Techie IT
सोमबार, चैत्र ३०,२०७७

वुमन चेम्बर अफ कमर्सका सदस्यहरुलाई स्तन क्यान्सरबारे अभिमुखीकरण कक्षा


ललितपुर, २० कार्तिक- ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नेपाल च्याम्बर अफ कमर्सको आयोजनामा ‘वुमन चेम्बर अफ कमर्स’ का सदस्यहरुलाई स्तन क्यान्सरबारे अभिमुखीकरण कक्षा दिइएको छ ।

हरेक साल अक्टोवरलाई ‘स्तन क्यान्सर सचेतना महिना’ का रुपमा मनाइँदै आएको परिप्रेक्ष्यमा उक्त अभिमुखीकरण कक्षा संचालन गरिएको हो । नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राको प्रमुख अतिथ्यतामाझ आयोजित उक्त अभिमुखीकरणका क्रममा स्तन क्यान्सरको निदान, रोकथाम, र उपचारको जनचेतना अभिबृद्धीका लागि समाजका अगुवा महिलाहरुले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारिएको थियो । कार्यक्रममाझ मिडिया, हेल्थ र ह्याप्पिनेस मोटीभेशनल ट्रेनर सिमोन नेउपानेले क्यान्सर रोगसँग जुध्न अपनाईने मेडीटेशनको प्रदर्शन गरेका थिए ।

 

ततपश्चात हस्पिटलका सर्जिकल अन्कोलोजी बिभाग प्रमुख डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुति दिएका थिए । सहभागीहरुको जिज्ञासा मेटाउँदै उनले स्तन क्यान्सर लागिहालेमा पनि पुरै स्तन काटेर फाल्नुनपर्ने बाध्यता बिधमान रहेको तथ्य उजागर गरेका थिए । हस्पिटलमा ‘अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी’ पनि सुरु भैसकेकाले धेरै केसहरुमा नयाँ स्तन बनाउने प्रविधि र सीप नेपालमै उपलब्ध भएको पनि उनले जानकारी दिए । नेपाल क्यान्सर हस्पिटलमा ’कम्प्रिहेन्सिभ ब्रेस्ट केअर क्लिनिक’ उपलब्ध भएकाले स्तन क्यान्सरका जानकार डाक्टरहरुको समुहद्वारा हरेक बिरामी र क्यान्सरको बिशिष्ट उपचार हुने डा. अमात्यले बताए ।

अभिमुखीकरणका क्रममा कार्यक्रमका सहभागीहरुले क्यान्सर सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए भने विज्ञ चिकित्सकहरुले सोको प्रतिउत्तर दिदै निदानका उपाय, रोकथाम, र उपचारको जनचेतना अभिबृद्धी आदीका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहोत्राले क्यान्सरसँग लडिरहेका व्यक्तिहरुको सहाराका निम्ती सबै जना एक जुट हुनुपर्ने र यसमा बिशेषगरी महिलाहरुले खेल्ने भूमिका महत्वपूर्ण रहने गरेको धारणा राखेका थिए । कार्यक्रममा वुमन चेम्बर अफ कमर्सका अध्यक्ष डा. अन्जन शाक्यले कामकाजी र व्यवसायिक महिलाको क्यान्सर रोकथाम तथा जाँचको लागि जनचेतनामुलक कार्यक्रमको ठुलो भूमिका रहने बताइन ।

कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ कन्सल्टेनट अंकालोजिष्ट डा.सुदिप श्रेष्ठले नेपालमा क्यान्सरजस्तो ठूलो रोगको उपचार गर्न धेरै आर्थिक खर्च लाग्ने भएकाले सरकारले सशक्त रुपमा स्वास्थ्य बीमाको अवधारणा ल्याउनुपर्ने कुरामा जोड दिए ।

‘वुमन चेम्बर अफ कमर्स’ का हेल्थ कमिटी संयोजक तथा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरकी संचालिका श्रीमती स्वरुपा श्रेष्ठले क्यान्सर रोगको जनचेतना अब ग्रामीण क्षेत्रसम्म पुर्याउनुपर्ने आवश्यकता अौल्याउदै त्यसका लागि वुमन चेम्बर अफ कमर्सले नेपाल क्यान्सर हस्पिटल, च्याम्बर अफ कमर्स, रोटरी र लायन्स क्लबजस्ता सामाजिक संघसंस्थासंग सहकार्य गरिरहेको बताईन् । हस्पिटलका मेडिकल डाइरेक्टर डा. विजेश राज घिमिरेले नेपाल क्यान्सर हस्पिटल र नेपाल च्याम्बर अफ कमर्सले आपसी सहकार्यका आधारमा सामाजिक कार्यहरु गर्दै जाने प्रण गरे ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वुमन चेम्बर अफ कमर्स


तपाईको कमेन्ट लेख्नुहोस्