Techie IT
बिहीबार, असार २५,२०७७

सलह किरा रोक्न नेपालमा हामी के गर्न सक्छौं ?


चीनमा कोरोना भाइरसको प्रकोप सुरु हुनभन्दा केही हप्ताअगाडि अफ्रिकी महादेशका केही देशहरू जस्तै– केन्या, सोमालिया, तान्जानिया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा एक प्रकारको फट्याङ्ग्रा (जसलाई नेपालीमा सलह भनिन्छ)ले धेरै नै क्षति पुर्‍याएको समाचारहरू प्रकाशित भए । नेपालको कृषिलाई कोरोनाले ठूलो प्रभाव पार्ने आकलन हुँदैगर्दा यही खतरनाक किरा सलहको प्रवेश हुन सक्ने र त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ । अमेरिकी फौजी किराभन्दा कयौं गुणा क्षति गर्न सक्ने सलह सम्भावित प्रवेश चुनौतीका रुपमा रहने पक्कै छ ।

एसिया महादेशमा पर्ने देशहरू जस्तै– भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति पुर्‍याउन सुरु गरिसकेको छ । यसलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह (Locust)  प्लेगको पनि संज्ञा दिएको छ। यो किराको आकार अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा आजभन्दा ७० वर्षपहिले देखिएकोभन्दा २० गुणा ठूलो मानिएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति पुर्‍याउन सक्ने भनी दाबी गरिरहेका छन्। सोहीअनुसार यसको नियन्त्रणको तयारीमा लागेका छन् । भारत र पाकिस्तान पनि आफ्नो आन्तरिक द्वन्द्वलाई थाँतीराख्दै सलह नियन्त्रणमा संयुक्त रूपमा लागि परेको सूचनाहरू पनि आइरहेका छन् ।

यिनै कुराहरूलाई मध्यनजर गरी यो किराको छोटो परिचय र यसले नेपालमा पार्नसक्ने क्षति र नेपालमा आगामी दिनहरूमा के गर्न सकिन्छ भन्ने उद्देश्यले यो लेख तयार पारिएको छ।

सलह किरा लाखौं वा करोडौंको संख्यामा हुन्छन् । सलहलाई एक ठाउँबाट अर्काे ठाउँमा वा एक खेतबाट अर्काे खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ। अचम्मको कुरा त के छ भने यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता राख्छ । त्यसैले यो फट्याङ्ग्रा अन्य किराभन्दा बढी क्षति गर्ने खालको हुन्छ । यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । यही गतिमा हिँड्दा नेपालको पूर्वी भागबाट पसेकोे सलह तीनदेखि चार दिनमा पश्चिम भागसम्म पुग्छ। यही हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुईदेखि तीन दिनसम्म उत्तरी सिमाना पार गर्न सक्ने देखिन्छ । यसबाट यो किराको कृषि बालीमा क्षति गर्न सक्ने क्षमताको आकलन गर्न सकिन्छ ।

संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांकअनुसार साधारणतया यो किराले प्रतिदिन दुई ग्रामसम्म खान सक्छ । एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।

हालसालै भारतमा यो किराले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइदिएको बालीलाई पूर्ण रुपमा क्षति पुयाइसकेको अनुमान गरिएको छ । भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखापरिसकेको सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरू पूर्णरुपमा क्षति पुर्‍याइसकेको छ ।

विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । यही जलवायुमा भएको परिवर्तनले यिनीहरूको जनसंख्या आठ हजार गुणासम्म बढेको बताइएको छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरूको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने देखिन्छ ।

सलह किराको परिचय

सलह साधारण फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मोटा हुन्छन् । यो किरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ ।

१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाँच्छ । वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भन्ने गरिएको छ ।

यो सलह किराले न्यानो हावापानी मन पराउँछ । जहाँ बालुवा छ त्यस्तो जमिनमा यसले बढी अण्डा पार्न रुचाउँछ । साथै जहाँ समुद्री आँधी बढी हुन्छ, त्यस्ता ठाउँमा यसलाई टाढाटाढासम्म उडाउँछ ।

विश्वमा यसको नियन्त्रणमा भएका प्रयास

डा. सुन्दर तिवारी/अनन्तप्रकाश सुवेदी

यो सलह धेरै संख्यामा र ठूलो क्षेत्रलाई ढाकेर बस्ने भएकाले हाल संसारभर प्रयोगमा आएका आईपीएम प्रविधिहरू जस्तैः जैविक विधि, खेतबारीमा परिवर्तन गरेर गरिने नियन्त्रण, आदि उपयुक्त विधिहरूको खोजी कार्य पनि तीव्र भइरहेको छ । तर, तुरुन्तै यसलाई नियन्त्रण वा काबुमा पार्नका लागि सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ ।

अफ्रिकी देशहरूले ठूला मेसिन प्रयोग गरेर नै विषादी छर्ने गरेका छन् । कतिपय देशले हेलिकप्टरको सहायताले विषादी छर्केको पाइन्छ । केन्या सलह नियन्त्रणका लागि २० वटा जहाज खरिद गर्ने तयारीमा रहेको बताइएकोे छ ।

हाल प्रयोगमा आएका विषादीहरूमा मालाथिएन, फेनिट्रोथियन प्रमुख छन् । यो किराको सम्भावित आगमन अगाडि नै मूल्यांकन गरी बाली बचाउनका लागि विषादी पनि छर्ने गरेको पाइएको छ । कतिपय अफ्रिकी देशले पूर्वावलोकन गरी यदि एक वा दुईवटा सलह प्रतिवर्गमिटरमा देखिनासाथ विषादी छरेर नियन्त्रणमा लिएको पनि पाइएको छ।

