Techie IT
मंगलबार, चैत्र ३१,२०७७

नेकपाको दमनविरुद्ध दुई वडाध्यक्षद्धारा राजिनामा


स्थानीय चुनावबाट विजयी भई जनप्रतिनिधिको रुपमा स्थानीय तहमा जिम्मेवारी सम्हाल्दै आइरहेका दुई जना वडाध्यक्षले नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा राजीनामा दिएका छन् ।

संघ, प्रदेश र स्थानीय चुनावलाई खारेजी घोषणा गरेर सशक्त आन्दोलन संचालन गरेदेखि नै राजनीतिक आन्दोलनमा रहेको नेकपाले चुनाव सकेलगत्तै चुनावमा विजयी जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आइरहेको छ । चुनावले केन्द्रमा रहेको भ्रष्टाचार र कमिसनखोरलाई गाउँटोलसम्म पुर्याउने र दलाल संसदीय व्यवस्था सुदृढ हुने बताउँदै त्यसलाई रोक्न चुनाव बिथोल्ने र विजयी उम्मेदवारलाई तत्काल राजीनामा दिन उर्दी जारी गर्ने घोषणा गरिएको थियो । चुनावकै बेला पनि उम्मेद्वारहरुलाई उम्मेद्वारी फिर्ता लिन अाग्रह गरिएको थियो । धेरैले फिर्ता समेत लिएका थिए ।

नेकपा भदौ १ गतेदेखि चार महिने संगठन विस्तार तथा सुदृढ अभियानमा होमिएको अवस्था छ । यसको प्रभाव देशैभर तल्लो तहसम्म परेको र संगठन निर्माण तथा विस्तार र जनप्रतिनिधिलाई राजीनामा दिने वातावरण निर्माण गर्ने कार्यक्रम चलिरहेको छ ।

यस्तैबिचमा शनिबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ६ र ७ का वडा अध्यक्षले स्थानीय तहमा सिंहदरबारको भ्रष्ट र कमिसनखोरले स्थान ओगटेको भन्दै विरोधस्वरुप राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा वडा नं. ६ का तुलराज विक ‘दैलेखी’ र वडा नं. ७ का दलबहादुर विक ‘प्रकाश’ रहेका छन् । उनीहरुले राजीनामा दिनुको पछाडि कारणहरुमा गाउँमा ठूला साना पदका सबै जनप्रतिनिधिहरु भ्रष्टचार र कमिसनमा डुबेको र यसबाट समाजलाई अँध्यारो सुरुंगतर्फ धकेल्ने काम भएको बताएका छन् ।

पूर्ववडाध्यक्ष विकद्वयले केन्द्रदेखि प्रदेश सरकार जनताको एजेण्डा र क्रान्तिकारी आन्दोलनका साथै तिनका नेताकार्यकर्तामाथि फासिष्ट तरिकाले चरम दमनमा उत्रेकोले नैतिकताका आधारमा राजीनामा दिन बाध्य भएको प्रष्टिकरण दिएका छन् । खुल्ला रुपमा राजनीतिक दल खोल्न पाउने, विचार र अभिव्यक्ति, कार्यक्रम जनतामाझ् लैजान पाउने अधिकार स‌ंविधानले नै दिएकोमा सरकारले त्यसविपरीत दमन र गिरफ्तार जस्ता गैरकानूनी रवैया कायम राखेको उनीहरुको धारणा छ ।

‘सिंहदरबार गाउँगाउँमा आएको नक्कली रहेछ, यो व्यवस्था विकास खर्चमै चर्को कमिशन, भ्रष्टचार र पैसा खाएर कर्मचारी भर्ना गर्ने रहेछ’ राजीनामा दिएपछि दलबहादुरले भने ‘जनताबाट चर्को कर उठाएर गोजीमा हाल्ने काममा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लागेपछि हाम्रो विरोधका आवाज काम लागेन र यो कडा कदम चाल्न पर्यो ।’ उनीहरुले नेकपामाथि राज्यले जारी राखेको गैरकानूनी रुपमा दमन र हस्तक्षेप गरेकोप्रति समेत असहमति जनाए । तिनका नेता र कार्यकर्तालाई खुला रुपमा राजनीति अभियानमा भाग लिन दिनुपर्ने बताए ।

नेकपाले गरेको जनप्रतिनिधिको राजीनामाको आह्वानपछि यता राजीनामा दिएर विकद्वयले पहिलो रेकर्ड बनाएका छन् । राजीनामाको लहर अबका दिनमा देशैभर चल्ने विश्वास नेकपाका नेताहरुले गरेका छन् । साथै उसले राजीनामा दिएर राष्टियता र जनताको पक्षमा र जनघाती, भ्रष्टचारीविरुद्ध आफूलाई उभ्याउन पनि सम्पूर्ण जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ ।

यो राजीनामा घटनालाई नेकपाको राजनीतिक प्रभावकाे रुपमा राजनीतिक वृत्तमा हेरिएको छ । नेकपाले लिएको वर्तमान दलाल संसदीय व्यवस्थाको साटो वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यलाई नजिक ल्याउन मद्दत पुर्याउने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । राजीनामाको घटना भएको क्षेत्र नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को क्षेत्र हो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वडाध्यक्षद्धारा राजिनामा


तपाईको कमेन्ट लेख्नुहोस्