Techie IT
शुक्रबार, असोज ९,२०७७

१३ विद्यार्थी संगठनले भने, अनलाइन कक्षाको नाममा चर्को शुल्क नल्याउ


काठमाडौँ, ३१ भदौ ः १३ विद्यार्थी संगठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ ।

१३ विद्यार्थी संगठनको बसेको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्न निर्णय गरेको अनेरास्ववियूका नेता आरसी लामिछानेले जानकारी दिनुभयो ।

बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाइ परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

यस्तै कोरोना भाइरस (कोभिड १९) तत्काल नियन्त्रण नहुने र अझै एकदुई वर्ष रहने प्रक्षेपण गरिएको, वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिकसत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसंग अनुरोध गरेको छ ।

कोरोनाको कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदरको कोठा भाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको तलबको व्यवस्था गर्न सरकारसँग माग समेत गर्ने निणैय गरेका छ ।

विद्यार्थी संगठनले कोरोना भाइरस नियन्त्रणको लागि औषधि खरिद, क्वारेन्टाइन र अन्य व्यवस्थापनमा भएको भनिएको अनियमितता र भ्रष्टाचारकोछानविन गरी अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कार्यवाही गर्न माग गरेका छन ।

पोखरा विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वनलगायत विश्वविद्यालयमा पदाधिकारी नहुंदा सम्पूर्ण काम अस्तव्यस्त भएकोले ती विश्वविद्यालयमा खुला प्रतिस्पर्धाको आधारमा तत्काल पदाधिकारी नियुक्ति गर्न अनुरोध समेत गरेको अखिलका नेता लामिछानेले बताउनुभयो ।
बैठकले छात्रवृत्तिलाई दोब्यर बृद्धि गरी वैज्ञानिक र व्यवहारिक मापदण्ड बनाइ पारदर्शी ढंगले कार्यान्वयन गर्न माग गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्रवेश परीक्षा नलिई जीपीएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट बञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरेको छ ।
विद्यार्थी संगठनले बन्दाबन्दी (लकडाउन) खुलेपछि यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरिएको प्रति आपत्ति जनाउदै भाडा वृद्धि तत्काल खारेज गर्न तथा विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वयन गर्न माग गरेको अखिल नेता लामिछानेले जानकारी दिनुभयो ।

बैठकले महंगी र कालोबजारी नियन्त्रण गर्न समेत सरकारसंग माग गरेको छ ।
बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल (छैटौ)का अध्यक्ष विमल पोखरेल, अखिल (पाँचौ)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायत १३ विद्यार्थी संगठनका अध्यक्षको सहभागिता रहेको थियो । शरद शर्मा


क्याटेगोरी : समाचार
ट्याग : #विद्यार्थी संगठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!