Techie IT
सोमबार, चैत्र ३०,२०७७

सलामीले बदनामीः जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग


काठमाडाैं, १० असार । प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन ।

निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए ।

पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्देशिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ ।

पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेको छ । सुरक्षा निकायले नेता तथा उच्चपदस्थ अधिकारीलाई प्रभावित गर्न र रिझाउन यसरी सलामी दिने गरेको छ ।

पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत प्रहरीले सलामी दिनुपरिरहेको छ । स्थानीय तहको वार्षिक सभामा सबैजसोले सलामी लिने गरेका छन् ।

सलामीको विकृतिले शान्तिसुरक्षामै असर ल्याउने अवस्था आएको प्रहरी अधिकारी बताउँछन् । उच्चपदस्थ व्यक्ति धेरै भएको र उनीहरूलाई सलामीका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्नुपर्दा गस्तीलगायतका काम प्रभावित हुने गर्दछन् ।

दैनिक नेपाल


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #जनप्रतिनिधिलाई सलामीको भोक


तपाईको कमेन्ट लेख्नुहोस्