Techie IT
शुक्रबार, असोज २,२०७७

नेपाली सेनासँग कुनै पनि मतभेद नभएको रक्षा मन्त्रालयको जिकिर


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच सम्बन्ध विग्रिएको र त्यसको प्रभावले कोरोना नियन्त्रणमा असर परेको भन्ने आशयका समाचारहरुमा सत्यता नरहेको रक्षा मन्त्रालयले प्रष्ट्याएको छ। मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ज्ञवालीले विज्ञप्ति जारि गर्दै  सञ्चारमाध्यममा केही समययता प्रकाशित भइरहेका समाचार तथ्यहिन र मनगढन्ते रहेको भन्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाली सेनाले स्वीकृतिका लागि पठाएका कतिपय विषय मन्त्रालयले समयमै निर्णय नगरेको र असहयोग गरेको भन्ने समाचार सत्य नभएको विज्ञप्तिमा उल्लेख गर्दै   मन्त्रालयले निर्णय हुनसक्ने विषय समयमै टुङ्ग्याएको पनि दाबी गरेको छ।

मन्त्रालयले कोरोनासँग सम्बन्धित औषधि, उपकरण तथा अन्य सामग्री खरिद पनि प्रक्रिया सङ्गत भएको बताएको छ। उसले सरोकारवाला सबैसँग समन्वय गरी पारदर्शी प्रक्रियामार्फत चीन सरकारबाट सामग्री खरिद गरिएको प्रष्ट पारेको छ।

कोरोनासँग सम्बन्धित सामग्री ल्याउँदैगर्दा नेपाल वायुसेवा निगमलाई आफूले ढिलाइ गर्न भनेको भन्ने विषयमा पनि रक्षामन्त्रालयले आपत्ति जनाएको छ। “स्वास्थ्य सामग्रीहरू हवाई मार्गबाट यथाशीघ्र ढुवानी गरी नेपाल ल्याउन यस मन्त्रालयबाट संस्कृति¸ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल वायुसेवा निगमसँग प्रभावकारी तवरमा समन्वय गरिएको व्यहोरा समेत स्पष्ट पारिन्छ,”  विज्ञप्तिमा भनिएको छ, “यसमा नेपाल वायु सेवा निगम मार्फत सामान ढुवानी गर्दा मन्त्रालयले ढिलो गर्न लगाएको भन्ने आरोप पूर्णतः निराधार र कपोलकल्पित रहेको छ।”

रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा बैठकमा उपप्रधानमन्त्री पोखरेल र प्रधान सेनापति थापाबीच आरोप-प्रत्यारोप भएको भनिएको विषय सत्य नभएको बताएको सेनाले सो दिनको बैठक अत्यन्त सौहार्द्रपूर्ण वातावरणमा भएको पनि दाबी गरेको छ।

त्यस्तै काठमाडौं-तराई/मधेश द्रुतमार्गको काममा नेपाली सेनाले प्रभावकारी काम गरिरहेको पनि मन्त्रालयले प्रष्ट पारेको छ। द्रुतमार्ग निर्धारित समयमै पूरा गर्न नेपाली सेना कटिबद्ध रहेको विश्वास लिएको रक्षा मन्त्रालयले आवश्यक समन्वय र सहजीकरणमा कुनै कमी कमजोरी नरहेको प्रष्ट पारेको छ।

प्रधान सेनापतिको मन्तव्य र रक्षामन्त्री पोखरेलले निर्देशनका क्रममा व्यक्त गरेका विचारलाई विरोधाभाषपूर्ण बनाइ आशयविपरीत भ्रामक बनाइएकोप्रति पनि मन्त्रालयले आपत्ति जनाएको छ। रक्षा मन्त्रालय र नेपाली सेनाबीच कुनै मतभेद नरहेको बताएको मन्त्रालयले रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल परामर्श भइरहेको पनि स्पष्ट पारेको छ।

तथ्यहिन समाचार प्रकाशन गर्दा यसले सरकार र नेपाली सेनाबीचको सौहार्द्रपूर्ण सम्बन्धलाई अनावश्यक विवादमा ल्याउन सक्ने भएकाले संवेदनशीलता बुझ्न पनि रक्षा मन्त्रालयले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रक्षा मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!