शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन खुल्ला

काठमाडौँ, ७ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९-ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको कमलादी कर्पोरेट शाखाबाहेक जुनसुकै शाखा र आइएमईपे तथा इसेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही संख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरियाली भाषा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्