Techie IT
शुक्रबार, फागुन १४,२०७७

नेकपा निकट मजदुर संगठनको एकतालाई अझै केही समय लाग्ने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ ।
तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) बीच एकता हुन अझै तीन महिना लाग्ने छ । नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्ने गरी निर्देशन दिएको थियो । जिफन्टका १८ र अन्टुफको २५ साना सङ्गठनबीच एकता गर्नुपर्नेछ । एकता कानूनी प्रक्रियामार्फत गर्नुपर्ने भएकोले लम्बिने भएको जिफन्टका अध्यक्ष तथा मजदूर एकता कार्यदलका सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य भ्रातृसङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ घटक सङ्गठनको एकता गर्न छलफल चलाइरहेको छ । उहाँले साना सङ्गठन एकता गर्न दर्ता खारेज गर्दै पुनः दर्ता गदै एकता गर्ने बताउनुभयो ।
सङ्गठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकोले ती सङ्गठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरी दर्ता गर्नुपर्ने भएकोले ती दुई मजदूर सङ्गठनको एकता प्रक्रिया लम्बिने देखिएको हो ।
“पार्टीका अन्य भ्रातृ सङ्गठन जस्तो विधान र राजनीतिक कुरा मिलाएर मात्र हामी बीचको एकता हुने होइन” कार्यदलका सदस्य श्रेष्ठले भन्नुभयो, ‘‘हामी कानूनअनुसार सरकारी कार्यालयमा दर्ता भएकाले सोही अनुसार एकता प्रक्रियामा जान्छौ ।’’
दुई मजदूर सङ्गठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । समितिले साना घटक सङ्गठन एकता गर्दै जिफन्ट र अन्टुफ बीच एकता गर्ने छ । जिफन्टका अध्यक्ष श्रेष्ठले जिफन्ट र अन्टुफकाबीच एकता गर्न साना घटक २२ बनाउने सहमति भएको छ भन्नुभयो । २२ साना घटक संगठनको पहिले एकता गर्ने कार्यदलको योजना छ । ती घटकको फरक÷फरक एकता उपसमिति गठन गरेर एकता गर्ने छन् । उपसमितिले दुई महिनाभित्र एकता गर्न प्रतिवेदन बुझाएपछि कार्यदलले ती घटकको एकता गर्ने छ । त्यसपछि मात्र जिफन्ट र अन्टुफबीच एकता हुनेछ ।

अहिले नेकपाका युवा, विद्यार्थी, महिला, उद्योग, खेलकूद जस्ता सङ्गठन एकताको अन्तिमचरणमा छन् । उहाँले अबको एकहप्ताभित्र साना सङ्गठन एकता गर्न समिति गठन गरिने जानकारी गराउनुभयो ।

मजदूर सङ्गठनको एकताको कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी रहनुभएको छ । कार्यदलका अर्का सदस्य रेग्मीले जिफन्ट र अन्टुफबीचको एकता छलफलमा नै प्रवेश नगरेको बताउनुभयो । ‘‘अहिले हामी साना मजदूर सङ्गठनको एकतामा केन्द्रीत भएका छौं’’ उहाँले भन्नुभयो, ‘‘ती साना मजदूर सङ्गठनको एकता भएपछि मात्र हामी जिफन्ट र अन्टुफबीच एकता गर्दछौ ।’’ एकताका लागि अझै तीन महिना लाग्ने भएकोले सङ्गठनको नाम के राख्ने र कसको नेतृत्व हुने समेत चर्चा गरिएको छैन ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मजदुर संगठन


तपाईको कमेन्ट लेख्नुहोस्