सोमालियाले सलह किराको प्रकोपलाई नियन्त्रणका लागि राष्ट्रिय संकट नै घोषणा गरी अघि बढेको छ । छिमेकी देश भारतमा यसको नियन्त्रणका लागि भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत स्थायी रुपमा सलहको प्रकोप एव‌ं नियन्त्रण पद्धति (Locust Warning and Control System) गठन गरी यसको निरन्तर रूपमा अनुगमन तथा नियन्त्रणमा लागेको पाइन्छ । साथै भारतको गुजरात र राजस्थान राज्यमा सलह नियन्त्रण कार्यालय नै खडा गरी यसको नियन्त्रणका विधिहरू अपनाइएको छ ।

गत वर्षको माघतिर पाकिस्तानले सलहको प्रकोपलाई नियन्त्रण गर्न राष्ट्रिय संकट घोषणा गरेको थियो । सलह नियन्त्रणका लागि चीनले पाकिस्तानलाई एक लाख हाँसहरू पठाएको खबर एकताका सञ्चारमाध्यममा छाएको पनि थियो ।

नेपालका यसको प्रकोपको सम्भावना

नेपालमा यस किराको प्रकोपको सम्भावना कस्तो छ भन्नुभन्दा पहिले यो किरा छिमेकी देश भारतमा कसरी फैलिएको छ भन्ने जानकारी लिन जरुरी छ । भारतका दुई राज्यहरू राजस्थान र गुजरातमा यो किरा सर्वप्रथम सन् १९९३–९४ मा देखिएको थियो, जुन पाकिस्तानबाट आएको मानिन्छ । ती राज्यहरूमा यसको प्रकोप जेठ महिनादेखि असोजसम्म देखिने गर्छ। सुरुमा गुजरातमा देखिएको सलह सात सय किलोमिटरको दुरीमा रहेको राजस्थानमा देखिएको छ । पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा यो सलह फैलिन थालिसकेको पाइन्छ ।

यसले के देखाउँछ भने सहलको प्रकोपबाट अब नेपालमा जोडिएका भारतीय भू–भागहरू जस्तै– उत्तराखण्ड र उत्तरप्रदेश बढी जोखिम हुने देखिन्छ । भारतको उत्तरी क्षेत्रमा फैलिएमा नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट छिर्न सक्ने सम्भावना धेरै नै देखिन्छ ।

अर्काेतर्फ सलह किराको प्रकोप विगतका वर्षहरूमा भारतमा असार महिनादेखि असोजसम्म देखिने गरेकोमा हाल वैशाख–जेठबाट नै प्रकोपको रूपमा देखिएको हुनाले यसले आफ्नो आनुवांशिक गुण बदलेको र यसको वृत्ति विकासका लागि उपयुक्त हावापानी पाउन थालेको भन्ने बुझिन्छ । अर्काेतर्फ मनसुन सुरु भएको दुईदेखि तीन हप्तासम्म यसको प्रजनन् क्षमता बढी हुने र यी माथि उल्लेखित भारतीय भूमिहरूमा अब मनसुन सुरु हुँदा यसको प्रकोप बढ्न गई नेपालमा प्रवेश गर्ने सम्भावना बढेको देखिन्छ ।

नेपाललगायत संसारका सबैजसो भू-भागमा वातावरणीय परिवर्तन भई केही न्यानो बढ्ने हुँदा सलहका लागि उपयुक्त वातावरण हुन गई यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउन सक्छ र आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न गई नेपालमा जोखिम बढाउने देखिन्छ ।

नेपालमा हामी तुरुन्त के गर्न सक्छौं ?

विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौर तरिकालाई अध्ययन गर्दा र सो तयारीलाई नेपालमा पनि लागु कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा उल्लेखित विधिहरू गर्नुपर्ने जरुरी देखिन्छ ।

१. पहिले त सलह किरा छिमेकी देश भारतका राज्यहरूमा कसरी फैलिएको छ। त्यसको ट्र्याकिङ गर्नुपर्ने जरूरी देखिन्छ ।

२. नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पुर्‍याउन सक्ने किराहरूको सूचीमा राखेर यस किराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरूका बारेमा पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

३. हाल प्रकोप भइरहेका अन्य किराहरू जस्तै अमेरिकन फौजी किरा, गोलभेडामा लाग्ने टुटालगायत अन्य हमलाकारी किराहरूलाई Invasive Insect Management Center को रुपमा विकास गरी किराको निरन्तर अनुगमन, अनुसन्धान एवं कृषकको स्तरमा प्रसार गर्नुपर्ने देखिन्छ ।

४. नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता किराहरूको व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा छलफल एवं सहकार्य बढाउनुपर्ने देखिन्छ । भारत तथा पाकिस्तानमा फैलिसकेको यो किरा अन्य सार्क मुलुक जस्तै– बंगलादेश, भुटानमा फैलन नदिन अपनाउन सकिने जैविक बारलगायत अन्य विधिहरूको बारेमा पनि तत्काल छलफल चलाउनुपर्ने देखिन्छ ।

५. नेपालभरि छरिएर रहेका विभिन्न सरकारी एवं‌ गैह्रसरकारी संघसंस्था, कृषि अनुसन्धान गर्ने एवं‌ विश्वविद्यालयको सहकार्यमा विज्ञ टिम गठन गरी यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउनका लागि अब ढिला गर्नुहुँदैन ।

(डा. तिवारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक र सुवेदी उपप्राध्यापक हुन् ।) #अनलाईन खबर बाट साभार 


क्याटेगोरी : वातावरण-कृषि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545