक भार परेको छ । अधिकाँश मान्छेहरुको रोजगारी गुमाउनु परेको छ, धेरै चिन्तित छ्न् । त्यसैले फजुल खर्च गर्न भन्दा दशैको अवसर पारेर कुनै सामाजिक काम पनि गर्न सकिन्छ, तपाँइले गरेको सानो प्रयास भाविपुस्ताहरुको लागि मार्गनिर्देशन हुनेछ ।
तपाईहरु सबैको दशैँ खुसी र उमंगसहित हर्षोल्लासका साथ बितोस । कसैको दशैँ दशा नबनोस एक दिनको मोजमस्ती र रमाइलोले गर्दा जिन्दगीभर पछुताउन नपरोस् । बस् सबैको दशैं शुभ र सुरक्षित होस ।

२०७७ सालको विजया दशमीले सबैलाई आफ्नो घरमा नै बसेर खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउदै दशैं पर्व मनाउन सिकाओस् र सम्पुर्णले कोरोनासङ लडाइँ गरेर तेस्लाई पराजित गरि पुर्न सबैको मुहारमा खुशीयाली छाओस् भन्दै सम्पुर्ण नेपाली र सम्पुर्ण हिन्दुहरुमा बडादशैँसहितका चाडपर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चहान्छु।

(एक कर्णालीकी छोरी)


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णालीतिरको दशैँ


तपाईको कमेन्ट लेख्नुहोस्