Techie IT
सोमबार, असोज ११,२०७८

मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली


विराटनगर, ३ चैत । पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन हुने कुराले चर्चा पाएको छ । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको समाचार सार्वजनिक भइरहेका छन् ।

केहीदिन अघि विराटनगर विमानस्थलमा नेकपा अध्यक्ष प्रचण्ड स्वयंले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल चलिरहेको खुलासा गरेका थिए । तर, आइतबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिले त्यसलाई खण्डन गरेको छ ।

जुन ठाउँबाट प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुने खुलासा गरेका थिए त्यही ठाउँ विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका हुन् । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो’, ओलीले भने, ‘पुनर्गठन हुँदैन ।’

कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भइरहेको समाचार सार्वजनिक भइरहँदा ओलीले दिएको यो अभिव्यक्तिले केही मन्त्रीहरुलाई राहत मिलेको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।

ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’, ओलीले भने ।

प्रधानमन्त्री ओलीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधि मात्रै प्रतिबन्ध लगाइएको जनाए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन उनले नेताहरुलाई आग्रह गरे ।

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीँ दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’, उनले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मन्त्रिपरिषद् पुनर्गठन


तपाईको कमेन्ट लेख्नुहोस्