वीर अस्पतालमा यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिनुभयो । खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा खरीद प्रक्रिया अगाडि नबढाउँदा आवको अन्त्यतिर बजेट फ्रिज हुने भन्दै हतार हतारमा खरीद गर्ने गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । अस्पताल सञ्चालनका लागि नियमित रुपमा आवश्यक पर्ने औषधि र सरसफाइलगायत अन्य सामग्री सोझै खरीद गर्ने प्रवृत्ति देखिएको छ ।
प्रतिवेदनमा प्रतिष्ठानका जिम्मेवार पदाधिकारीले वीर अस्पतालमा ९४ र ट्रमा सेन्टरमा एक सय जना स्वीकृतीविना दरबन्दी नियुक्त गरिएको पाइएको छ । पदपूर्तिका लागि सेवा आयोगले गर्ने कानूनी व्यवस्था भए पनि विसं २०७२ असोजदेखि आयोगबाट पदपूर्ति नभएको पाइएको छ ।
‘‘लामो समयसम्म वैधानिक बाटोबाट पदपूर्ति नगरिँदा एकातिर सेवा प्रवाहमा समस्या भएको देखिएको छ, अर्कोतर्फ कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा समस्या देखिएको छ’’, प्रतिवेदनमा भनिएको छ, ‘‘नियमित प्रक्रियाबाट रीतपूर्वक पदपूर्ति नगरिकन करार र ज्यालादारीमा कुनै विधि प्रक्रियाको अवलम्बन नगरी स्वविवेकका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका जिम्मेवार पदाधिकारी नियुक्त भएको पाइएको छ ।’’
नियुक्त गर्ने पदाधिकारीबाट उनीहरुले खाएको तलबभत्ता र अन्य सुविधावापतको रकम असूल गर्न भनिएको छ । यन्त्र उपकरण खरीद गर्नका लागि खरीद एकाइ गठन गरे पनि एकाइमा विशेषज्ञ प्राविधिकभन्दा अहेब, नर्सिङ र प्रशासनतर्फका कर्मचारी बढी रहेका भेटिएको छ । खरीद एकाइमा वरिष्ठ चिकित्सकको अध्यक्षतामा खरीद महाशाखा गठन गर्न सुझाव दिइएको छ ।
अस्पतालले सार्वजनिक खरीद ऐन २०६३ र नियमावली २०६४ विपरीत सिटीस्क्यान मेशिन खरीद गरेको पाइएको छ । उक्त मेशिन खरीदमा लागत अनुमान तयार गर्दा तीन फर्मसँग दर माग गरिए पनि ती कम्पनीको आधिकारिकतासमेत नपाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै बाइम्ड इण्टरनेशनल र मेडिकल सोलुशनबाट खरीद गर्दा दर पेश गरेको पत्रमा दर पेश गर्ने आधिकारिक निकायको हस्ताक्षर नभएको पाइएको उल्लेख गरिएको छ ।
न्यून रकम कबोल गर्ने भन्दा बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गर्ने पद्धतिसमेत छानबिनका क्रममा देखिएको केन्द्रका सूचना अधिकारी दालनाथ अर्यालले जानकारी दिनुभयो । प्रतिवेदनमा अस्पतालले आव २०७३÷०७४ मा खरीद गरिएका महत्वपूर्ण उपकरण खरीदका लागि लागत अनुमान तयार गर्दा उच्च मूल्य राखेको पाइएको उल्लेख गरिएको छ ।
प्रतिष्ठानले बोलपत्र नै नगरी टेम्पोग्राफी मेशिन रु ६ करोड ६६ लाख ६६ हजार ४३० मा खरीद गरेको र सोको वार्षिक मर्मत खर्च रु २३ लाख ५० हजार गरेको सम्झौता नियमविपरीत रहेको देखिएको छ । केन्द्रले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पठाइएको सूचना अधिकारी अर्यालले बताउनुभयो । वीर अस्पतालमा केन्द्रका उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गत चैतदेखि असारसम्म छानबिन गरिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वीर अस्पतालमा अनियमितता
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्